राष्ट्रिय सभा सदस्य सिफारिस: निर्णय उल्टाउने सरकारको तयारी
सुभाष साह
काठमाडौं, ५ फागुन
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका नाम वर्तमान सरकारले उल्टाउने तयारी थालेको छ ।
देउवा सरकारले २७ माघमा राष्ट्रिय सभा सदस्यमा चाँदनी जोशी, गोपालबहादुर बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।
सो सिफारिस राष्ट्रपतिबाट फिर्ता नभए मन्त्रिपरिषद् बैठकबाट अघिल्लो निर्णय फिर्ता लिने निर्णय गरी नयाँ नाम सिफारिस गर्ने तयारीमा सरकार जुटेको छ ।
राष्ट्रिय सभा प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित हुने ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने ३ जना गरी ५९ सदस्यीय हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार निर्वाचन आयोगले राष्ट्रिय सभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ३ जनाको नाम सिफारिस गरेको थियो ।
नेकपा एमालेको स्थायी समिति बैठकले यसअघि नै देउवा सरकारले गरेको सिफारिस फिर्ता लिनुपर्ने निर्णय गरिसकेको छ ।
अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस फिर्ता गर्ने कि नियुक्ति दिने भन्ने विषयमा राष्ट्रपति छलफलमै रहेका बेला सरकारले नयाँ निर्णय गर्ने बताएको हो । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अघिल्लो सरकारको सिफारिस बदर हुन सक्ने बताएका छन् ।
‘राष्ट्रिय सभा सदस्यका लागि अघिल्लो सरकारले गरेको सिफारिस मान्ने कि नमान्ने भन्ने छलफल भइरहेको छ । सो निर्णय बदर गरेर अर्को सिफारिस गर्न सकिन्छ,’ मन्त्री पण्डितले राजधानीसँग भने ।
राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका जोशी महिला विकासका लागि संयुक्त राष्ट्र संघीय कोष (यूएनआईएफईएम) दक्षिण एसिया क्षेत्र पूर्वनिर्देशक र पूर्वप्राध्यापक समेत हुन् । बस्नेत कांग्रेसका पुराना नेता एवं कांग्रेस विभाजित हुँदा उनी झापा जिल्ला अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरेका थिए । यसै गरी, पौडेल कांग्रेस मुख्यसचिव हुन् ।
कामचलाउ हैसियतमा पुगेको देउवा सरकारले लोकतान्त्रिक प्रक्रियाको विरोधमा गर्न नपाउने निर्णयहरू पनि गरेकाले ती सबै निर्णय नमान्ने एमालेले जनाएको छ । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले कामचलाउ भइसकेको सरकारले लोकतन्त्र, राष्ट्र एवं प्रक्रिया विरोधी गरेका निर्णय वर्तमान सरकारले मान्न नहुने बताए ।
एमाले स्थायी कमिटीको बैठकले नै अघिल्लो सरकारले गरेका विभिन्न निर्णयप्रति आपत्ति जनाउँदै त्यसलाई उल्ट्याउने चेतावनी दिइसकेको उनले बताए । एमालेको सो निर्णयअनुसार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली छलफल गरेर ती निर्णय उल्ट्याउने पक्षमा छन् ।
यता, राष्ट्रपति भण्डारी राष्ट्रिय सभा सदस्यका लागि अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयन गर्ने कि फिर्ता पठाउने भन्ने छलफलमा छिन् । देउवा सरकारले सिफारिस गरेपछि राष्ट्रपति कार्यालयमा सो सिफारिस अड्केर बसेको छ ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव जिवछ साहले राष्ट्रिय सभा सदस्यका लागि अघिल्लो सरकारले गरेको निर्णय विषयमा छलफल भइरहेको बताए । सिफारिस प्रमाणीकरण गर्ने कि फिर्ता पठाउने विषयमा छलफल टुंगिनसकेको साहले बताए ।
Comments
Post a Comment