आयोगको सिफारिस सरकारद्धारा उलंघन


काठमाडौं, ५ साउन

राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समयमा गरेको सिफारिस सरकारले उलंघन गरेको जनाएको छ ।
आयोगले सिफारिस गरेका निर्णयहरु कार्यान्वयन न्यून रहेको तथा आयोगद्वारा औल्याइएका मानव अधिकार उल्लंघनमा संलग्न रहेका व्यक्तिहरुलाई नेपाल सरकारद्वारा पदोन्नति र विभुषित गरिएको सम्बन्धमा आयोगले आपति जनाएको छ ।
आयोगका अध्यक्ष अनूपराज शर्माले आयोगद्वारा छानविन गरी हत्या, बेपत्ता, यातना जस्ता गम्भीर मानव अधिकार हनन् र मानवीय कानूनको उल्लंघन जस्ता अपराधमा संलग्न दोषीहरुको पहिचान गरी कानुनी कार्यवाहीका लागि सरकारलाई सिफारिस गरेका व्यक्तिहरुलाई नै पदोन्नति तथा विभूषित गरिनु दुःखद् भएको बताएका छन् ।
आयोगको केन्द्रीय कार्यालय ललितपुरमा बिहिबार नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गर्दै अध्यक्ष शर्माले आयोगका सिफारिसहरुलाई गम्भीर रुपमा लिन समेत आग्रह गरेका छन् ।
सुन्तली तामाङ्गमाथि बलत्कार गरी हत्या भएको घटनालाई हत्यामा मात्र मुद्दा चलाइएको र न्यायमा ढिलाई भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले बताएकी छन् ।
दयाराम परियारको हत्या, गोदार हत्या, लगायतमा संलग्न कतिपय दोषीहरुलाई तत्काल कानुनी कार्यवाही नभएको, कारवाही भएकाहरुको हकमा पनि फितलो अनुसन्धान एवं मुद्दा कमजोर बनाएको, प्रहरी हिरासतमा थुनुवाद्वारा थुनुवाकै कुटपीट हुने गरेको, बलात्कार, छाउपडी लगायतका घटनामा पर्याप्त प्रमाण हुँदा हुँदै पनि उजुरी दर्ता नहुने वा कम हुने गरेको सम्बन्धमा आयोगले ध्यानाकर्षण गराईएको छ ।
आयोगले ध्यानाकर्षण गराएपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आयोगका निर्देशन तथा सिफारिसहरुलाई संवेदनशील रुपमा लिई सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयका सहसचिव, नेपाल प्रहरी मानव अधिकार सेल, गृह मन्त्रालयका मानव अधिकार महाशाखाका प्रमुख लगायतको छलफलमा उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’