ठूला दलको ध्यान प्रदेश–२ मा, पहिलो शक्ति बन्न आ–आफ्नै रणनीति

सुभाष साह,
काठमाडौं, २९ असार 

२ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनका लागि दलहरूले आ–आफ्ना रणनीतिसहितको तयारी अघि बढाएका छन् । 
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा प्राप्त परिणाम र प्रदेश–२ मा हुन बाँकी निर्वाचनलाई लक्षित गर्दै दलहरूले तराई मधेसका नेताहरूको भेलादेखि प्रचारप्रसारको अभियानलाई तराई केन्द्रित गर्ने रणनीतिसहितको तयारी अघि बढाएका हुन् । 
व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रसहित तराई मधेसमा नै केन्द्रित दलहरूले समेत प्रदेश–१, ३, ४, ५, ६ र ७ मा निर्वाचन सकिएलगत्तै चुनावी माहोललाई आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरिरहेका छन् । त्यसैअनुरूप प्रदेश–२ मा हुने निर्वाचनलाई यतिबेला दलहरूले परिणाम पक्षमा पार्ने अन्तिम मौकाका रूपमा लिन तराई केन्द्रित रणनीति बनाएका हुन् ।  
कांग्रेसले तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर प्रदेश–२ का जिल्लाहरूको चुनावी अवस्था बुझ्न र रणनीति बनाउन ५ साउनमा आफ्ना तराई मधेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद, पूर्वसांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिसहित क्षेत्रीय सभापतिहरूलाई काठमाडौं डाकेको छ । 
उसले दोस्रो चरणको निर्वाचनसम्म आइपुग्दा मधेसका ११ जिल्लामा समेत एमाले पहिलो भएपछि मधेस एजेन्डाबारे जिल्ला सभापति, सांसद, पूर्वसांसद, क्षेत्रीय सभापतिलगायतको सुझाव लिन भन्दै काठमाडौंमा नै भेला बोलाएको हो । भेलामा संविधान संशोधनका विषयमा छिनोफानो गर्न केन्द्रीय नेताहरूलाई दबाब दिने तयारी  प्रदेश–२ बाट प्रतिनिधित्व गर्ने नेताहरूले गरेको बुझिएको छ । 
संविधान संशोधनका विषयमा कांग्रेसभित्र तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले पटकपटक दबाब दिँदै आएका छन् । उनीहरूले अघिल्लोपटक भएका भेलाहरूमा समेत संशोधन नहुँदा तराईका जिल्लाहरूबाट निर्वाचनमा आफ्नो पक्षमा मत नआउने भन्दै जिम्मेवार भएर निर्णय लिन नेतृत्वलाई सुझाउँदै आएका थिए । 
कांग्रेस नेता तथा वर्तमान मन्त्रिमण्डलमा श्रम तथा रोजगारमन्त्री रहेका फरमुल्लाह मन्सुरले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर भेला बोलाइएको बताए । ‘कांग्रेसलाई कसरी स्थानीय तह निर्वाचनमा ठूलो पार्टी बनाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो, २ असोजमा हुने प्रदेश–२ को निर्वाचन नै भेलाको मूल एजेन्डा हो,’ नेता मन्सुरले राजधानीसँग भने । 
कांग्रेसको निर्वाचनका लागि प्रचारप्रसार गर्न बनेको प्रचारप्रसार समन्वय उपसमितिले समेत प्रदेश–२ का आठ जिल्लामा प्रचारप्रसारका लागि समिति गठन गर्ने तयारी गरेको छ । उसले ९ साउनका लागि जनकपुरमा प्रदेश–२ को प्रचारप्रसार समितिको भेलासमेत गर्ने तयारी अघि बढाएको छ । 
पहिलो र दोस्रो तहको स्थानीय निर्वाचनमा पहिलो शक्तिको रूपमा अगाडि रहेको नेकपा एमालेले तेस्रो चरणको स्थानीय निर्वाचनका लागि आफ्नो सम्पूर्ण शक्ति प्रदेश–२ मा परिचालन गर्ने भएको छ । 
