प्रदेशसभा संसदीय दलको नेता छान्ने सम्बन्धित प्रदेशलाई दिइयो अधिकार, प्रदेशसभा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने




सुभाष साह
काठमाडौं, १६ माघ 

एमालेले प्रदेशसभा संसदीय दलको नेता छान्न सम्बन्धित प्रदेशसभालाई नै अधिकार दिएको छ । सम्बन्धित प्रदेशसभाले ३ सदस्यी निर्वाचन समिति गठन गरी प्रदेशसभा संसदीय दलको नेता छान्ने छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले प्रदेशसभा संसदीय दलको नेता छान्ने अधिकार सम्बन्धित प्रदेशसभालाई दिएको सचिव प्रदिप ज्ञवालीले बताए । 

‘सबै प्रदेशसभाले आ–आफ्नो प्रदेशसभा संसदीय दलको नेता छान्नेछन, सर्वसहमतको प्रयास गर्ने नभए गोप्य मतदानद्वारा निर्णय हुनेछ’ ज्ञवालीले भने, ‘ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित प्रदेशसभा संसदीय दलको बैठकले दल नेताको चयन सम्बन्धी विधि र प्रक्रिया तय गर्नेछ ।’

प्रदेशसभा संसदीय दलको नेता छान्न सोही प्रदेशसभा संसदीय दलको बैठकबाट ३ सदस्यीय निर्वाचन कमिटी गठन गरिने उनले बताए । पहिलो बैठक सो प्रदेशका जेष्ठ सांसदले अध्यक्षता गर्ने निर्णय बैठकले गरेको छ । प्रदेशसभा संसदीय दलको नेताका लागि एक भन्दा बढीको उम्मेदवारी भएमा गोप्य मतदानद्वारा निर्णय गरिनेछ ।  

सातै प्रदेशका प्रदेश प्रमुखहरूबाट प्रदेशसभाहरूको पहिलो बैठक आह्वान भइसकेको छ । प्रदेशसभाको प्रथम बैठक अगावै प्रदेशसभा संसदीय दलको बैठक आयोजना गर्नुपर्ने निर्देशन बैठकले गरेको छ । 

प्रदेशसभामा दल तथा दलका सदस्यहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने अधिकार बैठले दिएको हो । प्रदेश ५ मा प्रदेशसभा संसदीय दलको नेतामा शंकर पोखरेल हुने निर्णय सो प्रदेशसभाले गरिसकेको छ । 

‘प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशहरूमा यही माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भए लगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने छ’ बैठकपछि स्थायी समितिका सदस्य सुवासचन्द्र नेम्वाङले भने । 

दलको नेता वा सभामुखको निर्वाचन लगायत निर्वाचनको सिलसिलामा कुनै पनि प्रकारका अनुचित र अस्वस्थ गतिविधि नगर्ने बैठकले प्रदेशसभालाई निर्देशन समेत दिएको छ । प्रदेशसभा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले एमाले भित्र प्रदेशसभा संसदीय दलको नेता बन्ने आकांक्षी बढी भएका छन् । 
एमाले र माओवादी केन्द्रको वाम गठबन्धन कार्यदलले यस अघि नै ६ वटै प्रदेशको मुख्यमन्त्री, सभामुख एवं उपसभामुखको भागबन्डा गरिसकेको । भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ । 
र यि प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निश्चित रहेको छ । प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्न पाउँनेछैन् । किनभने यि दुई प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाएको छ । 
प्रदेश ५ मा पोखरेल प्रदेशसभा संसदीय दलको नेता भईसकेका छन् । वाकी प्रदेशमा स्थायी कमिटी निर्णय अनुसार छान्न वाकी रहेको छ । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य र पोलिटव्युरो सदस्य शेरधन राईको दाबी रहेको छ । यि दुई मध्ये एक प्रदेशसभा संसदीय दलको नेता बन्नेछन् । 
प्रदेश ३ मा उपाध्यक्ष अष्टलग्मी शाक्य संसदीय दलको नेता बनेर मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको छ । तर प्रदेश ३ मा पोलिटव्युरो सदस्यत्रय राजेन्द्र पाण्डे, पशुपति चौलागाई, अरुण नेपालका साथै काठमडौंका पुर्वमेयर केशव स्थापितले समेत दावी गरिरहेका छन् । 
प्रदेश ४ को प्रदेशसभा संसदीय दलको नेतामा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटीका सदस्य किरण गुरुङले दावी गर्दै आएका छन् । यि दुबै मध्ये एक प्रदेश ४ को मुख्यमन्त्री बन्नेछन् । 

