नीति तथा कार्यक्रम तयारी : १० वर्षमा प्रतिव्यक्ति आय ५ लाख

सुभाष साह
काठमाडौं, २६ चैत

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । 

१० वर्षभित्रमा प्रतिव्यक्ति आय ५ लाख पु¥याउनेलगायतका महŒवाकांक्षी योजनासहित सरकारले संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने तयारी थालेको हो । 

प्रधानमन्त्रीको भारत भ्रमण र सरकार विस्तारको प्रयासका कारण लम्बिएको नीति तथा कार्यक्रमको तयारीलाई प्रधानमन्त्री फर्किएलगत्तै तीव्रता दिइएको रक्षामन्त्री इश्वर पोखरेल बताउँछन् । 

सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त वाम घोषणापत्रमा उल्लेख गरिएका लक्ष्यलाई पूरा गर्ने गरी नीति र कार्यक्रम तयार पारिरहेको उनले बताए । 

केही दिनभित्रै संसद्मा प्रस्तुत गर्ने योजनाका साथ हाल मन्त्रालयगत रूपमा नीति र कार्यक्रमहरू तयार भइरहेको उनको भनाइ छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि २१ कात्तिकमा वाम गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको संयुक्त घोषणापत्रमा समावेश गरिएका कार्यक्रमलाई पूरा गर्ने गरी नीति तथा कार्यक्रमको तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा लिएर निर्वाचनमा होमिएको वाम गठबन्धन साझा उम्मेदवारी दिएर जनताबीच गएका थिए । वाम गठबन्धनका उम्मेदवारले जनताका बीचमा गरेका वाचालाई पूरा गर्ने गरी नीति तथा कार्यक्रम तयार गरी लागू गर्ने तयारी सरकारको छ । 

प्रधानमन्त्री ओलीले नेपाल सरकारका सचिव  एवं मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीलगायतलाई निर्देशन दिँदै जनताको आवश्यकता, चाहना एवं आकांक्षालाई ध्यान दिएर नीति तथा कार्यक्रमको तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै मनत्रालयगत योजना बनेको र त्यसलाई संक्षेपीकरण गरी नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्ने कार्य भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

रक्षामन्त्री पोखरेलले सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटिसकेको बताए । प्रधानमन्त्रीको निर्देशनसँगै मन्त्रालयहरू आन्तरिक तयारीमा जुटेको बताउँदै उनले वाम गठबन्धनको संयुक्त घोषणापत्रमा समावेश कार्यक्रमलाई कार्यान्वयन गर्ने बताए । 

‘समृद्धि नेपाल, सुखी नेपालीको उद्देश्य पूरा गर्ने गरी प्रधानमन्त्रीको निर्देशनसँगै नीति तथा कार्यक्रमको आन्तरिक तयारी एवं छलफल सुरु भइसकेको छ’ रक्षामन्त्री पोखरेलले भने, ‘वाम गठबन्धनको घोषणापत्रमा समावेश कार्यक्रमलाई नै प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउनेछ ।’ 

कार्यक्रममा समृद्ध समाजवादको लक्ष्य प्राप्त गर्ने गरी नीति तय गरिएको उनको भनाइ छ । कार्यक्रममार्फत स्वच्छ प्रतिस्पर्धात्मक अर्थतन्त्र, १० वर्षमा १० लाखलाई रोजगारी, १० वर्षभित्रमा प्रतिव्यक्ति आय ५ लाख पु¥याउनेलगायतका महŒवाकांक्षी कार्यक्रम समावेश हुँदै छन् । 

नीति तथा कार्यक्रम निर्माणको तयारीमा जुटेको सरकारले वाम गठबन्धनद्वारा आफ्नो घोषणापत्रमा समावेश गरिएको आर्थिक वृद्धि १० प्रतिशतमाथि पु¥याउने र सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पु¥याउने विषयलाई समेत सम्बोधन गर्ने तयारी गरेको छ । 

