राजपा पदाधिकारी बैठक, निर्वाचनमा सहभागी हुन दबाब
त्रिपाठी, शुक्ला, गुप्ताद्वारा बैठक बहिष्कार
सुभाष साह,
काठमाडौं, १८ साउन
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पदाधिकारीहरूले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिएका छन् । निर्वाचन बिथोल्न सक्ने परिस्थित नरहेकाले सहभागी नहुँदा पार्टी जनताबाट टाढिने उनीहरूको भनाइ छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बुधबारदेखि सुरु भएको पदाधिकारी बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेताहरूले स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने धारणा राखेका हुन् ।
बैठकमा संविधान संशोधन र सरकारले गर्नुपर्ने माग अझै पूरा नभएकाले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने संयोजक महन्थ ठाकुरको राजनीतिक प्रतिवेदनमाथि असहमति राख्दै अधिकांश पदाधिकारीले निर्वाचनलाई आन्दोलकै रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका हुन् ।
राजपा नेपालका महासचिव केशव झाले पदाधिकारी बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएको जानकारी दिए । निर्वाचनमा सहभागी नहुँदा पार्टी कमजोर हुने उनीहरूको भनाइ छ ।
‘सरकारले गर्नुपर्ने माग पूरा गरेर संशोधन विधेयक निर्णयार्थ प्रस्तुत भए त्यसलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्छ,’ झाले राजधानीसँग भने, ‘मैले बैठकमा यही कुरा राखेको छु, अधिकांश नेताहरूको धारणा पनि यस्तै छ ।’ निर्वाचनमा पार्टी सहभागी नभएपछि पार्टी नै कमजोर हुने कारणले निर्वाचनमा सहभागी भएर आफ्नो मुद्दा उठाउनुपर्ने धारणा पदाधिकारीहरूले राखेका छन् । महामन्त्री जंगीलाल राय, सुरेन्द्र पटेल, श्रीमन नारायणलगायतका नेताहरूले निर्वाचनको पक्षमा आफ्नो धारणा राखेका छन् । यसैगरी अर्का महामन्त्री कौशलेन्द्र मिश्र, सन्तोष मेहतालगायतका नेताहरूले आन्दोलनको मुख्य एजेन्डा संविधान संशोधन भएको र सो माग पूरा अझै नभएकाले आन्दोलनको विकल्प नरहेको बताए । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्नुपर्ने धारणा बैठकमा राखेका छन् ।
बैठक जारी रहेकाले सबै नेताले आफ्नो धारणा राखेपछि निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने निर्णय पुगिने महासचिव अजय गुप्ताले बताए ।
बैठकमा पार्टी संयोजक ठाकुरले राजनीतिक प्रतिवेदन, पार्टीको विधान र घोषणापत्र प्रस्तुत गरेको राजपा महासचिव जितेन्द्र सिंहले बताए । सत्तारूढ दलले माग पूरा गर्ने भन्ने तर सरकारबाट पुरा हुने मागसमेत अहिलेसम्म पूरा नभएको ठाकुरले उल्लेख गरेका छन् ।
पदाधिकारी बैठकले राजनीतिक प्रतिवेदन, विधान, घोषणापत्र पारित गर्दै केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेछ ।
त्रिपाठी, शुक्ला, गुप्ताद्वारा बैठक बहिष्कार
पदाधिकारी बैठक चलिरहँदा बैठकको माग गर्ने नेताहरूले नै बैठक बहिष्कार गरेका छन् । सहअध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ला, महासचिव एवं संसदीय दलका उपनेता वृजेश गुप्तालगायतका नेताहरूले पदाधिकारी बैठक बहिष्कार गरेका हुन् । महासचिव गुप्ताले पार्टीमा अध्यक्ष मण्डलबाहेक अरू पदाधिकारी नभएको र आफूहरू केन्द्रीय सदस्य भएकाले पदाधिकारी बैठकमा नगएको बताए । काठमाडौंमै रहेका गुप्ताले पार्टीको केन्द्रीय सदस्य भएकाले केन्द्रीय कमिटी बैठकमा जाने बताए ।
‘म कुनै पदमै छैन । केन्द्रीय सदस्य मात्रै हो । केन्द्रीय कमिटीको बैठक पार्टीले बोलाएको छ, त्यसमा जान्छु,’ गुप्ताले राजधानीसँग भने, ‘पदाधिकारी नभएकाले पदाधिकारी बैठकमा गइएन, पार्टीमा अध्यक्ष मण्डलबाहेक अरू कुनै पदाधिकारी नभई सबै केन्द्रीय सदस्य मात्रै छौं ।’
त्रिपाठी, शुक्ला, गुप्ता लगायतका नेताहरूले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष मण्डलले पदाधिकारी एवं केन्द्रीय कमिटीको बैठक बोलाएको हो । पदाधिकारी बैठक सकिएपछि २२ साउनदेखि केन्द्रीय कमिटीको बैठक बस्नेछ ।
यसैबीच पदाधिकारीको पहिलो बैठकमा नै नेताहरूबीच मर्यादाक्रमको विवाद भएको छ । महामन्त्री, सहमहामन्त्री, महासचिव, सहमहासचिवलगायतका नेता अध्यक्ष मण्डलका सदस्य रहेकै रोमा बसेका थिए भने सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायतका नेता पछिल्लो रोमा बसेका थिए । यही विषयलाई लिएर होहल्ला भएपछि केहीबेर बैठक नै अवरुद्ध भएको थियो ।
कार्यालय उद्घाटन
विभिन्न ६ मधेसवादी पार्टी मिलेर बनेको राजपा नेपालको पार्टी कार्यालय उद्घाटन भएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुर, नेताहरू राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरूले झन्डोत्तोलन गरेर एवं रिबन काटेर पार्टी कार्यालय उदघाटन गरेका हुन् ।
पार्टी एकीकरणपश्चात् तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयबाटै राजपा सञ्चालन भइरहेको थियो । मधेसी कर्मचारीको बबरमहलस्थित मधेस भवनबाट अब राजपा नेपालको केन्द्रीय कार्यालय सञ्चालन हुनेछ ।
Comments
Post a Comment