आन्तरिक मतभिन्ताले राजपा नेपाल भित्र अन्योल बढदै
संसदको परिणाम स्वीकार्दै निर्वाचनमा सहभागि हुन ठाकुर समुह तयार, संशोधन पारित नभए आन्दोलन चर्काउँने पक्षमा महतो समुह
सुभाष साह
काठमाडौं, ४ साउन
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भित्रको आन्तरिक मतभिन्ताले निर्वाचनमा सहभागि हुने की नहुने भन्ने बिषयमा अन्योल बढदै गएको छ ।
सत्तारुढ दलसंग राजपा नेपालका नेताहरुको सामुहिक बैठक होस् वा वान टु वान बैठकमा राजपाको आन्तरिक मतभिन्ताले समस्या सृजना हुने गरेको छ । राजपा नेपालको अध्यक्ष मण्डलमा रहेका ६ नेता दुई चिरामा बिभाजित भएपछि अन्योलता बढदै गएको हो ।
बिभिन्न ६ पार्टी मिलेर राजपा नेपाल बनेको हो । पार्टी एकिकरण पश्चात राजपा नेपालको महत्वपुर्ण निर्णय राजपा नेपालको अध्यक्ष मण्डलले गर्ने गर्छ । तर अध्यक्ष मण्डलमा रहेका ६ नेता नै दुई गुटमा बिभाजित भएका छन् । त्यसको असर अन्य दलसंगको बैठकमा पनि देखिने गरेको छ ।
अध्यक्ष मण्डलका संयोजक समेत रहेका महन्थ ठाकुर, सदस्यद्धय महेन्द्रराय यादव र शरदसिंह भण्डारी निर्वाचनको पक्षमा रहेका छन् । ठाकुर, यादव र भण्डारीले संबिधान संशोधन बिधेयक संसदबाट पारित वा फेल जे भए पनि त्यसको परिणाम स्वीकार गरेर निर्वाचनमा जानुपर्ने पक्षमा रहेका छन् ।
तर अध्यक्ष मण्डलका तीन सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा संबिधान संशोधन बिधेयक संसदबाटै पारित हुनै पर्ने पक्षमा रहेका छन् । संशोधन पारित नभएको अवस्थामा निर्वाचनमा जानुहुन्न भन्दै पुन आन्दोलन चर्काउँनुपर्ने पक्षमा उभिएका छन् ।
गत शनिबार पर्साले जिल्लाको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा पुगेका राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक ठाकुरले संशोधनमा समस्या भएकाले सरकारले गर्नुपर्ने काम पुरा गरे पार्टी निर्वाचनमा सहभागि हुने संकेत गरेका थिए । सरकारको तर्फबाट गर्नुपर्ने काम पुरा भए निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्दै ठाकुरले निर्वाचनमा सहभागि हुने जनाएका थिए ।
ठाकुर सहित यादव, भण्डारीले राजपा नेपाल अध्यक्ष मण्डलको बैठकमा समेत यिनै कुरामा जोड दिदै आएका छन् । उनीहरुले जनसंख्याका आधारमा स्थानीय तहको संख्या, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ताको सम्झौता सरकारले कार्यान्वयन गरे संसदको परिणाम स्वीकार्दै निर्वाचनमा सहभागी हुनुपर्ने तर्क गर्छन् ।
संशोधन संसदको अंकगतिले पारित वा फेल हुने भएकाले त्यसमा पार्टीको अडान परिवर्तन गर्दै निर्वाचनमा सहभागि हुने ठाकुर, यादव र भण्डारीको प्रस्ताव महतो समुहले वैठकबाटै उल्टाईदिने गर्छन् ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि पटक पटक बसेको अध्यक्ष मण्डलको बैठकमा ठाकुर समुहले संसदको परिणाम स्वीकार्दै निर्वाचनमा सहभागि हुनुपर्ने प्रस्ताव गर्दा महतो समुहको अडानले प्रस्ताव पारित भएन् ।
महतो समुहले ठाकुर समुहको प्रस्ताव उल्टाएपछि राजपा दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको थियो । महतो समुहको निर्वाचन बहिष्कार गर्ने प्रस्ताव पार्टीले पारित गरेपछि ठाकुर समुहका बृजेश गुप्ता, सर्बेन्द्रनाथ शुक्ला लगायतका नेताहरुको पकड मानिएको स्थानीय तहमा पार्टीबाट केही नेताले राजिनामा दिएर निर्वाचनमा उम्मेदवार बनेका थिए । त्यसमध्ये केहीले निर्वाचन पनि जितेका छन् ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महतोले आन्दोलन संसदमा संशोधन बिधेयक प्रक्रियामा लैजानका लागि नभई संबिधानमा परिवर्तनका लागि भएको बताउँछन् । सत्तारुढ दल र सरकारले आफुहरुसंग सम्झौता मात्रै गर्ने तर परिणाममा देखिने गरी कार्यान्वयन नगरेकाले सम्झौता एवं सहमती कार्यान्वयन हुनुपर्ने महतोले बताए ।
‘हाम्रो आन्दोलन संबिधान संशोधन बिधेयक संसदको प्रक्रियामा लैजानका लागि भएको होईन्’ महतो राजधानीसंग भने, ‘संबैधानिक रुपमै आन्दोलनका माग पुरा नभए किन सम्झौता गर्नुपर्यो ? कि सम्झौता नै गर्नु हुदैन्थ्यो, गरेपछि पुरा गर्नुपर्छ ।’
सरकारले गर्नुपर्ने काम पनि नगर्ने र संशोधन पनि नहुने भनेपछि यथास्थितिमा निर्वाचनमा नजाने महतोले बताए । जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, झुठा मुद्धा फिर्ता, शहिद घोषणा, क्षतिपुर्ति लगायतका काम सरकारले गर्नुपर्ने भए पनि अहिले सम्म नगरेको उनले बताए ।
सरकारले गर्नुपर्ने काम गरेपछि संशोधन बिधेयक निर्णयार्थ संसदमा पेश हुँदा आउँने परिणाम पश्चात के गर्ने भन्ने बिषयमा पार्टीले निर्णय गर्ने बताउँदै महतोले संशोधन फेल भए आन्दोलनमै जाने संकेत गरेका छन् ।
महतो समुहका राजपा महासचिव मनिष सुमनले यथास्थितिमा पार्टी निर्वाचनमा सहभागि नहुने ठोकुवा गरेका छन् । आन्दोलनका माग पुरा नभए पछि हुने कुनै पनि निर्वाचनमा राजपा नेपाल सहभागि नहुने सुमनले बताए ।
संबिधान संशोधन लगायतका माग पुरा नभएकाले राजपाले हालै सम्पन्न भएको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको थियो । र राजपा नेपालको यो अडान अझै परिवर्तन नभएको भन्दै नेताहरुले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा समेत सहभागि नहुने बताउँदै आएका छन् ।
Comments
Post a Comment