प्रदेश–२ मा २ असोजमा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि एमालेले आफ्नो आन्तरिक रणनीति सुरु गरेको एमाले नेताले जनाएका छन् । एमालेलाई मधेसविरोधीका रूपमा चिनाएर प्रदेश–२ को निर्वाचन आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धी दलको रणनीति देखिएको निष्कर्षका साथ एमाले तराई मधेसमा राजनीतिक वर्चस्व मजबुत पार्ने योजना नै बनाएर अघि बढेको नेताहरूले बताएका छन् । एमालेले दिनहँुजसो मधेसी दलका नेताहरूसँगको छलफललाई निरन्तरता दिएको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं कुनै न कुनै बहानामा मधेसी दल र मधेसका बुद्धिजीवीसँग छलफलमा छन् । 
बिहीबार मात्र उनले एउटा कार्यक्रममा एमाले मधेसको सवालमा सबैभन्दा सकारात्मक रहेको सन्देश दिए । प्रभावकारी शैलीका साथ उपस्थित ओलीले मधेसबारे एमालेविरुद्धको भ्रम चिर्ने प्रयास मात्र गरेनन् तराई मधेसका मुद्दालाई एमालेले मात्रै उठाउनेमा आश्वस्तसमेत पारे । 
आफ्नो सम्पूर्ण शक्ति प्रदेश–२ मै लगाउने र तेस्रो चरणको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने योजना तय भइरहेको एमाले सचिव प्रदीप ज्ञवाली बताउँछन् । 
सरकारमा रहेको  संसद्को तेस्रो शक्ति नेकपा माओवादी केन्द्रले पनि सम्पन्न भएका दुई चरणको निर्वाचनको समीक्षाका लागि आगामी २ साउनमा सचिवालय बैठक बोलाएको छ । उसले प्रदेश–२ को निर्वाचनको विषयलाई एजेन्डामा नै राखेको छ । 
माओवादीले प्रदेश–२ लाई केन्द्रित गरेर सचिवालय बैठकबाट थप रणनीतिसमेत तय गर्ने भएको नेता अग्नि सापकोटाले जानकारी दिए । ‘२ गते पार्टी सचिवालय बैठक बोलाइएको छ, बैठकमा दुई चरणको निर्वाचनको समीक्षा गरेर कमजोरी स्वीकार गर्दै अब प्रदेश–२ को निर्वाचनमा केन्द्रित हुने भन्ने कुरा भएको छ,’ हेडक्वार्टर सदस्यसमेत रहेका नेता सापकोटाले भने । 
यता मधेसमा दबदबा रहेको भनिएको संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले प्रदेश–२ को निर्वाचनमा राम्रो उपस्थिति देखाउने प्रयासमा रहेका छन् । 
पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी यी दुई फोरमले राम्रो परिणाम ल्याउन नसके पनि प्रदेश–२ मा हुने तेस्रो चरणको निर्वाचनबाट परिणाम आफ्नो पक्षमा राम्रो हुने विश्वास व्यक्त गरेका छन् । 
फोरम नेपालका महासचिव रामसहायक यादवले प्रदेश–२ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनका लागि फोरम लागिपरेको बताएका छन् । संविधान संशोधनबाट ब्याक हुँदै निर्वाचनमा सहभागी भएर फोरमले स्थानीय निर्वाचनलाई पनि संघर्षकै रूपमा लिई निर्वाचनमा होमिएको उनले बताएका छन् । 
लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य वेद गच्छदारले प्रदेश–२ मा हुने तेस्रो चरणको निर्वाचनका लागि पार्टीले निर्वाचन कसरी जित्ने र कोसँग गठबन्धन बनाउने वा अरू के गर्ने भन्ने विषयमा छलफल गरिरहेको बताएका छन् । 
मधेसको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनलगायतका माग पूरा नभएसम्म स्थानीय तहको निर्वाचनमा सहभागी नहुने जनाउँदै निर्वाचन बिथोल्ने चेतावनी दिएको छ । 
पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बिथोल्ने गरी आन्दोलन गरेर पनि बिथोल्न नसकेको राजपा नेपाल आफ्नो अडानबाट टसमस भएको छैन । विभिन्न ६ मधेसवादी पार्टीबीच एकीकरण भई बनेको राजपा नेपालले संशोधन, स्थानीय तहको संख्या वृद्धिलगायतका माग सम्बोधन हुनुपर्ने बताउँदै आएको छ । 
तर सरकारसँग निरन्तर छलफलमा रहेको राजपाले संशोधन पारित नभए निर्वाचनमा सहभागी नहुने आन्तरिक तयारी गरेको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी नभएको राजपा नेपालबिना नै तेस्रो चरणको निर्वाचन हुने अन्य मधेसवादी दलका नेताहरूले बताउँदै आएका छन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’