फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’


सुभाष साह,
काठमाडौं, ३१ असार

संघीय समाजवादी फोरम नेपालले प्रमुख तीन दललाई पहिचान बिरोधी पार्टीको संज्ञा दिदै झुठा कुरा गर्दै भ्रम फैलाएर जनताको मत लिईरहेको आरोप लगाएको छ । 

हालै सम्पन्न भएको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नराम्रो पराजय व्यहोरेको फोरम नेपालको शुरु भएको राजनीति समिति बैठकमा निर्वाचनको समिक्षा गर्दै यस्तो निष्कर्ष निकालेका छन् । 

फोरम नेपालले सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्रलाई ‘सम्झौताबादी’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ‘मण्डले र खोक्रो राष्ट्रबाद’ को संज्ञा दिएको छ । फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङ्गले प्रमुख तीन दललाई पहिचान बिरोधी पार्टी रहेको बताउँदै यिनीहरुबाट सचेत हुनुपर्ने बताउँछन् । 

‘काँग्रेस, माओबादी सम्झौताबादी र एमालेको मण्डले एवं खोक्रोराष्ट्रबादले जनताले धोखा पाएका छन्’ चेम्जोङ्गले राजधानीसंग भने, ‘झुठा कुरा गरेर जनतामा भ्रम फैलाउँदै यिनीहरुले मत लिदैछन्, शक्ती, सत्ता र पैसाको व्यपाक दुरुपयोग गरेका छन् ।’

सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओबादीले सत्ताको चरम दुरुपयोग गरेको र एमालेले मण्डले, खोक्रो राष्ट्रबादको नारा लगाउँदै मत लिएरकाले फोरम नेपालले सोचे जस्तो परिणाम ल्याउँन नसकेको समिक्षा बैठकमा भएको छ । 

फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका बिरोधमा फैलाईएको भ्रम चिर्न नसक्दा अपेक्षाकृत परिणाम ल्याउँन नसकेको बताए । २ असोजमा प्रदेश नं. २ मा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा ति सबै भ्रम चिर्दै राम्रो नतिजा ल्याउँन पार्टी आक्रामक रुपमा प्रस्तुत हुने यादवले बताएका छन् । 

‘मधेसी, जनजाती आदीबासी, थारु लगायतकाले गरेको आन्दोलनलाई कमजोर बनाउँने, भ्रम फैलाउँन र उनीहरुको मत लिने काम प्रमुख दलले गर्दै छन्’ यादवले राजधानीसंग भने, ‘पार्टी बिरुद्ध फैलाईएको आरोप चिर्छौ र यिनीहरुको वास्तबिक्ता जनतामा राख्दै अहिले हामी प्रदेश नं. २ को निर्वाचनको तयारीमा जुटछौं ।’

मधेस आन्दोलनलाई कमजोर नबाउँन राष्ट्रिय जनता पार्टी नेपालसंग आग्रह गर्दै यादवले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा फोरम नेपाल एउटै गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागि हुन तयार रहेको बताएका छन् । 

तर राजपा नेपाले संबिधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याको आधारमा बृद्धी गर्नुपर्ने लगायतका माग गर्दै निर्वाचन बहिष्कार गर्दै आन्दोलनमा रहेको छ । राजपा नेपालसंगै आन्दोलनमा रहेको फोरम नेपालले निर्वाचनलाई पनि संघर्षको अर्को रुपमा भन्दै आन्दोलन छोडेर निर्वाचनमा सहभागि भएको हो । 

‘राजपा नेपाल र हामी आन्दोलनसंगै गर्यौ, हाम्रो पहिलो प्राथमिक्ता राजपासंगै गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागि हुने हो’ यादवले भने, ‘आन्दोलनलाई कमजोर बनाउँन वा मधेसी, आदीबासी जनजाती, थारु बिरोधी पार्टीलाई सहयोग पुग्ने काम राजपाले गर्दैन भन्ने बिश्वास छ ।’

फोरम नेपाललाई बिखण्डनकारी भन्दै लोकतन्त्र र निर्वाचन बिरोधी भन्नेलाई पार्टीले निर्वाचनमा सहभागि भएर राम्रो जवाफ दिएको निष्कष बैठकले निकालेको यादवले बताए । 

फोरम नेपालका राजनीति समिति सदस्य खगेन्द्र माखिमले पार्टीका बिरोधमा फैलाईएको सबै प्रकारका भ्रम चिर्दै तेस्रो चरणको निर्वाचनमा शसक्त रुपमा सहभागि हुने बताए । 

शुक्रबार देखी शुरु फोरम नेपालको राजनीति समिति बैठक आईतबार सम्पन्न हुदैछ । बैठकमा निर्वाचनको समिक्षासंगै बर्तमान राजनीति र भावी रणनीतिको बिषयमा पनि बिशेष छलफल हुने फोरमले जनाएको छ । 
  

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन