राजपाको जम्बो केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी १ सय ३४ सहित ८ सय १५ केन्द्रीय समिति
सुभाष साह,
काठमाडौं, २८ असार
राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिमा १ सय ३४ पदाधिकारीसहित ८ सय १५ केन्द्रीय सदस्यलाई समावेश गरिएको छ । निर्वाचन आयोगमा बुधबार दल दर्ताका लागि निवेदन दिँदा राजपा नेपालले सो संख्या उल्लेख गरेको हो ।
तराई–मधेसकेन्द्रित दलका रूपमा चिनिने राजपा नेपालको केन्द्रीय समिति माओवादी केन्द्रपछाडिकै ठूलो हो । माओवादी केन्द्रमा ३ हजार ९ सय ९९ केन्द्रीय महाधिवेशन आयोजक कमिटी रहेको छ ।
७ वैशाखमा विभिन्न ६ मधेसवादी दल मिलेर राजपा नेपाल गठन भएको हो । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकीकृत भई राजपा नेपाल घोषणा गरिएको हो ।
२३ असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका राजपा नेपालका नेताहरू बाँकी कागजातसहित बुधबार दोस्रोपटक आयोग पुगेका हुन् । उनीहरूले बुधबार पार्टीको विधान, घोषणापत्र बुझाएका थिए । एकीकृत पार्टी घोषणाअघि ६ वटै दलको केन्द्रीय कमिटीको पार्टी एकीकरण गर्ने निर्णय र एकीकृतपछिको केन्द्रीय कमिटीको नामावली पनि आयोगमा बुझाइएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दल दर्ताका लागि आवश्यक कागजातहरू आयोगमा बुझाएको बताए ।
‘अहिले हामी दल दर्ताको प्रक्रियामा छौं । विभिन्न ६ पार्टी मिलेर राजपा नेपाल बनेपछि कानुनी मान्यताका लागि निर्वाचन आयोगमा आवश्यक विवरण बुझाएका छौं,’ महतोले राजधानीसँग भने, ‘विभिन्न दल मिलेर राजपा नेपाल बनेका कारण यसको केन्द्रीय कमिटी पनि ठूलो भएको हो । हामी एक वर्षभित्रै महाधिवेशन गरेर सानो आकारको कमिटी निर्माण गर्छांै ।’
विभिन्न ६ पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई एकीकृत पार्टीको पनि सोही जिम्मेवारीमा समायोजन गरिएको छ । हाललाई केन्द्रीय कमिटी ठूलो देखिए पनि एक वर्षभित्रै हुने महाधिवेशनपश्चात् केन्द्रीय कमिटी सानो आकारको निर्माण गर्ने राजपा नेपालले जनाएको छ ।
राजपा नेपालका वरिष्ठ उपाध्यक्ष रामनरेश रायले केही समयभित्रै दल दर्ताको कानुनी मान्यता पाउने बताएका छन् । छाता चुनाव चिह्न माग गरेको राजपा नेपालले दल दर्ताका लागि आवश्यक सबै विवरण आयोगमा बुझाएको उनले बताए ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दल दर्ताका लागि आवश्यक कागजात प्राप्त भएसँगै अध्ययन गरेर आयोगको बैठकले दल दर्ताको निर्णय गर्ने बताए ।
राजपा नेपालको महŒवपूर्ण निर्णय पार्टीको अध्यक्ष मण्डलले गर्ने गर्छ । अध्यक्ष मण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा रहेका छन् । अध्यक्ष मण्डलको संयोजकमा ठाकुर र बाँकी पाँच नेता सदस्य रहेका छन् । अध्यक्ष मण्डलको संयोजक प्रत्येक दुई महिनामा चक्रीय प्रणालीअनुसार परिवर्तन हुने सहमति पनि पार्टी एकीकरणताका भएको थियो ।
निर्वाचनमा सहभागी नहुने
राजपा नेपालले आयोगमा दल दर्ताका लागि निवेदन दिए पनि स्थानीय तहको निर्वाचनमा सहभागी नहुने जनाएको छ । पार्टी एकीकरणपछि कानुनी मान्यताका लागि आयोगमा दल दर्ताको निवेदन दिएको राजपा नेपालले जनाएको छ ।
संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा वृद्धि गर्नुपर्नेलगायतका विभिन्न माग गर्दै आएको राजपा नेपालले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको छ ।
आफूहरूको माग पूरा नभएपछि निर्वाचनमा सहभागी नहुने राजपा नेता महतोले जिकिर गरेका छन् । सरकारले गरेको सहमति एवं सम्झौताअनुसार काम गर्नुपर्ने र निर्वाचनको वातावरण बनाए राजपा पनि निर्वाचनमा सहभागी हुने उनले बताए ।
राजपा नेपालका नेता वृजेशकुमार गुप्ताले असोज २ गते हुने प्रदेश २ को निर्वाचनअघि नै संशोधन प्रस्ताव पारित नभए आफूहरू निर्वाचनमा भाग नलिने स्पष्ट गरेका छन् । ‘संविधान संशोधन भएन भने राजपाले कुनै पनि निर्वाचनमा भाग लिँदैन,’ गुप्ताले बताए ।
संविधान जारी गर्दा तीन ठूला दलका नेताहरूले सदनमा सम्बोधन गरेर संविधानमा केही त्रुटि भएको बताउँदै आए पनि सम्बोधनमा इमानदारी नदेखाएको आरोप गुप्ताको छ । एमालेको सहमतिमै पहिलो संशोधन भएको बताउँदै अहिलेको संशोधनमा पनि एमाले सहमतिमा आउनुपर्ने तर्क उनले गरे ।
उनले दोस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिएको समेत बताउँदै प्रदेश ५ मा केही साथीले स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिए पनि राजपाले निर्वाचनमा भाग नलिएको बताए ।
Comments
Post a Comment