मधेसवादी दलको निष्कर्ष संबिधान संशोधनको सहमतीसंगै वामगठबन्धनको सरकारमा सहभागि हुने
सुभाष साह
काठमाडौं, २२ फागुन
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी दल वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।
फोरम नेपालको तीनकुने स्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको पादाधिकारी बैठकले वामगठबन्धनको सरकारले संबिधान संशोधनमा सहमत भएकाले राजनीतिक सहमती गर्दै सरकारमा सहभागि हुने निष्कर्ष निकालेको छ ।
फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिगत केही दिनदेखी एमाले र माओवादी केन्द्रका नेतासंग भएको छलफललाई पार्टीले सकारात्मक रुपमा लिएको जानकारी पार्टी पदाधिकारी बैठकमा गराईएको बताए । छलफल सकारात्मक रहेकाले राजनीतिक सहमती गर्दै पार्टी सरकारमा सहभागि हुने बैठकले निष्कर्ष निकालेको उनले बताए ।
‘बिगतमा एमाले र माओवादी केन्द्रका नेतासंग संबिधान संशोधन र सरकारमा सहभागिता बिषयमा भएको छलफलका बारेमा बैठकमा जानकारी गरायौ’ श्रेष्ठले भने, ‘छलफल सकारात्मक नै रहेकोछ, लिखितरुपमै राजनीतिक सहमती गर्दै सरकारमा सहभागि हुनेछौं ।’
संबिधान संशोधनमा एमाले र माओवादी केन्द्र सहमत भएको निष्कर्ष सहित राजपा नेपाल र फोरम नेपाल सरकारमा सहभागि हुने भएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुबै दलका शिर्ष नेतासंग संबिधान संशोधन र सरकारमा सहभागि हुने बिषयमा छलफल गर्दै आएका थिए ।
फोरमको पदाधिकारी बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादवले एमाले र माओवादी केन्द्रका नेताका बीचमा बिगतमा भएको छलफलको बिस्तृत जानकारी गराएका थिए ।
तीनै जना नेताले पार्टी पदाधिकारीहरुलाई संशोधनको बिषयमा वामगठबन्धनको सरकार सकारात्मक रहेको जानकारी गराएपछि बैठकले लिखित राजनीतिक सहमती लगतै पार्टी सरकारमा जानुपर्ने निष्कर्षमा पुगेको हो ।
राजपा नेपाल र फोरम नेपालका नेतासंग ओली, दाहाल सहित एमाले सचिव प्रदिप ज्ञवाली, स्थायी समिति सदस्य सुबासचन्द्र नेम्वाङका साथै केही समय अग्नि खरेल समेत निरन्तर छलफल गर्दै आएका थिए ।
फोरम नेपालका महासचिव रामसहाय यादवले बिगतमा भएको छलफल सकारात्मक रहेको बताउँदै केही बाँकी रहेका बिषयमा सहमती भए पार्टी सरकारमा सहभागि हुने बताए । भएका सहमती सकारात्मक रहेको र केही छलफल अझै आवश्यक रहेको बताउँदै उनले केही दिनमा पार्टी सरकारमा सहभागि हुने बताए ।
राजपा नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले एमाले र माओवादी केन्द्रसंग भएको सहमती अनुसार संबिधान संशोधन भए पार्टी सरकारमा सहभागि हुने बताए । तर छलफल अझै जारी रहेकाले पार्टी सरकारमा सहभागि हुने भन्ने निष्कर्षमा पुगिनसकेको उनले बताए ।
‘छलफल जारीछ, सकारात्मक रुपमा अगाडी बढीरहेको छ, संबिधान संशोधन हुने सुनिश्चित भए पार्टी सरकारमा जानसक्छ’ महतोले भने, ‘संबिधान संशोधन र सरकारमा सहभागिता बिषयमा छलफल जारी भए पनि टुंगोमा पुगिसकेका छैनौं ।’
आईतबार प्रधानमन्त्री ओलीले राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसंग संबिधान संशोधन र सरकारमा सहभागिता बिषयमा छलफल गरेका थिए । दुई पार्टीको छलफल अझै जारी नै रहेको छ ।
दलहरुका बीचमा आन्तरिक रुपमा छलफल जारी रहेकाले सहमती भए पछि मात्रै पार्टी सरकारमा सहभागि हुने महतोले बताए ।
राजपा नेपालका महासचिव अजय गुप्ताले दुई पार्टीका बीचमा संशोधन र सरकारमा सहभागिता बिषयमा छलफल भईरहेको बताउँदै संशोधनको टुंगो लागे मात्रै पार्टी सरकारमा सहभागि हुने बताए ।
एमाले र माओवादी नेताहरुबाट सरकारमा सहभागि हुन प्रस्ताव आएको बताउँदै महासचिव गुप्ताले संशोधन भए सरकारमा पार्टी सहभागि हुने बताए ।
एमाले नेताहरुले फोरमलाई उपसभामुख सहित एक मन्त्री, एक राज्य मन्त्री दिन सहमत छन् । तर फोरमले उपसभामुख सहित तीन मन्त्री पाउँनुपर्ने दावी गर्दै आएको छ । यस्तै राजपा नेपालसंग समेत मन्त्रालयको बिषयमा टुंगो लाग्न बाँकी नै रहेको छ ।
एमाले र माओवादी केन्द्र राष्ट्रपति निर्वाचन, सरकार बिस्तार, सभामुख निर्वाचन, राष्ट्रियसभा अध्यक्ष निर्वाचन लगायतका बिषयमा आन्तरिक छलफलमा रहेकाले राजपा नेपाल र फोरम नेपालसंग सहमती हुनमा ढिलाई भएको मधेसवादी दलका नेताहरु बताउँछन् ।
Comments
Post a Comment