प्रदेश २ निर्वाचन, अलमलमा राजपा

सुभाष साह,
काठमाडौं, ३१ असार

प्रदेश–२ मा आगामी २ असोजमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई सदुपयोग गर्ने कि बहिष्कार गर्ने विषयमा राजपा नेपाल कुनै निर्णयमा पुग्न सकेको छैन । 
राजपा नेपालको आधार क्षेत्र मानिएको सो प्रदेशमा प्रमुख तीन दलसहित संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसमेतका दलले निर्वाचन केन्द्रित अभियान थालिसक्दा पनि राजपा नेपाल भने अलमलमै देखिन्छ । 

राजपा नेपालले संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा वृद्धि गर्नुपर्नेलगायत माग गर्दै पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको थियो । तेस्रो चरणको निर्वाचनमा सहभागी हुन राजपामाथि चर्काे दबाब छ । 

तर, संसद्बाट तत्काल संविधान संशोधन नहुने पक्कापक्की भएकाले राजपा नेताहरू निर्वाचनमा के एजेन्डा लिएर जाने भनेर अलमलमा परेका हुन् । 
आन्दोलनरत राजपा नेपालसँग अहिले आन्दोलनका कार्यक्रम पनि केही छैनन् । प्रदेश–२ मा उसका कार्यक्रम अहिले शून्य अवस्थामा छन् । 

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुन तयार रहेको बताएका छन् । संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास ठाकुरले व्यक्त गरेका छन् । 

राजपा नेपाल पर्साले शनिबार जिल्लाको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ताको सम्झौता सरकारले कार्यान्वयन  गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा ठाकुरको रहेको छ ।  

संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पूरा गरे राजपा नेपाल स्थानीय तहको निर्वाचनमा सहभागी हुनसक्ने ठाकुरको भनाइ छ । 
यता राजपा नेपालका वरिष्ठ उपाध्यक्ष रामनरेश रायले पार्टीसँग सत्तारूढ दलले गरेको सहमति कार्यान्वयन नभएको अवस्थामा निर्वाचनमा सहभागी हुनुको कुनै अर्थ नरहेको बताए । संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा बढाउने, मुद्दा फिर्ता, क्षतिपूर्तिलगायत माग पूरा गर्ने सहमति सत्तारूढ दलले गरे पनि पूरा नगरेका कारण राजपा नेपाल निर्वाचनमा सहभागी नहुने रायले बताए । 

‘पूरा गर्नै नसक्ने मुद्दाका विषयमा सत्तारूढ दलले किन सम्झौता गर्छन् ? सम्झौता गरेका मुद्दा सम्बोधन गर्नुप¥यो होइन भने गर्नै नसक्ने सम्झौता नै गर्नुभएन,’ रायले राजधानीसँग भने, ‘केही मुद्दा संसद्बाट पूरा हुने खालका छन् भने केही सरकारले नै गर्ने विषय छन्, तर सरकारले गर्ने काम पनि भएको छैन ।’ 

राजपा नेपाल आफ्ना माग पूरा गराउन सत्तारूढ दलका साथै प्रतिपक्षी दलसँग छलफलमा छ । तर उपलब्धि केही भएको छैन । 
विगतमा भएको सहमति एवं सम्झौता कार्यान्वयनका लागि राजपा नेपालले सत्तारूढ दललाई दबाब दिए पनि संसद्को अंकगणितले उसको माग पूरा नहुने देखिन्छ । 

राजपा नेपालले निर्वाचनमा सहभागी नभएको अवस्थामा संविधानअनुसार गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखले पाउने सेवासुविधा एवं अधिकार उसले पाउनेछैन । किनभने राजपा निर्वाचनमा सहभागी नभए निर्वाचन जित्ने तहमा उसको प्रतिनिधित्व रहने छैन ।
संविधानमा भएको व्यवस्था अनुसार गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुखले राष्ट्रप्रमुख, उपप्रमुख एवं राष्ट्रिय सभाका सदस्यलाई मताधिकार दिने व्यवस्था रहेको छ । साथै जिल्ला समन्वय समितिमा समेत राजपा नेपालको सहभागिता शून्य भएर अधिकारविहीन अवस्थामा पुग्नेछ । 
राजपा नेपालले पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गर्ने निर्णय गरे पनि स्थानीय नेताले पार्टीको निर्णय उल्लंघन गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । दोस्रो चरणको निर्वाचनमा आफ्नै स्थानीय नेताले उम्मेदवारी दिएर निर्वाचन जितेकाले राजपा नेताहरू अहिले अप्ठेरोमा परेका हुन् । 
आफ्नै पार्टीका स्थानीय नेता निर्वाचनमा सहभागी भएपछि राजपा नेपालका केन्द्रीय नेतालाई पनि निर्वाचनमा सहभागी हुनुपर्ने दबाब परेको छ । तर माग पूरा नभएको, ६ पार्टी मिलेर राजपा बनेपछि कसलाई टिकट दिने र निर्वाचन पक्षीय नेताहरू अल्पमतमा परेपछि राजपामा झन् अन्योल बढेको छ । 

दलको मान्यता 

निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई राजनीतिक दलको मान्यता दिएको छ । शनिबार निर्वाचन आयोगको बैठकले दल दर्ताको निबेदनमाथि सुनुवाई गर्दै दल दर्ताको आधिकारिक्ता दिएको हो । 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन आयोगमा दल दर्ताका लागि निबेदन दिएको राजपा नेपाल र रबिन्द्र मिश्र संयोजक रहेको साझा पार्टीलाई राजनीतिक दलको मान्यता दिने निर्णय भएको जानकारी दिए । यधपी आयोगमा यि दुई दललाई चुनाव चिन्ह भने दिइएको छैन् । 

राजपा नेपालले छाता र साझा पार्टीले तराजु चुनाव चिन्ह माग गरेका छन् । दल दर्ताको आधिकारिक्ता पाएपछि अब पार्टीको बैठक बस्ने र अगामी रणनीति तय गर्ने राजपा नेपालका महासचिव केशव झाले बताए । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’