एमालेद्धारा उम्मेदवार छनौट
सुभाष साह
काठमाडौं, २७ जेठ
एमालेले प्रदेश नं. १, ५ र ७ मा स्थानीय तहका उम्मेदवार छनौट सम्पन्न गरेको छ । प्रदेश नं. २ मा उम्मेदवार छनौट अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।
१४ असारमा हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि एमालेले उम्मेदवार छनौट गर्ने काम पुरा भएको जनाएको छ । एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले प्रदेश नं. २ का उम्मेदवार छिटै टुंगो लाग्ने बताए । यस अघि नै एमालेले प्रदेश नं. ५ र ७ का उम्मेदवार टुंगो लगाईसकेको छ ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटीको बैठकले प्रदेश नं. १ को बिराटनगर महानगरपालिकाको प्रमुखमा बिनोद ढकाललाई उम्मेदवार बनाउँने निर्णय गरेको छ ।
उपप्रमुखमा परिस्थितिको बिश्लेषण र स्थानीय आवश्यक्ताको आधारमा अरु पार्टीसंग सहकार्य गरेर उम्मेदवार तोक्ने निर्णय गर्ने अधिकार प्रदेश प्रमुख एवं पार्टी केन्द्रीय सचिव भिम आचार्यलाई दिएको छ ।
यसैगरी धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाउँने पार्टीले निर्णय गरेको छ । यस्तै इटहरी उपमहानगरपालिकाको प्रमुमा द्धारिकलाल चौधरी र उपप्रमुखमा लक्ष्मी गौतमलाई उम्मेदवार बनाउँने निर्णय भएको सचिव भट्टराईले बताए ।
बैठकले हालै राष्ट्रिय जनता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका समिम मियाँ अन्सारीलाई पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको छ ।
ऐतिहासिक आवश्यकतालाई मनन गर्दै लोकतन्त्रको सुदृढिकरण, संघीयताको संस्थागत विकास र जनतालाई अधिकारसम्पन्न बनाउन आउने १४ असारमा हुने स्थानीय तहको दोश्रो चरण निर्वाचनमा सहभागि हुन सबै राजनीतिक दललाई बैठकले आहवान गरेको छ ।
यसैगरी बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरुलाई समेत ख्याल गर्दै हालै तीन राजनीतिक दलका बीचमा निर्माण भएको सहमती अनुसार दोश्रो चरणको निर्वाचन निस्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न र सम्पूर्ण मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने अवसर सृजना गर्न नेपाल सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।
Comments
Post a Comment