जनप्रतिनिधि पार्टीको कार्यकारी भूमिकाबाट हट्ने
सुभाष साह,
काठमाडौं, १८ साउन
एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकाबाट हटाउने भएको छ । दोहोरो भूमिकामा रहँदा पार्टी काम र जनताको काम दुवै प्रभावकारी रूपमा सम्पादन हुन नसक्ने निष्कर्षसहित एमालेले जनप्रतिनिधिलाई स्थानीय तहमा नै केन्द्रित गर्न लागेको हो ।
पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार भई विजयी भएकालाई पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त गर्ने एमालेको तयारी छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिको संयोजक र सहसंयोजकमा रहनेलाई पार्टी कमिटिको कार्यकारी भूमिकाबाट हटाउने विषयमा शीर्ष नेतृत्व सहमत भए पनि औपचारिक निर्णय भने भइसकेको छैन । आगामी स्थायी कमिटीको बैठकबाट निर्णय हुने नेताहरूको भनाइ छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष निर्वाचित भइसकेका र पार्टीको समेत कार्यकारी जिम्मेवारीमा रहेका नेतालाई एउटा जिम्मेवारीमा रहने गरी अर्कोबाट मुक्त गर्ने तयारी पार्टीले गरिरहेको बताए ।
‘पार्टीका जिल्ला अध्यक्ष वा कार्यकारी पदमा रहेका कतिपय कमरेडहरू स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । जननिर्वाचित प्रतिनिधि भएकाले स्थानीय तह र पार्टी दुवैतर्फ काम गर्न असजिलो हुन्छ,’ ज्ञवालीले राजधानीसँग भने, ‘स्थानीय तहलाई राम्रोसँग सञ्चालन गरी जनताको काम पूरा गर्नुपर्ने भएकाले उतै बढी समय दिनुपर्ने हुन्छ । त्यस्तो बेला पार्टीको काम गर्न नभ्याउने भएकाले एउटा जिम्मेवारी राम्रोसँग पूरा गर्न पार्टीले छलफल गरिरहेको छ ।’
कतिपय जिल्लाका पार्टी अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिवसहित कार्यकारी पदमा रहेका जिम्मेवार नेताहरू स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षका साथै जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखमै निर्वाचित भएपछि पार्टीले दोहोरो जिम्मेवारीबाट मुक्त गर्न लागेको हो ।
पार्टी स्थायी कमिटीमा यो विषय प्रवेश पाए पनि निर्णय हुन बाँकी नै रहेको छ । छलफलका क्रममा रहेको दोहोरो जिम्मेवारीबाट मुक्त गर्नुपर्ने विषयमा अधिकांश नेताले अरू नेतालाई जिम्मेवारी दिने र दोहोरो पदबाट मुक्त गर्नुपर्ने धारणा राखेका छन् ।
वडा अध्यक्ष तथा सदस्य र जिल्ला कमिटीका सदस्यहरूको हकमा भने तत्काललाई दुवै भूमिका दिनुपर्ने नेताहरूको मत छ । एमाले जिल्ला कमिटीका दुई दर्जनभन्दा बढी पदाधिकारी स्थानीय तहको निर्वाचनमा सहभागी भएका थिए । १८ जिल्लाका अध्यक्ष नै उम्मेदवार भएका थिए । त्यसमध्ये नौजना विजयी पनि भएका छन् ।
सुनसरी, भोजपुर, ओखलढुंगा, दोलखा, काभ्रेपलाञ्चोक, गुल्मी, रूपन्देही, सल्यान र बाजुराका जिल्ला अध्यक्ष स्थानीय तहमा निर्वाचित भएका छन् । यीमध्ये सुनसरीका जिल्ला अध्यक्ष द्वारिकालाल चौधरीले पदबाट राजीनामा दिइसकेका छन् । ललितपुर, मोरङलगायतका जिल्ला अध्यक्ष भने पराजित भएका छन् ।
प्रदेश २ को स्थानीय तह निर्वाचन, प्रदेशसभा, प्रतिनिधिसभालगायतका निर्वाचन बाँकी रहेको र वडा अध्यक्ष, सदस्यजस्तो दोहोरो भूमिकामा रहेका जिल्लास्तरीय नेताहरूलाई के गर्नेलगायतका बिषयमा गहन रूपमा छलफल भइरहेको बताउँदै सचिव ज्ञवालीले पार्टीले यस विषयमा छिटै निर्णय गर्ने बताए । पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको र भदौ मसान्तभित्र हुने जिल्ला अधिवेशनसम्मलाई निर्वाचित प्रतिनिधिलाई दोहोरो भूमिकामै रहन पार्टीले नै छुट दिनेछ । तर जिल्ला अधिवेशन भदौ मसान्तपश्चात् हुने जिल्लाका जिम्मेवार नेतालाई पार्टीको जिम्मेवारीबाट राजीनामा दिलाउने तयारी एमालेको छ ।
Comments
Post a Comment