माओबादी अध्यक्ष दाहालकै सहमतीमा ‘समग्र मधेस एक स्वायत प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेण्डा

सुभाष साह,
काठमाडौं, १२ साउन

सत्तारुढ दल नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सहमतीमै ‘समग्र मधेस एक स्वायत प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेण्डा उठाएको माओबादीका नेताहरुले बताएका छन् । 

समग्र मधेस एक स्वायत प्रदेश र बहुराष्ट्रियताको एजेण्डा संबिधान संशोधन गरेर पुरा गर्नुपर्ने अभियानमा माओबादी केन्द्रका नेता जुटेका छन् । माओबादी केन्द्रका साथै यि एजेण्डामा मधेसबादी पार्टीको समेत सहयोग छ । 

माओबादी केन्द्रका नेता भरत साहले पार्टी अध्यक्ष दाहालको सहमतीमै यो एजेण्डा उठाएको बताएका छन् । माओबादी जनयुद्धकालकै मुद्धा भएकाले यो एजेण्डालाई आफुहरुले छोडन नसक्ने साहले बताए । 

‘यो एजेण्डा जनयुद्धकालकै एजेण्डा हो, नयाँ होईन्’ साहले राजधानीसंग भने, ‘पार्टीकै एजेण्डा भएकाले यसमा कसैको बिरोधको कुरै आउँदैन्, पार्टीको एजेण्डा पुरा गर्ने काममै हामी खटेका छौं ।’

तर माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले समग्र मधेस एक स्वायत प्रदेश पार्टीको एजेण्डा नभएकाले यसको पछाडी नलाग्न आग्रह गरेका छन् । माओबादीकै नेताहरुले यो एजेण्डा संबिधान संशोधन गरेर पुरा गर्नुपर्ने आवाज उठाएपछि श्रेष्ठले समाजिक सञ्जालमा यसको पछि नलाग्न आग्रह गरेका थिए । 

तर यो एजेण्डा उठाएपछि माओबादीकै नेताहरुले श्रेष्ठजीको व्यक्तिगत भनाई मात्रै बाहिर आएको र आफुहरुले उठाएको एजेण्डा पार्टीको जनयुद्धकालिन मुद्धा भएको बताएका छन् । पार्टीकै मुद्धा भएकाले पुरा गर्नुपर्ने अभियान थालेको बताउँदै साहले यदी पार्टी हितविपरित काम गरेको भए पार्टीले कारवाही गर्थो श्रेष्ठजीको व्यक्तिगत कुराको पछाडी लाग्नुको काम नभएको बताए । 

माओबादी नेता एवं संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजक गोपाल ठाकुरले आफुहरुले उठाएको एजेण्डा माओबादीले जनयुद्धकालमै उठाएको बताएका छन् । मातृका यादव नेतृत्वको नेकपा माओबादीसंग पार्टी एकिकरण हुँदा १३ बुँदे सम्झौता सबैले स्वीकारेको उनले बताए । 
मधेस आन्दोलनका मुद्धा सम्बोधन गर्नुपर्ने र आन्तरिक औपनिबेशिकको अन्त्य गर्दै सम्पुर्ण उत्पीडित मधेसी, जनजाती आदीबासी लगायतको अधिकार संबिधान संशोधन गरेर पुरा गर्नुपर्ने ठाकुरले बताए । 

आफुहरुले उठाएको एजेण्डा पार्टीकै एजेण्डा भएको र यसमा अन्य पार्टीको समेत सहयोग समर्थन रहेकाले यसलाई संशोधन मार्फत संबैधानिक व्यवस्था गराउँनका लागि अभियानको शुरुवात गरेको उनले बताए । 

माओबादीकै नेतृत्वमा गत शनिबार काठमाडौंमा एक भेलाको आयोजना गरी ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ । माओवादी केन्द्रको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चा र संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको संयुक्त आयोजनामा भएको सोही भेलाबाट यो संगठनको गठन हो । 

नवगठित एसेम्बलीले यि मुद्धा पुरा गराउँनका लागि मधेसमा अभियान सञ्चालन गर्ने जनाएको छ । संशोधन मार्फत माग पुरा नभए मधेसका गाउँ गाउँमा राजनीतिक प्रशिक्षण चलाउँने र पुन आन्दोलनको आवश्यक्ता भए आन्दोलन पनि गर्ने उदेश्यले नेताहरु अभियानमा जुटेका छन् । 

यो अभियानमा माओबादी केन्द्रका नेता मातृका यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नयाँ शक्ति पार्टी नेपालका नेता डा. रामकेवल साहलगायतका नेता जुटेका छन् । 

एक हप्ता अघि भएको भेलामा माओबादी केन्द्रका नेता एवं सांसद सत्यनारायण भगत, राजपा नेता हृदयेश त्रिपाठी, भरतबिमल यादव लगायतको सहभागिता थियो । 

नेपाल सदभावना पार्टी (गजेन्द्रबादी) का अध्यक्ष बिकास तिवारीले मधेसबादी दलहरुले केही समय उठाएर यि एजेण्डा छोडेर मधेसी जनतालाई धोखा दिएकाले आफुहरु सक्रिय भएको बताए । 

यही एजेण्डा मधेसी जनअधिकार फोरम मधेसले अहिले पनि उठाउँदै आएको छ । फोरम मधेसका संयोजक भाग्यनाथ गुप्ता भएपनि उनी नवगठित एसेम्बलीमा आबद्ध छैनन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’