मन्त्रिपरिषद् विस्तारसँगै एकता गृहकार्य प्याकेजमै

सुभाष साह
काठमाडौं, ४ माघ 

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् । एमाले अध्यक्षसमेत रहेका ओली सत्ता साझेदार माओवादी केन्द्रसँग छलफल गरी मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । 
माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका एमाले अध्यक्ष ओलीले दुई पार्टीबीचको एकता प्रक्रियालाई समेत टुंगो लगाउने गरी अघि बढेका छन् । 
सरकार निर्माणपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने पूर्वसहमतिअनुसार मन्त्रिपरिषद् विस्तार, पार्टी एकतालगायतका विषय टुंगो लगाउने आन्तरिक तयारीमा छन् । 
नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले मन्त्रिपरिषद् विस्तारसँगै पार्टी एकताको विषयमा छिट्टै टुंगो लाग्ने बताए । दुई दलबीच छलफल गरेर एक÷दुई दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको मन्त्री पण्डितले बताए । 
‘एक÷दुई दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ, एमाले र माओवादीबीच भइरहेको छलफलअनुसार माओवादी पनि छिट्टै सरकारमा सहभागी हुन्छ,’ पण्डितले भने, ‘मन्त्रिपरिषद् विस्तारसँगै पार्टी एकताको घोषणा पनि चाँडै हुन्छ, छलफल अन्तिम चरणमा पुगेको छ ।’
एमाले र माओवादी केन्द्रबीच मन्त्रिपरिषद् विस्तार, पार्टी एकता लगायतका विषयमा छलफल भइरहेको बताउँदै उनले यी सबै विषयको टुंगो चाँडै लाग्ने बताए । एमाले र माओवादी केन्द्रबीच कुनै किसिमको विवाद नरहेको बताउँदै पण्डितले छलफल सकारात्मक रूपमा अघि बढिरहेको बताए । 
मन्त्रालय भागबन्डा, पार्टी एकतापछिको पदीय जिम्मेवारीलगायतका विषयमा टुंगो नलागेकाले प्याकेजमै सहमति गरेर माओवादी सरकारमा सहभागी हुने जनाएको छ । 
एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्रीको बाँडफाँटका साथै पार्टी एकताको मोडालिटीको टुंगो लाग्न बाँकी छ । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्याकेजमै सहमति गरेर पार्टी सरकारमा सहभागी हुने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै दाहालले प्याकेजमै सहमति हुने गरी छलफल भइरहेको बताउँदै सहमतिसँगै पार्टी सरकारमा सहभागी हुने बताए । 
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका साथै सरकारका विभिन्न जिम्मेवारीको विषयमा छलफल भइरहेको बताउँदै उनले प्याकेजमै सहमति गरेर पार्टी सरकारमा सहभागी हुनेमा शंका नगर्न आग्रह गरे । 
‘माओवादी सरकारमा सहभागी नभएको भन्ने प्रश्न उठिरहेको छ तर शंका गर्नुपर्ने कुनै कारण छैन । सकारात्मक रूपमा छलफल भइरहेको छ,’ उनले भने, ‘पार्टी एकता, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्रलायदेखि विभिन्न राजनीतिक नियुक्तिलगायतका विषयमा प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं ।’ 
मन्त्रालय बाँडफाँट टुंगो नलागेकाले पार्टी सरकारमा सहभागी नभएको बताउँदै उनले भोलि (शनिबार) सम्ममा यी सबै विषयमा प्याकेजमै सहमति गरेर पार्टी सरकारमा सहभागी हुने बताए । 

गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी 

एमाले र नेकपा माओवादी केन्द्रमा दुई दर्जन बढी नेता मन्त्रीका आकांक्षी देखिएका छन् ।  
बढीमा १५ वटा मन्त्रालय रहने सरकारमा सहभागी हुन दुवै पार्टीका प्रभावशाली नेतासहित दुई दर्जन बढी आकांक्षी देखिएपछि मन्त्रिपरिषद् विस्तार पेचिलो बन्ने देखिएको छ । 
एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, नेताहरू रवीन्द्र अधिकारी, रघुवीर महासेठसहित दर्जनभन्दा बढी नेताले मन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् । 
यीमध्ये पोखरेल, भट्टराईसहितका नेतालाई मन्त्री बनाउने आश्वासन निर्वाचनताका नै ओलीले आमसभामै गरिसकेका छन् । पौडेल, ज्ञवाली, विष्ट एउटै प्रदेशका भएकाले यीमध्ये एक मन्त्री हुने निश्चित छन् ।
यसैगरी, माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, कृष्णबहादुर महरा, रामबहादुर थापाले प्रधानमन्त्री पछिको मर्यादा क्रम लिएर सरकारमा सहभागी हुन खोजेका छन् । 
माओवादीकै प्रभु साह, मात्रिका यादव, हितबहादुर तामाङ, अग्नि सापकोटा, देवेन्द्र पौडेल, पम्पा भुसाल, रेखा शर्मा, शशि श्रेष्ठ लगायतका दजर्न बढी नेताहरू मन्त्री बन्ने लबिङमा छन् । 
मन्त्रीका आकांक्षी नेताहरूले नेतृत्वसमक्ष दबाब समेत दिइरहेका छन् । केही नेताले आफूले शक्तिशाली मन्त्रालयसहित मन्त्री बन्न खोजिरहेका छन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’