राष्ट्रिय सभा नेतृत्वमा दुई आकांक्षी


सुभाष साह
काठमाडौं, २५ फागुन

राष्ट्रिय सभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टीभित्र लबिङ तीव्र बनाएका छन् । 
पार्टी र वाम गठबन्धनभित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला  एमाले पोलिटब्युरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमल्सिनाले नेतृत्वमा इच्छा देखाएका छन् । 
एमाले र माओवादी केन्दबीच भएको पदीय बाँडफाँटअनुसार एमालेको भागमा राष्ट्रिय सभा अध्यक्ष परेको छ । तर, सो जिम्मेवारी कसलाई दिने भन्ने निर्णय पार्टीले गरेको छैन । 
उनीहरूले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित दुवैपार्टीका प्रभावशाली नेतालाई भेटेर नेतृत्वमा आकांक्षा देखाएका हुन् । 
आकांक्षीमध्येका गुरुङले पार्टीमा आफूले गरेको योगदानको मूल्यांकन गरेर जिम्मेवारी दिए आफू तयार रहेको बताए । उनले आफूलाई पार्टीले न्याय गर्नेमा विश्वास रहेको बताए । 
अर्का दाबेदार तिमल्सिनाले आफ्नो अनुभव र विगतका जिम्मेवारीका कारण पार्टीले अध्यक्षका रूपमा अघि सार्ने बताए ।
संसद् सचिवालयले राष्ट्रिय सभाको अध्यक्षका लागि २८ फागुनमा उम्मेदवारी र ३० फागुनमा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । संविधानको धारा ९२ मा राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूध्येबाट राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 
अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला नै हुनुपर्ने अनिवार्य व्यवस्था संविधानमै उल्लेख छ । तर, एमालेभित्र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष को हुने भन्ने विषयमा औपचारिक छलफल भएको छैन । 
२९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । एमालेले राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सारिसकेको छ । 
राष्ट्रपतिको उम्मेदवार एमालेले उम्मेदवारी दर्ताको अघिल्लो दिन मध्यरातमा गरेको बताउँदै एमाले एक स्थायी समिति सदस्यले राष्ट्रिय सभाको अध्यक्ष पनि त्यसैगरी २७ तिर छनोट गर्ने बताए । 
‘राष्ट्रपतिको उम्मेदवार उम्मेदवारी दर्ताको अघिल्लो दिन मध्यरातमा छनोट भएको तपाईंलाई थाहै छ,’ ती स्थायी समिति सदस्यले भने, ‘राष्ट्रिय सभाको अध्यक्ष पनि त्यसैगरी फागुन २७ गतेतिर नै छान्छौं होला ।’
दुईजनाले अध्यक्षका लागि इच्छा देखाएपछि कसलाई बनाउने निर्णय गर्न पार्टीलाई सकस परेको छ । पार्टीभित्र  गुरुङ माधव नेपाल र तिमल्सिना ओली निकट मानिन्छन् । 
उपाध्यक्ष भने सरकारमा सहभागी हुने तयारीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल या संघीय समाजवादी फोरम नेपाललाई दिने आन्तरिक तयारी एमालेको छ । 
एमाले नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने विषयमा सत्ता साझेदार दलसँग छलफल भइरहेको बताए । राष्ट्रिय सभाको अध्यक्षबारे निर्णय पार्टीले छिट्टै गर्ने उनले बताए । 
‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ,’ नेम्वाङले भने, ‘अध्यक्ष को बन्ने भन्ने निर्णय पार्टीले छिट्टै गर्नेछ ।’



Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !