महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर– प्रधानमन्त्री ओली



सुभाष साह
काठमाडौं, २४ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् । 
१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा बिहिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताएका हुन् ।
‘यस्ता कुराहरुको अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानुनी एवं व्यवहारिक रुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु’ प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । 
सरकारका विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभुत स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ‘यस्तो अवस्थाको सुधारका लागि सबै सरोकारवाला निकायहरुले अझै प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।’
नीति निर्माण तहमा महिलाको संख्या बढाउन संवैधानिक रुपमा विशेष प्रवधान राखिएको नेकपा एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको भनाइ छ । राष्ट्रपति, उपराष्ट्रपति मध्ये एकजना महिला, सभामुख, उपसभामुख मध्ये एकजना महिला, राष्ट्रिय सभाको अध्यक्ष वा उपाधक्ष्य मध्ये एकजना महिला, प्रदेशको सभामुख, उपसभामुख मध्ये एकजना महिला र स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला राख्ने प्रावधान महिला शसक्तिकरणका लागि महत्वपूर्ण फड्को भएको प्रधानमन्त्रीको भनाइ छ ।
नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । महिला हक अधिकार प्राप्तीका लागि संविधान, विभिन्न अन्तराष्ट्रिय महासन्धीहरुमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गराउदै प्रधानमन्त्री ओलीले ति सन्धी सम्झौताको पालनमा सरकार गम्भिर रहेको बताएका छन् ।
यसैबीच महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले बलात्कारजस्ता जघन्य महिला हिंसाका घटनामा संलग्नलाई कडा कारवाही गराउँन सरकार प्रत्यनशील रहेको बताएकी छन् । 

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा बिहिबार नै काठमाडौंमा बिभिन्न संघसंस्थाको आयोजनामा आयोजित र्याली पश्चात सभालाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसाको अन्त्यका लागि एकजुट हुनुपर्ने आवश्यक्ता रहेको बताएकी छन्

बलात्कार लगायतका महिलाहिंसाका बिरुद्धमा तत्काल उजुरी र सूचना दिन ११४५ नंको टोल फ्री नम्बर सरकारले उपलब्ध गराइएको बताउँदै मन्त्री थापाले त्यस्ता घटनाका दोषीलाई कडा कारबाही गराउन सरकार प्रयत्नशील रहेको प्रतिबद्धता व्यक्त गरेकी छन् । 

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, गैरसरकारी संस्था महासंघ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), म बोल्छु, रक्षा नेपाल, एटवीन, लगायतका संघसंस्थाद्वारा र्यालीको आयोजना गरिएको थियो । 

काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको सो र्याली भद्रकाली मन्दिर, शहीद गेट, हुँदै रत्नपार्क स्थित शान्तिवाटिका पुगेर सभामा परिणत भएको थियो । र्यालीमा सहभागि अधिकारकर्मीहरुले ‘महिला हिंसाको अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’, ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सहभागि भएका थिए । 

अन्तर्राष्ट्रिय महिला दिवसमा यस वर्षको नारा ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण ः ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण’ भन्ने तय गरिएको छ । प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाईने अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरुकता सम्बन्धीको दिवस हो । 

सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

यसैबीच नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताएका छन् । 

काठमाडौंमा १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रक्षामन्त्री पोखरेलले राज्यको हरेक अंग एवं क्षेत्रमा महिलाको सम्मान सहभागिताका लागि सरकार तत्पर रहेको बताए । महिलाको अधिकारका रक्षाका लागि सबै एकजुट हुनुपर्ने आवश्यक रहेको उनले बताए । 


Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’