संबिधान संशोधन लगायतका मुद्धा सम्बोधन गर्न प्रधानमन्त्रीलाई राजपा नेपालको दबाब
सुभाष साह
काठमाडौं, २७ साउन
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिने भएको छ । सरकारलाई बिश्वासको मत दिएको राजपा नेपालका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सोबारेमा छलफल गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार राजपा नेपाल अध्यक्ष मण्डलका नेताले प्रधानमन्त्री ओलीसंग संबिधान संशोधन, सांसद रेशम चौधरीको रिहाई, मधेस आन्दोलनका क्रममा लगाईएका झुठा मुद्धा फिर्ता लगायतका बिषयमा छलफल गरेको छ ।
छलफलमा सहभागि राजपा नेता अनिलकुमार झाले आफूहरुको माग पुरा हुने की नहुने सरकारले गर्ने व्यवहारमा भर पर्ने बताए । आफूहरुको माग सम्बोधन गर्ने बताए पछि सरकारलाई बिश्वासको मत दिएको तर अहिले सम्ममा पुरा नभएपछि सो बिषयमा छलफल गरेको उनले बताए ।
‘हामीले प्रधानमन्त्रीसंग पटक पटक छलफल गर्दै माग सम्बोधनका लागि आग्रह गरेका छौं’ झाले भने, ‘माग सम्बोधन गर्ने की नगर्ने सरकारको अगामी कार्यले प्रष्ट हुन्छ, हाम्रो छलफल जारी नै रहन्छ ।’
प्रधानमन्त्रीको कतिपय बिषयमा बाध्यता भए पनि तत्कालै गर्नुपर्ने काम नभएकाले चिन्ताको बिषय भएको उनले बताए । हामीले उठाउँदै आएको माग सम्बोधन गर्ने भनेपछि सरकारलाई विश्वासको मत दिएको तर अझै केही उपलब्धि नभएको उनले बताए ।
प्रधानमन्त्री ओली राजपा सहितका पार्टीले उठाउँदै आएको माग कसरी सम्बोधन गर्ने भन्ने बारेमा पनि चिन्तित छन् । प्रधानमन्त्रीका सचिवालयले छलफल गर्दै सबैको सहमतीमै अगाडी बढने ओलीले राजपा नेतालाई भने ।
प्रधानमन्त्री ओलीसँग छलफलका लागि राजपा नेताले पाँच दिन अघि देखी नै प्रयास गरेपनि समय पाउँन सकेका थिएनन् । ३ साउनमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको राजपाले माग सम्बोधनमा भईरहेको ढिलाई नहोस भन्ने बारेमा छलफल गरेका छन् ।
टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको कुरा चलिरहेकै बेला प्रदेश २ का सामाजिक व्यवस्था राज्यमन्त्री अभिराम शर्मालाई समेत पक्राउ गर्ने सरकारको तयारी रहेको अवस्थामा राजपा नेपालका नेताले त्यस्ता कार्य रोक्नुपर्ने दबाब दिएका छन् ।
मधेस आन्दोलनका क्रममा घाइते भएका थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप राज्यमन्त्री शर्मामाथि रहेको छ । उच्च अदालतले राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ । सोही पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयले राज्यमन्त्री अभिराम शर्मालाई खोजिरहेको छ ।
संविधान संशोधन, रेशम चौधरीको रिहाइ, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लगायतका विषयमा राजपा नेताले प्रधानमन्त्रीलाई निरन्तर दबाब दिदै आएका छन् । राजपा नेपालको बिगतको बैठकहरुमा यही बिषयमा गम्भिर रुपमा छलफल गर्दै सरकारलाई दबाब दिईरहने निष्कर्ष निकालेको छ । ।
राजपा नेपालका महासचिव अजय गुप्ताले राजनीतिक मुद्धामा पुर्वाग्रही ढंगले पक्राउँ गर्न नमिल्ने बताए । राज्यले राजनीतिक मुद्धालाई राजनीतिक स्तरबाटै समाधान गर्नुपर्ने बताउँदै उनले समस्या बल्झाउँनुको सटा समस्या समाधानतर्फ राज्यको ध्यान पुग्नुपर्ने बताए ।
यसअघि रेशम चौधरीलाई पार्टीको सल्लाहमा अदालतमा हाजिर हुन भनिएको थियो तर अदालतले पुर्पक्षका लागि थुनेर राख्न आदेश दिएपछि हालसम्म उनको रिहाइ भएको छैन । त्यस्तै घटना अभिराम शर्माका लागि दाहोरिने त होइन भनी राजपा नेपालका नेता त्रसित छन् ।
Comments
Post a Comment