मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी
राजपा नेपालकी कोषाध्यक्ष यादव एमालेमा प्रबेश
सुभाष साह,
काठमाडौं, ४ असार
मधेस बिरोधी भनेर व्याख्या गरिएको नेकपा एमालेमा मधेसबादी दलकै शिर्ष नेताहरुको प्रबेश गर्ने होडबाजी चलेको छ । राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रबेश गरेकी छन् ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आईतबार यादवले राजपा परित्याग गर्दै एमालेमा प्रबेश गरेकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका नेताले यादवलाई पार्टीमा प्रबेश गराएका हुन् ।
एमाले प्रबेश गरेकी यादवले आफु मधेसमा शान्ति, सदभाव र समृद्धिको राजनीति गर्न चाहेको र त्यो राजपा नेपालबाट सम्भव नभएको बताईन् । मधेसको मुद्धालाई सहि रुपमा सम्बोधन गर्ने पार्टी एमाले मात्र रहेकाले आफु एमालेमा फर्केको यादवले बताईन् ।
‘मधेसको मुद्धाको नामा मधेसमा उपद्रो मचाउँने काम भयो, मधेसमा क्षति पुर्याउँने काम भएकोछ’ यादवले भनिन्, ‘धार र धारणाको तालमेल नहुदाँ मधेस जनताले दुख पाएका छन्, शान्ति, सदभाव र समृद्धिका लागि राजपा छोडनुको बिकल्प नै भएन् ।’
बिगत २४ बर्ष देखी राजनीतिमा सक्रिय रहेकी यादव एमालेबाटै राजनीतिक यात्रा शुरु गरेकी थिईन् । ०६४ सालमा एमाले पार्टी परित्याग गरेर मधेसको नामा खुलेको तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा गएकी यादव १० बर्ष पछि पुन एमालेमै फर्किदा आफ्नो घरमा आएको बताईन् ।
तमलोपाका संस्थाप नेता श्रीकृष्ण यादवकी पत्नी रहेकी अनिता पतिको निधन पश्चात सक्रिय राजनीतिमा होमिएकी हुन् । श्रीकृष्णको ८ माघ ०६६ मा मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा निधन पछि उनी राजनीतिमा सक्रिय भएको र तमलोपाको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी पाएकी थिईन् ।
तमलोपा सहित बिभिन्न ६ मधेसबादी दल एकिकरण भई हालै राष्ट्रिय जनता पार्टी नेपाल बनेको छ । जुन संबिधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याको आधारामा पुनर्संरचना हुनुपर्ने लगायतका माग गर्दै स्थानीय निर्वाचन बहिष्कारमा लागेको छ ।
यादव दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट धनुषा ५ को उम्मेदवार भएकी थिइन् । १० हजार मत ल्याएकी यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा एवं कांग्रेस उम्मेदवार चन्द्रमोहन यादवसँग पराजित भएकी थिइन् ।
यादवलाई एमालेमा प्रबेश गराउँदै पार्टी अध्यक्ष ओलीले यो तपाईको पुरानै घर हो भन्दै फर्किएर आएकोमा स्वागत गरेका छन् । यादवलाई स्वागत गर्दै ओलीले प्रदेश नं. २ मा एमाले सबैभन्दा ठुल्लो दल बन्ने दावी गरेका छन् ।
एमालेलाई मधेस बिरोधीको रुपमा व्याख्या भईरहेको अवस्थामा मधेसवादी दलका शिर्ष नेताहरु एमालेमा प्रबेश गर्न थालेपछि पार्टी मधेसमा ठुल्लो दल बन्ने बिश्लेषण एमाले नेताहरुले गरेका छन् ।
यस अघि तत्कालिन तमलोपाका सहमहामन्त्री कासिम मियाँ अंसारी पनि राजपा परित्याग गरि एमालेमा प्रबेश गरिसकेका छन् । यस्तै नेकपा क्रान्तिकारीका महासचिव प्रमोद नारायण यादव सहित सम्पुर्ण पदाधिकारी, केन्द्रीय कमिटी नै जेठको अन्तिम साता एमालेमा प्रबेश गरिसकेका छन् ।
यसका साथै संस्कृतबिद्ध रमेश रञ्जन झा समेत एमालेमा प्रबेश गरिसकेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा नाटय बिभागका प्रमुख समेत रहेका झा यस अघि एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका थिए ।
राष्ट्रिय एकता, स्वभिमान, आर्थिक समृद्धि लगायतका मुद्धामा दरो अडान सहित अघि बढीरहेको एमाले पार्टीमा अहिले मधेसवादी दलबाट प्रबेश गर्नेको होडबाजी चलेको छ ।
Comments
Post a Comment