आफ्नै नेतृत्वमा मधेसबादी दलसंग बार्ता गर्ने एमालेको निर्णय


निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसंग माग


सुभाष साह,
काठमाडौं, १ साउन 

प्रमुख प्रतिपक्षी दल एमालेले मधेसबादी दलहरुसंग आफ्नै नेतृत्वमा बार्ता गर्ने निर्णय गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निवासमा आईतबार सम्पन्न स्थायी कमिटी बैठकमा पछिल्लो समय मधेसबादी दलसंग भएको बार्ताका बिषयमा छलफल गर्दै अगामी दिनमा पनि बार्ता जारी राख्ने निर्णय भएको हो । 

बैठकमा मधेसबादी दलका नेतासंग पछिल्लो समयमा शुरु भएको छलफललाई निरन्तर्ता दिने निर्णय भएको एमाले सचिव एवं प्रचार बिभागका प्रमुख योगेश भट्टराईले बताए । 

‘उहाँहरुको सबै एजेण्डाका बिषयमा हामी छलफल गर्न तयार छौं, पछिल्लो समयमा शुरु भएको छलफललाई पनि निरन्तर्ता दिन्छौं’ भट्टराईले राजधानीसंग भने, ‘हामी हाम्रो कुरा पनि राख्छौं र उहाँहरुको कुरा पनि सुन्छौं, जुन बिषयमा कुरा मिल्छ त्यो बिषयमा मिलेर अगाडी बढने प्रयास गर्छौ ।’ 

एमालेलाई मधेसबिरोधीको रुपमा प्रचार गरेर हल्ला फिजाएपछि पछिल्लो समयमा पार्टीले मधेसबादी दलका नेता एवं मधेसका बुद्धिजिविहरुसंग निरन्तर छलफल शुरु गरिरहेको छ । 

एकसाता अघि नै पार्टी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री ओलीले मधेसका बुद्धिजिविहरुसंग छलफल गरेका थिए । छलफलमा उनले एमाले मधेस, हिमाल र पहाडका सबै जनताको साझा पार्टी भएकाले कसैको बिरोधी हुनै नसक्ने बताएका थिए । तर बिपक्षी दलका साथै मधेसबादी दलले एमालेलाई मधेस बिरोधी पार्टीको रुपमा हल्ला चलाएका छन् । 

पछिल्लो समय एमालेका दोस्रो तहका नेताले राष्ट्रिय जनता पार्टी नेपालका दोस्रो तहका नेतासंग छलफल भएको थियो । छलफलबाट कुनै निष्कर्षमा नपुगे पनि नेताहरु ठोस निर्णयका लागि भने छलफल जारी राख्ने सहमती गरेका छन् । यस्तै एमालेले संघीय समाजबादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमसंग पनि छलफल गर्ने भएको छ । 

स्थायी कमिटीको बैठकले अबिलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समयमै निर्वाचन नगर्ने नियतबाट एमाले समेतको सहमतीमा निर्वाचन क्षेत्र बढाउँने भनेर गरिएको प्रचारबाजीप्रति बैठकले आपती जनाएको छ । 
दुई सय ४० क्षेत्रलाई नै निरन्तरर्ता दिने सत्तारुढ दलको तयारीप्रति आपती जनाउँदै बैठकले त्यसलाई अस्वीकार गरेको छ ।  निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नका लागि संविधानले व्यवस्था गरे अनुरुप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि एमालेले सरकारसंग माग गरेको छ । 
पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी भएको खुशीमा बैठकमा नेताहरुले केक काटेर खुशी साटासाट गरेका छन् । बैठकमै केक काटेर सबैले खुशी मनाउँदै केक खाएको नेताहरुले बताएका छन् । 
२ असोजमा प्रदेश २ को तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा बिजयी गराउँनका लागि बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ । 
‘आगामी असोज २ गते हुन गइरहेको प्रदेश नम्बर २ को निर्वाचनको सम्पूर्ण तयारीमा जुट्नका लागि प्रदेश नम्बर २ अन्तर्गतका पार्टी कमिटी, जनसंगठन र नेता–कार्यकर्ताहरुलाई हाम्रो पार्टी निर्देशित गर्दछ’ भट्टराईले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यसअघि सम्पन्न दुबै चरणका निर्वाचनमा झैं प्रदेश नम्बर २ को निर्वाचनमा पनि पहिलो स्थानमा विजय हासिल गर्नका लागि एकताबद्ध भएर परिचालन हुन हाम्रो पार्टी संकल्प गर्दछ ।’
यस्तै बैठकले निर्वाचन आयोगले आईतबारदेखि सुरु गरेको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक सहभागि हुन स्थानीय नेतालाई निर्देशन दिएको छ ।  सबै नेपाली नागरिकलाई सहज र सुविधाजनक ढंगले मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन आयोगको एमालेले ध्यानाकर्षण गराएको छ । 
स्थानीय तहको निर्वाचन सम्पन्न भएको तहमा एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि साउन महिनाभित्र अभिमुखीकरण तथा प्रशिक्षण दिने योजना एमालेले पारित गरेको छ । सम्बन्धित प्रदेश कमिटीलाई अभिमुखीकरण तथा प्रशिक्षणका लागि व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी बैठकले दिएको छ । 
बैठकले यसअघि स्थानीय तह निर्वाचनका कारण रोकिएका मातहतका कमिटी, जनसंगठन र प्रवासी नेपाली मञ्चका अधिवेशनहरु (प्रदेश नम्बर २ बाहेक) खुल्ला गरिएको गरेको छ । 
पोलिट्ब्युरो सदस्य तथा सांसद महिन लिम्बुको १० असारमा भएको असामयिक निधनप्रति बैठकले दुःख व्यक्त गर्दै पार्टी संगठन र जनताको सेवामा लिम्बुले पु¥याएको योगदानको कदर गर्दै हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 
यसैगरी २९ असारमा जनकपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाउँने पार्टी कार्यकर्ताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सो घटनामा परी घाइते भएकी केन्द्रीय कमिटी सदस्य रामरति रामलगायत नेता–कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको बैठकले कामना गरेको छ । यस्तै गम्भीर बिरामी परेका केन्द्रीय कमिटीका बैकल्पिक सदस्य खगेन्द्र चँुडालको शीघ्र स्वास्थ्यलाभको एमालेले कामना गरेको छ । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’