राष्ट्रियसभा निर्वाचन तयारी

राष्ट्रियसभाको निर्वाचनमा मतदाता रहेका निर्वाचक मण्डलका सदस्यहरुलाई निर्वाचन सम्बन्धी प्रक्षिण दिन बैठकले प्रदेश कमिटीलाई निर्देशन दिएको छ । 
राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू मतदाता हुन्छन् । 
एमाले बैठकले पार्टीका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन समेत दिएको छ । 
२१ माघ राती १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले सो अगावै प्रशिक्षणको व्यवस्था मिलाउँनुपर्ने हुन्छ । बैठकले केन्द्रीय निर्वाचन बिभागसंग समन्वय गरी राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदाताहरूलाई अनिवार्य रुपमा मतदान सम्बन्धी तालिम दिनुपर्ने ज्ञवालीले बताए । 
बैठकले राष्ट्रियसभाका लागि तय भएका एमाले र माओवादी केन्द्रका साझा उम्मेदवारहरूलाई विजयी बनाउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचार–प्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतका कार्य गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

सरकारको गलत कार्यको बिरोध

बैठकले काम चालाउँ प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका कार्यहरू गरिरहेको भन्दै पुनः गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
काम चालाउँ प्रधानमन्त्री देउवाले गरेका राष्ट्रिय ढुकुटीको नाङ्गो दुरुपयोग, मनपरी ढंगले गरिएको नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी, अराजकतापूर्ण र जनहीत एवं राष्ट्रहीत विपरितका निर्णयहरूको बैठकले घोर निन्दा एवं भ्रत्सना गरेको छ ।
एमाले लगायतका ताजा जनादेश प्राप्त राजनीतिक दलहरू, सञ्चार जगत र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै काम चलाउ सरकारले मनपरी निर्णय गरिरहेको भन्दै एमालेले कडा आपति जनाएको छ । 

वामगठबन्धनलाई नयाँ युगको जिम्मेवारी ः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताएका छन् । सहिद दिवशका अवसरमा मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै ओलीले समृद्ध राष्ट्र निर्माणको महाअभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान समेत गरेका छन् । 
लोकतान्त्रिक आन्दोलनका ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै ओलीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौं र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँं ।’ 
राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनाहरुलाई सम्बोधन गर्न एमाले र माओवादी केन्द्र गठबन्धनमा आवद्ध भएको उनले जनाएका छन् । 
उखेलिएको राजतन्त्र पुनस्र्थापना गर्ने स्वीकारोक्ति र गलत कार्यले राणा शासनको अन्त्य भए पनि जनचाहना अनुसारको लोकतन्त्र स्थापना गर्न र जनताका हक अधिकारहरु स्थापित गर्न भने विगत सात दशकसम्म नेपाली जनताले  निरन्तर सङ्घर्ष गर्नु परेको ओलीको धारणा छ । 
सहिदहरुको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको संविधानसभाले संविधान जारी गरेर नेपालीहरुलाई अधिकार सम्पन्न बनाएको ओलीले जनाएका छन् । नेपालको राजनीतिक, सामाजिक, न्यायीक अधिकार प्राप्तीका लागि सहिदहरुले गरेको बलिदानीको स्मरण गर्दै ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्नु नै सहिदहरुप्रतिको सच्चा श्रद्धान्जली हुने कुरा व्यक्त गरेका छन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’