मतदाता नामावलीमा नाम दर्ता गर्ने समय बढाउँनुपर्ने दलहरुको आयोगसंग माग
सुभाष साह,
काठमाडौं, २ साउन
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि तोकेको मतदाता नामावलीमा नाम दर्ता गर्ने समय बढाउँनुपर्ने माग प्रमुख दलहरुले गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले सोमबार आयोगको कार्यालयमै पुगेरै मतदाता नामावलीमा नाम दर्ता समय गर्नुपर्ने समय बढाउँनुपर्ने माग गरेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका छन् ।
‘निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्ने’ एमालेले आयोगलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
एमालेले आयोगद्धारा भईरहेको मतदाता नामावली संकल कार्य सदरमुकाम केन्द्रीत भएकाले त्यसलाई गाउँपालिकाको वडा स्तरबाटै गर्नुपर्ने सुझाव समेत दिएको छ । १५ दिनको समय प्रयाप्त नभएकाले यसलाई एक महिना सम्म बढाउँनुपर्ने सुझाव एमालेको रहेको छ ।
नेपालको संविधानमा रहेको व्यवस्था बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन ७ माघ २०७४ भित्रैमा अनिवार्य रुपमा सम्पन्न गर्नुपर्नेमा आयोगको सम्पुर्ण ध्यान निर्वाचनमा केन्द्रीत भई निरन्तर पहल तथा प्रयासका लागि एमालेले ध्यानाकर्ष गराएको नेम्वाङले जनाएका छन् ।
यस्तै एमालेले निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक पहल गर्नुपर्ने माग पनि आयोगसंग गरेको छ ।
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहलतर्फ एमालेको ध्यानाकर्षण भएको जनाउँदै यसलाई अझ कडाइका साथ निरन्तरता दिनुपर्ने एमालेले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेका साथै सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजबादी फोरम नेपाल समेतले मतदाता नामावलीमा नाम दर्ता गनुपर्ने समय बढाउँनुपर्ने माग आयोगसंग गरेका छन् ।
काँग्रेस नेता रामहरी खतिवडाले १५ दिनले नपुग्ने भन्दै यसलाई बढाएर एक महिना सम्म समय बढाउँनुपर्ने बताएका छन् ।
साथै स्थानीय तहमै पुगेर आयोगले नेपाली जनताको नाम मतदाता नामावलीमा दर्ता गर्नुपर्ने, बिदेशमा रहेका नेपालीको समेत नाम दर्ता गर्ने व्यवस्था मिलाउँनुपर्ने र नेपालभित्रै जो जहाँ छ त्यहीबाट आफ्नो नाम मतदाता नामावलीमा समाबेश गराउँने व्यवस्था गर्नुपर्ने काँग्रेसले माग गरेको छ ।
माओबादीकी प्रवक्ता पम्पा भुषालले पनि १५ दिन अझै समय थप्नुपर्ने सुझाव आयोगलाई दिएकी छन् । कम समय भएको, अहिले धान रापाईको समय रहेको र काम बिशेषले धेरै मान्छे बाहिर रहेकाले यसलाई समय बढाएर मतदाता नामावली संकलन गर्दा राम्रो हुने उनले बताईन् ।
राजपा नेपालका वरिष्ठ उपाध्यक्ष रामनरेश रायले आयोगले दिएको समय थोरै भएकाले समय थप्नुपर्ने बताएका छन् । १५ दिनले नपुग्ने भएकाले यसमा अझै १५ दिन थपेर आयोगले स्थानीय तहको वडा स्तरबाटै जनतालाई सहज र सुलभ हुनेगरी मतदाता नामावली संकलन गर्नुपर्ने उनले बताए ।
फोरम नेपालका महासचिव रामसहाय यादवले निर्वाचन प्रयोजनका लागि भईरहेको मतदाता नामावली संकलन कार्य सदरमुकाम केन्द्रीत भएकाले स्थानीय तहको वडा स्तरबाटै संकलन गर्नुपर्ने सुझाव दिएका छन् ।
साथै समयसिमा बढाएर एक महिना सम्म नामावली संकलन गर्नुपर्ने, बिदेशमा रहेका नेपालीको पनि नामावली समाबेश हुने गरी व्यवस्था गर्नुपर्ने सुझाव यादवले दिएका छन् । लोकतान्त्रिक फोरम नेपालका केन्द्रीय सदस्य बेद गच्छदारले पनि समय बढाउँनुपर्ने बताएका छन् ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरुका लागि १ साउन देखि १५ दिनसम्म दर्ताको समय तोकेर नामावली संकलन गरिरहेको छ ।
प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका भन्दै १ साउन देखि १५ साउनसम्म मतदाता नामावलीमा नाम दर्ताका लागि १५ दिनको समय तोकेपछि दलहरुले समयसिमा बढाउँनुपर्ने सुझाव दिएका हुन् ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निकट भविश्यमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि नाम दर्ताको समय दिइएको बताए ।
‘संविधान अनुसार ७ माघ भित्रै प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्छ, सोही प्रयोजनका लागि नाम दर्ता गर्न छुटेकाहरुलाई समय उपलव्ध गराइएको हो,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।
उनका अनुसार सो समय भित्र दर्ता गराइएको नाम प्रदेश २ मा हुन बाँकी स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रयोजनका लागि भने हुने छैन ।
आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पहिले नामावलीमा नाम दर्ता गर्न छुट भएको भए मात्र दर्ता गर्न भनेको हो । यसरी नामावली दर्ता गर्न मतदाता आफु बसेको वा कार्यरत रहेको स्थानबाट पहिले जस्तो नाम दर्ता गर्न भने पाइने छैन । आयोगको यस्तो नियम प्रति दलहरुले कडा आपती जनाउँदै सच्याउँन आग्रह गरेका छन् ।
आयोगले तोकेको १५ साउनको समय सिमा भित्र नामावली दर्ता गर्नका लागि मतदाता आफ्नो गृह जिल्लामा नै पुग्नु पर्ने हुन्छ । मतदाताले नाम दर्ताका लागि सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमै जानु पर्नेछ ।
नाम दर्ताका लागि जाँदा मतदाताले जिल्ला प्रसासन कार्यालयबाट जारी भएको नागरिकताको प्रमाणपत्र सँगै लिएर जानु पर्ने छ । साथै बसाइ सरेको भए सो को पनि प्रमाण लिएर निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्नेछ ।
Comments
Post a Comment