सरकारले सार्वजनिक गरेको श्वेतपत्रले मुलुकको आर्थिक अवस्था खस्किएको औंल्याएपछि सामाजिक सुरक्षाका कार्यक्रमलाई भने कसरी अघि बढाउने भन्ने विषयमा अर्थविद् तथा मन्त्रालयका उच्च अधिकारीसँग छलफल भइरहेको एक मन्त्रीले बताए । 

छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ एवं घनिष्ट बनाउँदै मुलुकको प्राकृतिक स्र्रोतसाधानको उपयोग तथा छिमेकी मुलुकको सहयोगमा आफ्ना महŒवाकांक्षी योजना पूरा गर्ने तयारी सरकारको छ ।

काठमाडौं–तराई मधेस द्रुतमार्ग चार वर्षभित्र निर्माण गरिने, पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र ६ लेनमा स्तरोन्नति गर्दै आगामी पाँच वर्षमा हुलाकी राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरिने कार्यक्रम पनि यसपटक समेटिनेछन् । 

मध्यपहाडी पुष्पलाल राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरी पाँच वर्षमा सम्पन्न गर्ने, राष्ट्रव्यापी सडक सञ्जाल निर्माण गर्दा आवश्यकताअनुसार उच्च पुल र सुरुङ प्रविधिको व्यापक प्रयोग गर्दै उत्तर–दक्षिण राजमार्ग तथा तराई मधेसका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म ४ देखि ६ लेनका राजमार्ग निर्माण गर्ने विषय वाम घोषणापत्रमा उल्लेख छ । 
एक मन्त्रीकाअनुसार यीमध्ये अधिकांश कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिनेछ । वाम घोषणापत्रमा हिमाली जिल्लाका सदरमुकामदेखि नेपाल–चीन सिमानासम्म २ देखि ४ लेनका राजमार्ग निर्माण गर्ने एवं प्रत्येक प्रदेशका केन्द्रहरूलाई ४ देखि ६ लेनका आधुनिक सडकमार्फत मुख्य राष्ट्रिय राजमार्गसँग जोड्ने उल्लेख छ ।

आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गर्नुका साथै यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गर्ने महŒवाकांक्षी योजना सरकारको रहेको छ । 

आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गर्नुका साथै काठमाडौं र वीरगन्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाउने योजना सरकारले गरिरहेको छ । 
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले सरकारले वाम गठबन्धनको संयुक्त घोषणापत्रमा समावेश कार्यक्रमलाई दीर्घकालीन एवं अल्पकालीन योजना बनाएर पूरा गर्ने गरी नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेको बताए । 

सुशासन, समृद्धि, पिछडिएका जनताले अनुभूत हुने गरी वाम गठबन्धनको साझा घोषणापत्रमा समावेश कार्यक्रमलाई पूरा गर्न बजेटको व्यवस्था गरिने उनले बताए । मुलुकको प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै मित्रराष्ट्रको सहयोगमा जनताको चाहना एवं आकांक्षा पूरा गर्ने तर्फ सरकारको ध्यान रहेकाले सोहीअनुरूपको नीति तथा कार्यक्रम आउने मैनालीले बताए । 

‘सुशासन, समृद्धि एवं पिछडिएका जनताले अनुभूत गर्ने गरी वाम गठबन्धनको साझा घोषणापत्रमा समावेश गरिएका कार्यक्रमलाई अल्पकालीन एवं दीर्घकालीन योजना बनाएर पूरा गरिनेछ,’ मैनालीले भने, ‘जनताको चाहना एवं आकांक्षा पूरा गर्न सरकारले नीति तथा कार्यक्रम छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको छ ।’

छिमेकी मित्र राष्ट्र भारतको भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जनताको आवश्यकता एवं चाहना पूरा गर्न निर्देशन दिइसकेको उनले बताए । उनका अनुसार सरकार विभिन्न रिक्त स्थानमा पदपूर्ति गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा जुटेको छ । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’