निर्वाचन जित्न तालमेलको सहारा
सुभाष साह,
काठमाडौं, ४ असार
आगामी १४ असारका लागि तोकिएको दोस्रो चरणको निर्वाचनमा दलहरुले पहिलो चरणको निर्वाचन जस्तै तालमेललाई पहिलो प्राथमिकता दिएका छन् ।
पहिलो चरणको निर्वाचनमा दलहरुले तालमेलका साथ चुनाव लडेपनि नतिजा भने खासै प्रभावकारी बनेन । तर, पहिलो चरणको निर्वाचनमा जस्तै सबै दलहरुले दोस्रो चरणको निर्वाचनमा पनि तालमेल नै रोजेका छन् । यो पटकको तालमेल पनि दलहरुले सिद्धान्त विचार भन्दा पनि आफू अनुकुल हुने गरी गरेका छन् । कुनै स्थानीय तहमा कांग्रेस माओवादीले तालमेल गरेका छन् । तर तालमेलको श्रृंखला हेर्ने हो भने कहीँ माओवादीका विरुद्ध नै कांग्रेस एमाले त कहीँ कांग्रेसकै विरुद्ध एमाले माओवादी समेत मिलेको पाइएको छ । दलहरुले आफू कमजोर भएकोमा सबैभन्दा बलियो दललाई हराउने गरी र कमजोर कमजोर मिलेर जित हासिल गर्ने उद्देश्यले तालमेल रोजेका छन् ।
१४ असारमा हुने एक मात्र महानगरपालिका विराटनगरको निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तारुढ दल नेपाल लोकतान्त्रिक फोरम नेपालबीच तालमेल भएको छ ।
विराटनगरमा एमालेले प्रमुख र लोकतान्त्रिक फोरमले उपप्रमुख लिएर एकअर्कालाई सहयोग गर्ने सहमति गरेका छन् । एमाले र लोकतान्त्रिक फोरमबीचको तालमेलले काँग्रेसलाई चुनौती थपिएको छ ।
विराटनगरमा एमालेले प्रमुखमा विनोद ढकाल र लोकतान्त्रिक फोरमले उपप्रमुखमा सुची चौधरीलाई उम्मेदवार बनाएको हो । लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य बेद गच्छदारले एमाले र फोरम लोकतान्त्रिकबीचको गठबन्धनले विजयी हासिल गर्ने जिकिर गरे ।
यता विराटनगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल बीच चुनावी तालमेल भएको छ । माओवादी र फोरमबीच विराटनगरका साथै जिल्लाका अन्य ठाउँमा पनि चुनावी तालमेल गरेर अघि बढने सहमति भएको फोरम नेपालका महासचिव रामसहाय यादवले बताए ।
विराटनगरमा फोरमको तर्फबाट उमेश यादव प्रमुख र माओवादी केन्द्रकी नमिता न्यौपाने उपप्रमुखको उम्मेदवार रहेका छन् । माओवादी केन्द्र मोरङका अध्यक्ष गोपी अछामीले जिल्लाभरी नै फोरमसंग चुनावी तालमेल गरेर एकअर्कालाई सहयोग गर्ने सहमति भएको बताए ।
फोरम नेपालका महासचिव यादवका अनुसार विराटनगरका साथै कटहरी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई नगरपालिकामा माओवादीसँग चुनावी तालमेल भएको र अरु ठाउँमा पनि तालमेलको प्रयास भइरहेको बताए ।
यता झापाको दमकमा फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त मनोनयन दर्ता गराएका छन् । दुवै पार्टीले आइतबार संयुक्त उम्मेद्वारी दर्ता गराएको फोरम नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले बताए ।
दमक नगरपालिकाको प्रमुखमा सतिश साह र उपमेयरमा गंगा सागर शेर्माको उम्मेद्वारी परेको छ । साह नयाँ शक्ति र शेर्मा फोरम नेपालका उम्मेद्वार हुन् । दमकको चुनावी माहोलमा फोरम र नयाँ शक्ति बीचको तालमेलले प्रतिस्पर्धि दलमा निकै चर्चाको बिषय बनेको संयोजक देवानले बताए ।
झापाकै सबै १५ वटै गाउँ तथा नगरपालिकामा चुनावी तालमेल गरे अघि बढने गरी छलफल चलिरहेको फोरम नेपाल, झापाका सचिव सुशील राईले बताए । फोरमले नयाँ शक्ति सहित अन्य दलहरुसँग पनि तालमेल गरेर उम्मेद्वारी दिएको बताए । पहिचान विरोधी एमाले र गणतन्त्र विरोधी राप्रपासँग भने जिल्लाको कुनै पनि स्थानीय तहमा तालमेल नगरिएको राईले बताए ।
यता बुटवल उपमहानगरपालिकामा काँग्रेस र माओवादी केन्द्रको बीचमा तालमेल भएको छ । काँग्रेसवाट प्रमुखमा खेलराज पाण्डेय र माओवादीबाट जगा पोखरेल उपप्रमुख लिएर बुटवलमा चुनावी तालमेल गरिएको हो ।
बुटवलमै नयाँ शक्ति, फोरम नेपाल, जनमोर्चा, माले, अखण्ड पार्टीका बीचमा तालमेल भएको छ । यि दलबाट प्रमुखमा होमबहादुर गलामीलाई प्रमुखमा उम्मेदवारी दिईएको छ । पाल्पाको रामपुर नगरपालिकामा एमाले र माओवादी बीच तालमेल भएको छ ।
रोल्पाको थवाङ्ग गाउँपालिकामा निर्वाचनको बिरोध गर्दै आएको चन्द माओवादी र काँग्रेसका बीचमा तालमेल भएको छ । अमित घर्ती माओवादीबाट प्रमुख र श्रीकुमारी रोका काँग्रेसबाट उपप्रमुखको उम्मेदवार भएका छन् ।
माडी गाउँपालिकामा प्रमुख दुई दल काँग्रेस र एमाले बीच नै चुनावी तालमेल भएको छ । काँग्रेसको तर्फबाट गोपाल घर्ती प्रमुख र एमालेबाट प्रेम घर्ती उपप्रमुख भएका छन् ।
अर्घाखाचीको चार स्थानीय तहमा काँग्रेस र माओवादीका बीचमा चुनावी तालमेल भएको छ । शिवगंगा नपामा सुर्यप्रसाद अधिकारी काँग्रेसबाट प्रमुख र टिका रेशमी माओवादीबाट उपप्रमुखको उम्मेदवार भएका छन् ।
संधिखर्क गाउपालिकामा काँग्रेसबाट कमलप्रसाद भुषाल प्रमुख र माओवादीबाट ठाकुरकुमार बिक उपप्रमुखको उम्मेदवार भएका छन् । भुमिकास्थानमा माओवादीबाट रेशम थापा प्रमुख र काँग्रेसबाट खडानन्द बेलबासे उपप्रमुखको उम्मेदवार भएका छन् । यस्तै मालारानी गाउँपालिकामा माओवादीबाट पदम क्षेत्री प्रमुख र काँग्रेसबाट शान्ता खनाल उपप्रमुखको उम्मेदवार भएका छन् ।
प्रमुख दल काँग्रेस, एमाले, माओवादीका साथै फोरम नेपाल, नयाँ शक्तिले स्थानीय कमिटीलाई नै चुनावी तालमेल गर्ने अधिकार दिए अनुसार गठबन्धन निर्माण भईरहेको छ ।
Comments
Post a Comment