प्रदेश २ सरकार निर्माण तयारी, मुख्यमन्त्री फोरम, सभामुख राजपा
सुभाष साह
काठमाडौं, १३ माघ
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको मधेसवादी गठबन्धनले प्रदेश २ मा प्रदेश सरकार निर्माणको तयारीमा जुटेका छन् । प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवारी दिई स्पष्ट बहुमत ल्याएका मधेसवादी गठबन्धनले सिट बाँडफाँट गर्दै सरकार निर्माणको खाँका बनाउँनमा जुटेका छन् ।
मुख्यमन्त्री र सभामुखमा दुबै दलले एक एक जिम्मेवारी लिने गरी सरकार गठन हुने तयारीमा दुबै दलका नेताहरु जुटेका छन् । तर सो सम्बन्धनमा अन्तिम निर्णय गर्न बाँकी नै रहेको छ । दुबै पार्टीका शिर्ष नेताका बीचमा प्रदेश सरकारको खाका बनाउँने बिषयमा तयारी भईरहेको नेताहरुले बताए ।
प्रदेश २ को प्रदेशसभा बैठक २१ माघमा बोलाईएको छ । बैठक बोलाएसंगै नेताहरु सरका गठनको आन्तरिक तयारीमा जुटेका छन् । प्रदेशसभाको बैठकसंगै सरकार निर्माणको प्रक्रिया पनि शुरु भएकाले सोको अग्रिम तयारीमा नेताहरु जुटेका छन् ।
राजपा नेपालका महासचिव अजय गुप्ताले दुबै दलका नेताका बीचमा प्रदेश सरकार बनाउँने बिषयमा छलफल शुरुभएको बताए । सरकार निर्माणका लागि आवश्यक गृहकार्य शुरु भएको बताउँदै गुप्ताले दुबै दलको आपसी सहमती एवं सहकार्यमै सरकार निर्माण हुने बताए ।
‘हामीले साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागि भयौ, अब आपसी सहमती एवं सहकार्यमै प्रदेश सरकार निर्माण गर्न आवश्यक गृहकार्य शुरु गरेका छौं’ गुप्ताले राजधानीसंग भने, ‘मुख्यमन्त्री, सभामुख ठुल्लो कुरा नभई हाम्रा लागि प्रदेश २ लाई कसरी समृद्ध एवं सम्पन्न बनाउँने र संबिधान संशोधन गराउँने बिषय नै मुख्य कुरा रहेको छ ।’
संबिधान संशोधनका लागि आवश्यक दबाब सृजना गर्नुका साथै मधेसवादी गठबन्धनको काँधमा प्रदेश २ लाई समृद्ध एवं सम्पन्न बनाउँने जिम्मेवारी आएको उनले बताए । मधेसवादी गठबन्धनको अबको मुख्य कार्यभार नै संबिधान संशोधन र समृद्ध प्रदेश निर्माण रहेको गुप्ताले बताए ।
संविधानमा व्यवस्था भए अनुसार प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने छ । निर्वाचन आयोगले ३ माघमा नै प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिसकेको छ ।
प्रदेश २ मा एक सय सात सांसद संख्या रहेको छ । जसमा फोरम नेपालले २९ र राजपा नेपालले २५ सिट जितेको छ । दुबै पार्टीको सिट संख्या मिलाउँदा स्पष्ट बहुमत सहितको सरकार निर्माणका लागि पुगेको छ । सरकार निर्माणका लागि स्पष्ट बहुमत आएसंगै दुबै दलका नेताहरु जिम्मेवारी बाँडफाँटको तयारीमा जुटेका छन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवले मधेसवादी गठबन्धनमा रहेका दुबै दलले पाएको सिट संख्याकै आधारमा जिम्मेवारी भागबन्डा हुने बताए । फोरमले मुख्यमन्त्री र राजपा नेपालले सभामुख पाउँने गरी भागबन्डा हुने उनले बताए ।
‘दुबै दलले निर्वाचन ताका साझा उम्मेदवारी दिदा नै एक किसिमको सहमती भएको छ, ठुलो हुने दलले मुख्यमन्त्री र साना दलले सभामुख पाउँने सहमती भएको छ’ महासचिव यादवले भने, ‘त्यो लिखित नभए पनि नेताहरुका बीचमा मौखिक सहमती भएको छ, सोही अनुसार जिम्मेवारी बाँडफाँट हुन्छ ।’
ताजा जनादेश अनुसार फोरम र राजपा नेपालले सहमतीमै प्रदेश २ मा सरकार गठन गर्ने उनले बताए । साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागि भएको बताउँदै उनले दुबै दलको सहमतीमै सरकार निर्माण गर्ने बताए ।
राजपा नेपालका सचिव उपेन्द्र महतोले प्रदेश सरकार निर्माणका बिषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताए । यधपी प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सुनिश्चित रहेको उनले बताए ।
प्रदेश सभामा स्पष्ट बहुमत ल्याउँने संसदीय दलका नेता नै मुख्यमन्त्री हुनेछन् । तर प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
फोरम नेपालका राजनीतिक समिति सदस्य प्रमोद गुप्ताले संसदीय दलको नेता बन्ने नै मुख्यमन्त्री हुने बताए । प्रदेश २ को संसदीय दलको नेता बन्ने फोरमका नेता मुख्यमन्त्री बन्ने र मन्त्रीपरिषद बिस्तार गरिने बताए ।
Comments
Post a Comment