संसदबाट राजिनामा दिएर मधेस आन्दोलन पुनः चकाउँने रणनीतिमा राजपा

सुभाष साह
काठमाडौं, ११ साउन

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसदले व्यवस्थापिका संसदबाट सामुहिक राजिनामा दिएर मधेस आन्दोलन पुनः चर्काउँने रणनीतिमा लागेका छन् । 

काठमाडौंमा बुधबार भएको राजपा नेपालका सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुको बैठकले सांसद पदबाट राजिनामा दिएर पुनः मधेस आन्दोलन चर्काउनुपर्ने बिषयमा छलफल गरेको छ । 

राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले पार्टीको केन्द्रीय कमिटी बैठकमा सांसद पदबाट राजिनामा दिने प्रस्ताव पारित गराउँने दाबी गरेका छन् । राजपा नेपालले १८, १९ र २० साउनमा पदाधिकारी बैठक र २१, २२ २३ साउनमा केन्द्रीय कमिटी बैठक काठमाडौंमा बोलाएको छ । 

‘हामीले हाम्रो माग पुरा गर्ने सहमतीमा सरकारलाई समर्थन दिएका हौं, तर सरकारले सहमती कार्यान्वयन गर्नेमा ईमन्दारिता देखाएन्’ मण्डलले राजधानीसंग भने, ‘सरकारले गर्नुपर्ने काम पनि भएन र संसदबाट हुने संबिधान संशोधन पनि नभएको अवस्थामा संसदमा बसिरहनुको कुनै अर्थ छैन् ।’

सत्तारुढ दल काँग्रेस र माओबादी केन्द्रले बिगतमा गरेको सहमती कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै पदाधिकारी बैठकले पार्टीको औपचारिक बैठकमै राजिनामा प्रस्ताव पेश गरेर पारित गर्दै आन्दोलनमा जानुको बिकल्प नभएको निष्कर्ष निकालेको छ । 

सरकारले गर्नुपर्ने निर्णय नगरेको अवस्थामा तेस्रो चरणको निर्वाचन पश्चात संसदबाट राजिनामा दिएर आन्दोलन चर्काउँनुपर्ने तयारी राजपा नेताहरुले गरेका छन् । 

केही समय अघि काठमाडौंको एक कार्यक्रममा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले संसदबाट राजिनामा दिएर आन्दोलनमा जाने बताएका थिए । यादव निकटकै मण्डलले अब यो प्रस्ताव पार्टीको बैठकमै लगेर छलफल गर्ने र यसलाई पारित पनि गर्ने दाबी गरेका छन् । 

सरकारको तर्फबाट हुने निर्णयमा ढिलाई भएकाले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा समेत सहभागि नहुने राजपाले जनाएको छ । तर संबिधान संशोधन बाहेका माग पुरा भए राजपा तेस्रो चरणको निर्वाचनलाई उपयोग गर्ने तयारीमा रहेको एक नेताले बताएका छन् । 

राजपा नेपालका उपाध्यक्ष नरसिंह चौधरीले पार्टी यथास्थितिमा निर्वाचनमा सहभागि नहुने बताएका छन् । बिगतमा भएको सहमती कार्यान्वयन नभएकाले पार्टी तेस्रो चरणको निर्वाचन समेत बहिष्कार गर्नुपर्ने बताएका छन् ।

‘सरकारको तर्फबाट हुने काम भए पार्टीले त्यसमा पुन बिचार गरेर निर्वाचनमा सहभागि हुनसक्छ’ चौधरीले भने, ‘तर हाम्रो कुनै पनि मागै पुरा नभए यथास्थितिमै निर्वाचनमा सहभागि हुदैनौं ।’

सहअध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुको बैठकले पार्टीको पदाधिकारी बैठक र केन्द्रीय कमिटी बैठक मधेसमा गर्नुपर्ने माग पनि गरेका छन् । राजपा अध्यक्ष मण्डलले बैठक काठमाडौंमा बोलाएपछि पदाधिकारी छलफलमा बैठक बीरगंजमा गर्नुपर्ने माग उठेको छ । 

यसअघि भएको महासचिव, सहमहासचिव, सचिव, प्रवक्ताको बैठकले पनि पार्टीको बैठक मधेसमा गर्नुपर्ने माग गरेको थियो । र सरकारको तर्फबाट हुनुपर्ने काम सरकारले गरे तेस्रो चरणको निर्वाचनमा सहभागि हुनुपर्ने माग पनि उठेको छ । 

राजपा नेपालमा हाल केन्द्रीय पदाधिकारी १ सय ३४ रहेका छन् भने, केन्द्रीय सदस्य ८ सय १५ जना रहेका छन् । पार्टी सञ्चालन, महत्वपुर्ण निर्णय लगायतका बिषयमा राजपा भित्र बिबाद भएपछि अध्यक्ष मण्डलले पदाधिकारी र केन्द्रीय कमिटीको बैठक बोलाएर निकास खोज्ने प्रयास थालेको हो । 

राजपा नेपालका सहअध्यक्ष हृदयेश त्रिपाठी, संसदीय दलका नेता बृजेश गुप्ता, सर्वेन्द्रनाथ शुक्ला लगायतका नेताहरुले गत १ साउनमा भैरहवामा भेला गरेर पार्टी निर्वाचन आयोगमा दर्ता गर्दा बिधान, घोषणापत्र लगायतका बिषयमा छलफल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष मण्डलले केन्द्रीय कमिटीको बैठक बोलाउँने निर्णय गरेको हो । 
पदाधिकारी बैठक र केन्द्रीय कमिटी बैठकमा पार्टीको बिधान, घोषणापत्र, आर्थिक नियमावली, निर्देशिका लगायतका बिषयमा पनि बिस्तृत छलफल गर्न हुने एजेण्डा तय भएको छ । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’