फेरी पनि राष्ट्रपतिमा भण्डारी हुने निश्चित


सुभाष साह
काठमाडौं, २२ फागुन
एमाले स्थायी कमिटी बैठकले राष्ट्रपतिमा बिद्यादेवी भण्डारीलाई नै दोहर्याउँने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार मध्यराती सम्पन्न बैठकले बर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहर्याउँने निर्णय गरेको छ । 
एमाले उपाध्यक्ष बामदेव गौतमले दोस्रो कार्यकालका लागि भण्डारी राष्ट्रपतिमा दोहर्याउँने निर्णय भएको बताए । एमाले, माओवादी सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालसमेत सहभागी हुने आन्तरिक गृहकार्यसंगै सत्तारूढ गठबन्धनको प्रतिनिधिसभामा दुईतिहाइ मत पुगेको छ । 
राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जना मतदाता कायम रहेका छन् । ४ जनाले मतदान गर्न पाउने छैनन् ।
राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सदस्यको मतभार फरक फरक हुने छ । संघीय संसद्मा कायम प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३ तीन ३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने छ ।
देशमा भएको वामआन्दोलन एवं लोकतान्त्रिक आन्दोलनकी सशक्त तथा अग्रणी नेतृ भण्डारी नेपालको संविधान जारी भएलगत्तै गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बनेकी थिइन् । ५ असार ०१८ मा भोजपुरको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारी विद्यार्थीकालमै राजनीतिमा होमिएकी नेतृ हुन् । भण्डारी जननेता मदन भण्डारीकी श्रीमति हुन् । 
राष्ट्रपतिको उम्मेदवार छान्न बसेको एमाले स्थायी कमिटी बैठक मंगलबार रातीसम्म जारी नै रहेको थियो । २९ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार छनौट गर्न बसेको बैठकमा उम्मेदवार हुनेको आकांक्षीको बिषयमा गम्भिर छलफल भयो । वर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहर्याउँनुपर्ने पक्षमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल गरेका थिए । 
पुर्वप्रधानमन्त्री एवं पुर्व पार्टी अध्यक्ष झलनाथ खनालले समेत राष्ट्रपति बन्ने ईच्छा व्यक्त गरेका थिए । माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु खनालको पक्षमा रहेका थिए । ओली समुहका नेता भनेर चिनिने उपाध्यक्ष बामदेव गौतम समेत खनालको पक्षमा रहेका थिए । निर्णायक भनिएका नेपाल आफै कसैको पक्षमा खुलेनन् ।  
एमाले र माओवादी केन्द्र्रले पार्टी एकता गर्ने सहमती गर्दै राष्ट्रपति एमालेले लिने निर्णय गरेका थिए । सोही सहमती अनुसार एमालेले राष्ट्रपतिको उम्मेदवार छनौट भएको हो ।  वामगठबन्धनको स्पष्ट बहुमत रहेको अवस्थामा स्थायी कमिटीले गरेको निर्णय अनुसार भण्डारी राष्ट्रपति दोस्रो कार्यकालका लागि बन्ने निश्चित रहेको छ । 
नेपाली काँग्रेसले बुधबार बस्ने केन्द्रीय समिति बैठकले राष्ट्रपतिको उम्मेदवार छनौट गर्नेछ । काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माका अनुसार काँग्रेसबाट उम्मेदवारी दिने की नदिने भन्ने निर्णय बुधबारको बैठकले गर्ने बताए । 
काँग्रेसबाट मानवहादुर बिश्वकर्मालाई उम्मेदवार बनाउँने गृहकार्य पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । काँग्रेस भित्र लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाउँनुपर्ने चर्चा समेत रहेको छ । 
नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ । 
राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
एमाले स्थायी कमिटी बैठक शुरु हुनुभन्दा अघि पार्टीका नेता माधवकुमार नेपालको ६५ औँ जन्मदिन परेकाले केक काटेर बैठक सुरु गरिएको थियो । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गरे । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’