प्रदेश २ निर्वाचन, काठमाडौमै बन्दैछ योजना
सुभाष साह,
काठमाडौं, ६ साउन
निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनका कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर राजनीतिक दलहरु भने अझै निर्वाचन केन्द्रीत कार्यक्रम बिहिन अवस्थामा छन् ।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरेर आयोगले प्रदेश २ मा रहेका एक सय २७ स्थानीय तहमा तेस्रो चरण अन्तरगत हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने ठुला दलमात्र होइन प्रदेश २ लाइ आफ्नो पकड क्षेत्र मान्ने मधेशकेन्द्रति दलको समेत प्रदेश २ मा निर्वाचन गतिविधि शुन्य देखिएका छन् ।
आयोगले २१ भदौमा उम्मेदवारी दर्ता र २ असोजमा मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तर राजनीति दलले प्रदेश २ मा हुने स्थानीय तह निर्वाचन केन्द्रीत आमसभा, भेला, उम्मेदवारी छनौट, कार्यकर्ता प्रशिक्षण लगायतका कार्यक्रम कहिले र कहाँ गर्ने भन्ने कार्यतालिका अझै बनाएका छैनन् ।
अन्य प्रदेशका स्थानीय तह निर्वाचन सम्पन्न भएर त्यहाँका निर्वाचित जनप्रतिनिधिले काम थालिसकेका छन् । तर दलहरुको चहलपहल नहुदा प्रदेश २ का जनतामा निर्वाचन पुन सर्ने हो की भन्ने शंका शुरु भएको छ ।
प्रदेश २ को स्थानीय तह निर्वाचन भए पनि राजनीतिक दलका झिनो तयारी समेत काठमाडौं केन्द्रीत छ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले निर्वाचन जित्ने रणनीति काठमाडौंमै बनाईरहेको छ । प्रदेश २ का पार्टी केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, क्षेत्रिय सभापति लगायतलाई बिहिबार र शुक्रबार काठमाडौंमै डाकेर काँग्रेसले छलफल गरेको छ ।
काँग्रेस नेता रमेश लेखकले प्रदेश २ का आठवटै जिल्लामा आमसभा गर्ने भेलाले निर्णय गरेको बताए । तर कहिले गर्ने भन्ने बिषयमा निर्णय नभएको उनले बताएका छन् । प्रदेश २ मै गएर कुन कार्यक्रम, कहिले र कसरी गर्ने भन्ने बिषयमा काँग्रेस भित्र अन्योल छ ।
काँग्रेस नेता बिमलेन्द्र निधिले एक सय भन्दा बढी स्थानीय तह जित्ने दाबी गरेका छन् । तर कांग्रेसले उम्मेदवार अहिले सम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बनेको प्रमुख प्रतिपक्षी दल एमालेपनि निर्वाचन केन्द्रीत कार्यक्रम बिहिन अवस्थामा छ ।
एमाले स्थायी समिति सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डल निर्वाचन केन्द्रीत कुनै योजना हालसम्म नवनेको बताउछन् । यद्यपी निर्वाचन जित्ने योजना भने बनिरहेको उनको भनाइ छ ।
अहिले खेतीपातीको समय भएकाले मतदाताका बीचमा कसरी जाने भन्ने बिषय टुंगिन नसकेको उनको भनाइ छ । । कुन तहमा कसलाई उम्मेदवार बनाउँने सोको बिषयमा समेत एमालेले भित्र छिनोफानो भएको छैन् । केही ठाउँमा उम्मेदवारी छनौट भइसकेको र बाकी तहको उम्मेदवारी छनौट गर्ने काम छिटै टुंगो लगाउँने एमालेले जनाएको छ ।
गत आईतबार काठमाडौंमै एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले २ असोजमा प्रदेश २ को तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा बिजयी गराउँनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
निर्वाचन तयारीमा जुट्न प्रदेश २ अन्तर्गतका पार्टी कमिटी, जनसंगठन र नेता–कार्यकर्ताहरुलाई पार्टीले निर्देशित गरिसकेको एक हप्ता बिते पनि के कार्यक्रम, कहाँ र कसरी गर्ने भन्ने तय एमालेले गरेको छैन् ।
सत्तारुढ दल नेकपा माओबादी केन्द्रले पनि प्रदेश २ को स्थानीय तह निर्वाचनको रणनीति काठमाडौंमै बनाईरहेको छ । माओबादी केन्द्रका नेता बिश्वनाथ साहले पार्टीको सचिवालय बैठक काठमाडौंमा जारी रहेको र सोही बैठकले चुनावी कार्यक्रम तय गर्ने बताए ।
प्रदेश २ मा कार्यकर्ता प्रशिक्षण गर्ने कार्यक्रम रहेपनि त्यसको मिति र ठाउँ नतोकिएको नेता साहले बताए । काठमाडौंमा जारी पार्टीको केन्द्रीय सचिवालय बैठक सम्पन्न भए पछि निर्वाचन केन्द्रीत कार्यक्रम गर्ने उनले बताए ।
माओबादी नेता गिरिराजमणी पोखरेलले १५ साउन भित्रै सबै तहमा उम्मेदवार घोषणा हुने बताए । पार्टी उम्मेदवार छनौटको गृहकार्यमा जुटेको बताउँदै नेता पोखरेलले आठवटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँने तयारी भइरहेको बताए ।
प्रदेश २ मधेसबादी दलको पकडक्षेत्रका रुपमा बिश्लेषण गरिए पनि संघीय समाजबादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले समेत चुनावी तयारी काठमाडौंबाटै गरिरहेका छन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवले उम्मेदवार छनौट गर्ने काम भईरहेको बताए । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँने निर्णय भएको बताउँदै उनले बिकासका मुद्धा लिएर जनताका बीचमा जाने बताए । तर कहिले, कहाँ र के कार्यक्रम गर्ने भन्ने बिषयमा फोरम नेपालले निर्णय गर्न सकेको छैन् ।
लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दु मल्लिकले पार्टीले १५ साउन भित्रैमा उम्मेदवार छनौट गरिसक्ने बताएका छन् । काठमाडौंमै बसेर प्रदेश २ को चुनावी रणनीति बनाईरहेको लोकतान्त्रिक फोरमले २० साउनमा जनकपुरमा भेला गर्ने तयारी गरेको छ । भेलामा पार्टीका उम्मेदवार, केन्द्रीय सदस्य, सांसद जिल्ला पदाधिकारी लगायतको सहभागिता हुने मल्लिकले बताएका छन् ।
मधेसबादी अर्को दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले समेत काठमाडौंमा बसेर प्रदेश २ को निर्वाचन बहिष्कार गर्ने रणनीति बनाउँन व्यस्त छ ।
राजपाले काठमाडौंमा १८ साउनमा पदाधिकारी बैठक र त्यसपछि २१ साउन देखी केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले पार्टीको बिधान, घोषणापत्र, प्रदेश २ को स्थानीय तह निर्वाचन लगायतको बिषयमा बिशेष छलफल गर्ने राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले बताए ।
राजपा नेपालका महासचिव मनिष सुमनले यथास्थितिमा पार्टी प्रदेश २ को स्थानीय तह निर्वाचनमा सहभागि नहुने बताएका छन् । संबिधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा निर्धारण हुनुपर्ने लगायतका माग गर्दै राजपा आन्दोलनमा रहेको छ ।
Comments
Post a Comment