एमाले–माओवादी एकता; ९५ प्रतिशत मिल्यो, ५ प्रतिशत बाँकी


सुभाष साह
काठमाडौं, २ फागुन
एमाले र माओवादी केन्द्रबीच एकता गर्न बनेको संयोजन समिति बैठक सहमतिनजिक पुगेको छ । बुधबार बसेको संयोजन समतिको बैठकमा दुई अध्यक्षले कसले कति सरकारको नेतृत्व गर्ने र कार्यदलका सदस्य चयनका विषयमा सहमति जुट्न बाँकी रहेको छ । 
पार्टी एकता संयोजन समितिको बुधबार ललितपुर मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा बसेको बैठकले सहमतिलाई लिपिबद्ध गर्ने तयारी भए पनि सरकारको नेतृत्व कसले कति गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा लिपिबद्ध हुन सकेन । एकीकृत पार्टीको वैचारिक एवं सैद्धान्तिक र सांगठानिक संरचनासम्बन्धी दुई छुट्टाछुट्टै कार्यदल बनाउने सहमति भएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । 
कार्यदलमा कोको रहने भन्ने विषयमा नेताहरूबीच सहमति जुट्न सकेन । सहमति हुन बाँकी विषयमा बिहीबार छलफल गरी टुंगोमा पुग्ने सहमति जुटेको छ । ‘पार्टी एकताका विषयमा ९५ प्रतिशत कुरा मिलिसकेको छ,’ उनले भने, ‘बाँकी रहेको ५ प्रतिशत कुरा छलफलको माध्यमबाट टुंग्याउने सहमति भएको छ ।’
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले सरकार निर्माणको बाटो खुलेको माओवादी नेता एवं संयोजन समिति सदस्य नारायणकाजी श्रेष्ठले बताए । वाम गठबन्धनका तर्फबाट बिहीबार नै सरकार गठनको दाबी गरिने उनले जानकारी दिए । ‘निर्वाचन आयोगले निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रिपतिलाई आज (बुधबार)नै बुझाएको छ,’ उनले भने, ‘निर्वाचन परिणाम बुझाएसँगै सरकार गठनका लागि गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको दाबी भोलि (बिहीबार) नै पेस गर्ने सहमति भएको छ ।’ पार्टी एकताका लागि संयोजन समितिको छलफल सहमतिनजिक पुगिसकेकाले अर्को बैठकमा बाँकी रहेको विषयमा टुंगो लाग्ने उनले बताए । 
एकता प्रक्रियामा रहेका एमाले र माओवादीबीच पार्टी र सरकारको नेतृत्व भागबन्डामा चलाउने सहमति जुटिसकेको छ । सहमतिअनुसार एकतापछि पार्टीमा ओली र दाहालको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालोमा हुनेछ । माओवादी नेताहरूले यसअघि नै भद्र सहमति भइसकेको दाबी गर्दै आगामी सरकारमा ओली र दाहालले कति–कति समय सरकारको नेतृत्व गर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको बताएका छन् । 
बुधबार बसेको संयोजन समति बैठकमा ओलीले एकताका लागि आफूलाई दबाब बढेको बताएका छन् । ‘पार्टी एकताका विषयमा मलाई अत्यधिक प्रेसर परेको छ,’ उनले संयोजन समिति बैठकमा फोटो लिन पुगेका पत्रकारसँग भने, ‘पार्टीलाई बलियो बनाउने गरी सहमतिमा पुग्न गहन छलफलमा हामी छौं ।’ 
यसैगरी माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकारहरू छिरेलगत्तै सबैमा उत्साह थपिएको भन्दै आफूहरू सहमतिमा पुग्ने बताए । ‘पार्टी एकता गरेर मुलुकको विकासमा हामी सबै एकसाथ अघि बढ्नेछौं,’ उनले भने, ‘हामी सहमतिको माध्यमबाट नै सबै विषय टुंग्याएर अघि बढ्नेछौं ।’ 
एमाले नेताहरूले भने पहिला बन्ने ओली नेतृत्वको सरकार तुलनात्मक रूपमा लामो समय हुनुपर्ने अडान राखेका छन् । एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार एमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् र उनको कार्यकाल तीन वर्ष हुनेछ । बाँकी दुई वर्षका लागि दाहाल प्रधानमन्त्री हुने एमालेको प्रस्ताव रहेको छ । यससँगै पार्टी कमिटीहरू छरितो बनाउन दुवै दल सहमतिनजिक छन् । नेताहरूले केन्द्रीय कमिटी ९९, पोलिटब्युरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुने गरी छलफल जारी राखेका छन् । 

एकतापछि बन्ने पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टीको अध्यक्ष हुने भएका छन् भने सरकारको नेतृत्व पहिला ओलीले गर्नेछन् । उनले सरकारको नेतृत्व गरेसँगै पार्टीको नेतृत्व भने दाहालले गर्नेछन् । प्रधानमन्त्री र अध्यक्ष आलोपालो गरी चलाउने र नयाँ पार्टीको महाधिवेशन नभएसम्म जनताको बहुदलीय जनवाद र माओवादलाई पार्टीका वैचारिक कार्यदिशा मानेर जाने सहमति जुटेको छ । 
दुई नेताबीच पटकपटक भएको वार्तामा छलफल भएका विषयलाई बुधबार १२ बजदेखि भएको दुई नेताको बैठकले छलफलका विषयमा आआफ्नो पार्टीको बैठक बोलाएका थिए । १ बजे माओवादीको हेडक्वार्टर बैठक दाहाल निवास खुमलटारमा बसेको थियो । बैठकमा अध्यक्ष दाहालले दुई नेताबीच भएको छलफलका विषयमा जानकारी गराएका थिए । हेडक्वार्टर बैठकले छलफल भएको विषयमा थप छलफल गरेर निर्णयमा जान संयोजन समितिका नेताहरूलाई जिम्मेवारी दिएको नेता जनार्दन शर्माले जानकारी दिए । उनका अनुसार बैठकले आगामी सरकारको प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीलाई समर्थन गर्ने निर्णयसमेत गरेको थियो । 
दुई नेताबीचको छलफल लगत्तै एमालेको स्थायी कमिटी बैठक मानभवनस्थित वार्तास्थलमा बसेको थियो । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीमा ओलीलाई पठाउने निर्णय गरेको थियो । बैठकमा ओलीले दुई नेताबीच भएको छलफलको विषय जानकारी गराएका थिए । हेडक्वार्टर बैठकपछि पार्टी एकता संयोजन समितिका सदस्यहरू मानभवन आएका थिए । मानभवनमा एमाले स्थायी कमिटी बैठक लगत्तै दुई नेताबीच छुट्टै वार्ता भएको थियो । वार्तामा दुई नेताले आआफ्नो पार्टीको बैठकमा नेताहरूले राखेको धारणामाथि छलफल गरेका थिए ।

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’