चार मन्त्री थपिए : पोखरेल दोस्रो वरीयतासहित रक्षा, थापा गृह, खतिवडा अर्थ र यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

सुभाष साह
काठमाडौं, १४ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै मन्त्रिपरिषद् अब सात सदस्यीय बनेको छ । 
दोस्रोपटक भएको मन्त्रिपरिषद् विस्तारमा एमाले र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री थपिएका हुन् । एमालेबाट पार्टी महासचिव ईश्वर पोखरेल रक्षामन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री भएका छन् । माओवादी केन्द्रबाट वरिष्ठ नेता रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका छन् । 
नवनियुक्त अर्थमन्त्री खतिवडालाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । तर, सर्वोच्च अदालतले आइतबार उनीसहित मनोनीत तीनैजनाको शपथग्रहण आगामी २० फागुनसम्म रोकेको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । 
३ फागुनमा माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री भएकै दिन ओलीले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेका थिए । 
सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेकामध्ये डा. खतिवडा नयाँ अनुहार हुन् । प्रधानमन्त्री ओलीको गृहजिल्लाका खतिवडा पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुई कार्यकाल उपाध्यक्ष भइसकेका छन् । अर्थविज्ञका रूपमा चिनिने डा. खतिवडा प्रधानमन्त्री ओलीको विशेष रोजाइमा अर्थमन्त्री भएका हुन् । 
एमाले महासचिवसमेत रहेका पोखरेलले तेस्रोपटक मन्त्री बन्ने अवसर पाएका छन् । यसअघि उनी आपूर्ति र परराष्ट्रमन्त्री भइसकेका छन् । शेरबहादु देउवा नेतृत्वको सरकारमा उनी आपूर्तिमन्त्री र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री भएका थिए । 
काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेल ओली सरकारमा दोस्रो वरीयता क्रममा रहनेछन् । दोस्रो कार्यकालका लागि पार्टीको महासचिव रहेका पोखरेल मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए । 
गृहमन्त्री नियुक्त माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा दोस्रोपटक मन्त्री बनेका हुन् । पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा उनी रक्षामन्त्री थिए । माओवादी केन्द्रको तत्कालीन महासचिव रहेका थापा मोहन वैद्यले पार्टी विभाजन गर्दा वैद्यतर्फ लागेका थिए । पछि उनी माओवादी केन्द्रमै फर्किएका थिए । थापा राष्ट्रिय सभा सदस्य हुन् । 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका मातृका यादव दोस्रोपटक मन्त्री बनेका हुन् । यसअघि उनी वनमन्त्री भएका थिए । वनमन्त्री हुँदा एलडीओलाई शौचालयमा थुनेर उनी चर्चामा आएका थिए । 
धनुषा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादव नेकपा माओवादीलाई पुनर्गठन गर्दै करिब सात वर्ष माओवादी केन्द्रबाट अलग थिए । पछि उनी पुनः पार्टी एकीकरण गरी माओवादी केन्द्रमा फर्किएका हुन् । 


चार मन्त्री, तीन पोशाक,  दुई भाषा

नवनियुक्त चार मन्त्रीको राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा फरकफरक पोसाकमा उपस्थित थिए । मन्त्री यादवले मातृभाषा मैथिलीमा  शपथग्रहण गरे । 
रक्षामन्त्रीमा नियुक्त एमाले महासचिव पोखरेल र अर्थमन्त्री डा. युवराज खतिवडा दौरासुरुवालमा सजिएका थिए  । माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका गृहमन्त्री थापा भने पाइन्ट, सर्ट र कोटमा थिए । यादवबाहेक तीनै जनाले नेपाली भाषामा शपथ लिए । 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता यादवले भने कुर्ता र पाइन्ट लगाएका थिए । मधेसको पहिचानका रूपमा लिइने कुर्तामाथि यादवले गम्छा राखेका थिए ।

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’