जनतावीच मधेसवादी दल, कोही मत माग्दै, कोही मत विगार्दै
सुभाष साह,
काठमाडौं, ९ असार
प्रमुख तीन मधेसबादी दल यतिबेला जनताको घरदैलोमा व्यस्त छन् । संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम जनताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु भने निर्वाचन बहिष्कारको एजेण्डासहित जनताबीच पुगिरहेका छन् ।
फोरम नेपाल र लोकतान्त्रिक फोरमका नेताहरु संबिधान संशोधन र आर्थिक समृद्धिका लागि बिकासका योजनाका मुद्धा लिएर जनताको घरघरमा पुगिरहेका छन् । निर्वाचनमा सहभागि यि दुई फोरमले स्थानीय निर्वाचनलाई संघर्षकै अर्को चरणको रुपमा लिएका छन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवले आफुहरुको चुनावी नारा नै संबिधान संशोधन, आर्थिक समृद्धिका लागि बिकासका मुद्धा रहेको बताए । फोरम नेपालका उम्मेदवारहरु घरदैलो, प्रचारप्रसार, आमसभा लगायतका काममा व्यस्त रहेको उनले बताए ।
‘संबिधान संशोधन बिरोधी दललाई बहिष्कार गर्न र मधेसी, आदीबासी, जनजातीलाई संबिधान संशोधन गरेर अधिकार दिन नखोज्ने दललाई मत नदिनु भन्दै हामी मत माग्दैछौं’ फोरम नेपालका महासचिव यादवले नेपालगंजवाट टेलिफोनमा भने, ‘जनता बिरोधी रहेका पार्टीलाई मतदान नगरी बहिष्कार गराउँन र हामीलाई मतदान दिनका लागि आग्रह गरिरहेका छौं ।’
स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक नगरेपनि संबिधान संशोधनका साथै स्थानीय यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका बिकाशे मुद्धा लिएर फोरम जनताका बीच पुगिरहेको उनले बताए ।
फोरम नेपाल र लोकतान्त्रिक फोरम संबिधान संशोधन, आर्थिक समृद्धिका लागि बिकासका मुद्धा लिएर जनताका घर घरमा पुगिरहेका बेला राजपा नेपाल भने निर्वाचन बिरोधी गतिबिधि गरिरहेको छ ।
राजपा नेपालका महासचिव मनिष सुमनले निर्वाचन बहिष्कार गर्नका लागि जनताकै बीचमा आमसभा, घरदैलो लगायतका कार्यक्रम गरिरहेको बताए । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृ शोक परेकाले उनी गृह जिल्ला सर्लाहीमा रहेको र बाँकी नेताहरु निर्वाचन बिरोधी कार्यक्रममा रहेको उनले बताए ।
पार्टीकै केही नेताहरु स्थानीय तहको निर्वाचनमा सहभागि भएको खबर आएपछि उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिने सुमनले बताए । संबिधान संशोधन नगरी भईरहेको निर्वाचन बहिष्कार गर्ने पक्षमा बिभिन्न कार्यक्रम गर्दै राजपा नेपालका नेताहरु अहिले बिभिन्न जिल्लाहरुमा व्यस्त रहेका छन् ।
तर तराइकै केही जिललहरुमा भने उनीहरु अघोषित रुपमा उमदवार खडा गरेर मत मागिरहेका छन् । राजपाकै नेताहरुका अनुसार स्थानीय तहको मत सुरक्षित गर्न स्वतन्त्र उमेदवर खडा गरी केही नेताहरुभने मत मागिरहेकाछन् ।
पहिलो चरणको निर्वाचनमा समेत सहभागी भएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, कोषाध्यक्ष बिजय यादव लगायतका नेताहरु प्रदेश १ को कमाण्ड सम्हाल्दै पुर्वी तराइका विभिन्न जिल्लाका कार्यक्रममा व्यस्त छन् । यस्तै फोरम नेपालकै वरिष्ठ नेता अशोक राई, उपाध्यक्षद्धय रकम चेम्जोङ्ग, हेमराज राई लगायतका नेताहरु प्रदेश १ को पहाडी जिल्लामा घरदैलोमा व्यस्त छन् ।
पुर्वको कार्यक्रम सकेर फोरम अध्यक्ष यादव ११ असारमा पश्चिम नेपालका विभिन्न जिल्लामा जाने कार्यक्रम छ । पश्चिममा महासचिव यादवका साथै उपाध्यक्ष लालबाबु राउत लगायतका नेताहरु बिभिन्न कार्यक्रममा व्यस्त छन् । फोरमले पार्टी केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो जिल्लामै खटाएको छ ।
लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले पनि संबिधान संशोधन, आर्थिक समृद्धिका लागि बिकासका मुद्धालाई उठाउँदै जनताका बीचमा पुगिरहेको बताए । कैलालीमा रहेका चौधरीले स्थानीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका मुद्धालाई आफ्नो चुनावी मुद्धा बनाएको बताए ।
‘संबिधान संशोधन बिरोधी दलका बिरुद्धमा संशोधन पक्षीय दलहरुको गठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएका छौं’ चौधरीले भने, ‘हामी संशोधन बिरोधी दललाई निर्वाचनकै माध्यमबाट पराजित गर्ने गरी तालमेल गरेर मतदाताको बीचमा पुगिरहेका छौं ।’
स्थानीय तहको निर्वाचन भईरहेकाले तालमेलको जिम्मेवारी पनि स्थानीय कमिटीलाई दिएको उनले बताए । एकाधबाहेक सबै ठाउँमा संबिधान संशोधन पक्षीय दलका बीचमा गठबन्धन बनाएको उनले बताए ।
Comments
Post a Comment