एमाले–माओवादी सातबुँदे एकता सहमति



सुभाष साह
काठमाडौं, ७ फागुन

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि सातबुँदे सहमति भएको छ । 
दुई पार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकीकृत पार्टीको नाम, सिद्धान्त, लक्ष्यलगायतका विषयको टुंगो लगाएको हो ।
दुई दलका शीर्ष नेताद्वारा हस्ताक्षरित ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा एकीकरणका प्रारम्भिक आधारहरू’ नामक सहमतिपत्रमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने सहमति जुटेको छ । दुवै दलले नेकपाको पछाडि राख्दै आएको पुच्छर हटाएर नेकपा मात्रै पार्टीको नाम राख्ने सहमति गरेका हुन् । दुई दलले एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) राख्ने सहमति गरेका छन् । एमालेले जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रले माओवाद र एक्काइऔं शताब्दीमा जनवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकृत गर्दै आएका थिए ।
दुवै पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त छाडेर सिद्धान्तका रूपमा माले मान्ने सहमति गरेका हुन् । गत २ फागुनमा बसेको संयोजन समितिको बैठकमा मार्गनिर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । एमाले नेताहरूले मार्गनिर्देशक सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) लाई समेट्नुपर्ने अडान राखेका थिए । जबज छाड्न नसकिने एमाले नेताहरूको अडानकै बीच माओवादी केन्द्रले पनि मार्गनिर्देशक सिद्धान्तमा माओवाद समेट्नुपर्ने अडान राखेको थियो । 
दुई दलले अंगीकृत गर्दै आएका सिद्धान्तलाई विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्नसमेत सहमति भएको छ । 
‘नेकपा (एमाले) ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको ‘माओवाद र २१औं शताब्दीमा जनवाद’सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।’ केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठद्वारा हस्ताक्षर सहमतिपत्रमा उल्लेख छ ।
दुई पार्टीले अन्तरिम विधान निर्माण गरेर एकीकृत पार्टी सञ्चालन गर्ने सहमतिसमेत गरेका छन् । 
दुई दलबीच पार्टी नेतृत्वमा दुवै पार्टीका अध्यक्षको बराबरी हिस्सा रहने र सरकारको नेतृत्व पालैपालो गर्ने सहमति भए पनि सहमतिपत्रमा भने उल्लेख गरिएको छैन । दुई अध्यक्षबीच साढे दुई÷दुई वर्ष सरकारको नेतृत्व दुई अध्यक्षले भागबन्डामा सञ्चालन गर्ने, दुवै अध्यक्ष पार्टीमा बराबर हिस्सेदार रहने गरी अध्यक्ष मण्डल बनाएर पार्टी सञ्चालन गर्ने तथा एउटाले सरकारको नेतृत्व गरेको अवस्थामा अर्को स्वतः कार्यकारी भूमिकामा रहने समझदारी जुटेको एक नेताले बताए । 
दुई दलले पार्टीको लक्ष्य संविधानले नै मार्ग निर्देशित गरेको समाजवादलाई मानेका छन् । ‘प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपमान्तरणमार्फत समाजवादका आधार निर्माण गरिनेछ ।’ हस्ताक्षरित सहमतिपत्रको छैटौं बुँदामा भनिएको छ ।
दुई दलले आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रुपमा सम्पन्न गर्ने सहमतिसमेत गरेका छन् ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता गर्ने टुंगोका साथ सातबुँदे सहमति भएको जानकारी दिँदै एकीकृत पार्टी बन्ने निश्चित भएको दाबी गरे । दुई दलबीच एकताको विषयमा सहमति जुटेसँगै अब माओवादी केन्द्र सरकारमा सहभागी हुने भएको छ ।
गत ३ फागुनमा माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री चुनिए पनि माओवादीले एकताको विषय टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुने अडान राखेपछि प्रधानमन्त्री ओलीले एमालेका मन्त्रीलाई मात्रै समेटेर सरकार विस्तार गरेका थिए ।
एमाले महासचिव ईश्वर पोखरेलले एकताका लागि मुख्य आधार तय भएको र बाँकी विषयमा छलफल गर्दै एकता प्रक्रिया सम्पन्न गर्ने बताए ।
एकता संयोजन समितिको बैठक अगाडि ओली र दाहालबीच वान टु वान वार्ता भएको थियो । भक्तपुर बालकोटस्थित ओली निवासमा भएको वार्तामा अध्यक्ष तहमा भएको समझदारी साँझ पार्टी एकता संयोजन समितिमार्फत सहमति जुटाउँदै हस्ताक्षर गरिएको थियो ।
गत २ फागुनमा बसेको संयोजन समितिको बैठकमा सिद्धान्तको विषयमा सहमति जुट्न सकेको थिएन । संयोजन समितिको बैठक बस्नुअघि १ फागुन र २९ माघमा पनि दुई अध्यक्षले गोप्य छलफल गरेका थिए । दुई अध्यक्षबीचको गोप्य छलफलमा पार्टी र सरकारको नेतृत्व, वैचारिक विषयमा समझदारी जुटाएका थिए । 

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु
 १) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ । 
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ । 
३. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ । 
४) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ । 
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
 ६. प्राप्त उपलब्धीहरुको रक्षा र विकास गर्देै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरमार्फत समाजवादका आधार निर्माण गरिने छ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’