एमालेले अघि सारेको राष्ट्रपति भण्डारीको पक्षमा मतदान गर्ने राजपा नेपालको निर्णय
सुभाष साह
काठमाडौं, २५ फागुन
एमालेले अघि सारेको राष्ट्रपतीका उम्मेदवार बिद्यादेवी भण्डारीको पक्षमा मतदान गर्ने निर्णय राष्ट्रिय जनता पार्टी नेपालले गरेको छ ।
राजपा नेपालको केन्द्रीय कार्यालय बिजुलीबजारमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले राष्ट्रपति भण्डारीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संबिधान संशोधन र सरकारमा सहभागिता बिषयमा एमाले र माओवादी केन्द्रको वामगठबन्धन सरकारसंग भईरहेको छलफल सकारात्मक बन्दै गईरहेको निष्कर्ष सहित अध्यक्ष मण्डलले यस्तो निर्णय गरेको हो ।
राजपा नेपालका महासचिव अजय गुप्ताले बिगत केही दिनदेखी आफुहरुको मागको बिषयमा वामगठबन्धनको सरकारसंग भईरहेको छलफल सकारात्मक रहेकाले एमालेले अघि सारेको उम्मेदवारको पक्षमा नै मतदान गर्ने निर्णय भएको बताए ।
संघीय समाजवादी फोरम नेपाल र राजापा नेपालको प्रदेश २ सरकारलाई वामगठबन्धनले समर्थन गरिसकेको छ । बिगत केही दिनयता भईरहेको दलहरुको छलफल पनि सकारात्मक रहेकाले मधेसवादी दल पनि केन्द्रीय सरकारमा सहभागि हुने वातावरण बन्दै गईरहेको नेताहरुले बताउँदै आईरहेका छन् ।
राजपा नेपालले राष्ट्रपतिका उम्मेदवार भण्डारीको पक्षमा मतदान गर्ने निर्णय गरेपनि फोरम नेपालले भने निर्णय गर्न बाँकी नै रहेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संबिधान संशोधन गर्ने प्रतिबद्धता मधेसवादी दलका नेता समक्ष गरिसकेका छन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने बिषयमा पार्टीले निर्णय गर्न वाँकी रहेको बताए । मतदान गर्ने बिषयमा पार्टीले छिटै निर्णय गर्ने उनले बताए ।
सरकार र मधेसवादी दलका बीचमा राजनीतिक सम्झौता हुन बाँकी रहेको छ । राजनीतिक सम्झौतासंगै मन्त्रालय वाँडफाँट लग्तै मधेसवादी दल पनि वामगठबन्धन नेतृत्वको सरकारमा सहभागि हुने उनीहरुले नै बताउँदै आईरहेको छन् ।
राष्ट्रपति भण्डारी र नेपाली काँग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । स्रोतका अनुसार राष्ट्रपति निर्वाचनमा भण्डारीको पक्षमा मतदान गर्ने निर्णय गरेको राजपा नेपालले उपराष्ट्रपति आफुले पाउँनुपर्ने माग अघि सारेको छ ।
Comments
Post a Comment