सरकारको निर्णयले राजपा नेपालका नेता दुई चिरामा बिभाजित

सुभाष साह
काठमाडौं, १ असार

सरकारको पछिल्लो निर्णयसंगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य दुई चिरामा बिभाजित भएका छन् । 

सरकारले बिहिबार प्रदेश नं. २ को स्थानीय तह निर्वाचन तेस्रो चरणमा गर्ने र प्रदेश नं. १, ५ र ७ को निर्वाचन १४ असारमै दोस्रो चरणमा गर्ने तर उम्मेदवारी दुई दिन पर सार्दै ४ असारमा गर्नेण निर्णय गरेको छ । 

निर्वाचन आयोगको सल्लाहमै निर्वाचन मिति र उम्मेदवारी दिने मिति परिर्वतन भए पनि निर्वाचन आयोगले त्यसमा आपती जनाएको छ । यस अघि पटक पटक सार्दै प्रदेश नं. १, २, ५ र ७ को निर्वाचन १४ असारमा गर्ने र उम्मेदवारी २ असारमा गर्ने निर्णय भएको थियो । 

आन्दोलनरत राजपा नेपाल सहितको संघीय गठबन्धनको माग पुरा गर्ने र उनीहरुलाई समेत निर्वाचनमा सहभागि गराउँने उदेश्यले सरकारले निर्वाचन मिति सार्दै गईरहेको छ । 

सरकारको यो पछिल्लो निर्णयले आन्दोलनरत राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरु दुई चिरामा बिभाजित भएका छन् । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, राजकिशोर यादवले सरकारको निर्णयको आलोचना गर्दै शसक्त आन्दोलन गर्ने पक्षमा उभिएका छन् । 

तर राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिलकुमार झाले सरकारको निर्णयलाई सकारत्मक भन्दै निर्वाचनमा सहभागि हुने पक्षमा उभिएका छन् । अध्यक्ष मण्डलका संयोजक रहेका महन्थ ठाकुर भने मौन जस्तो उभिएको देखिए पनि उनी पनि आन्दोलनकै पक्षमा उभिएको स्रोतको दावी रहेको छ । 

महतो र यादवले सरकारको पछिल्लो निर्णयको कडारुपमा आलोचना गर्दै आन्दोलन स्थगित नगरी आन्दोलनलाई शसक्त रुपमा अगाडी बढाउँने र निर्वाचनमा सहभागि नहुने बताएका छन् । 

‘संबिधान संशोधन, स्थानीय तहको संख्या बढाउँने, मुद्धा फिर्ता, क्षतिपुर्ति, शहिद घोषणा लगायतका माग पुरा भएको छैन्, हाम्रो माग निर्वाचन मिति सार्ने नभई हाम्रा मुद्धा सम्बोधन गर्नुपर्ने हो’ सर्लाहीमा रहेका महतोले राजधानीलाई भने, ‘सरकारको पछिल्लो निर्णयले मधेसलाई फोरो और राज करो जस्तै छ, यसमा हाम्रो सहमती छैन्, हामी आन्दोलन शसक्त रुपमा अगाडी बढाउँछौं ।’

सिंगो मधेसमा दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णय स्वीकार्य नभएको बताउँदै महतोले जारी आन्दोलनलाई शसक्त रुपमा अगाडी बढाउँने र निर्वाचनमा राजपा सहभागि नहुने स्ष्पट गरेका छन् । 

महतोको भनाईलाई नै समर्थन गर्दै यादवले सरकारको निर्णय मधेस र मधेसी जनताका लागि घातक भएको टिप्पणी गर्दै राजपा नेपाल निर्वाचनमा सहभागि नभई जारी आन्दोलनलाई नै निरन्तर्ता दिने बताएका छन् । 

तर महेन्द्रराय यादव, भण्डारी, झाले सरकारको पछिल्लो निर्णय सकारात्मक रहेको भन्दै आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागि हुने संकेत गरेका छन् । 

‘सरकारको पछिल्लो निर्णय सकारात्मक छ, यस बिषयमा हामी बैठकमा छलफल गर्छ’ झाले भने, ‘तर हाम्रो माग निर्वाचन मिति सार्ने नभई संबिधान संशोधन, स्थानीय तहको संख्या बढाउँने हो यि मुख्य माग सम्बोधन भएको भए हामी ३१ बैशाखकै निर्वाचनमा सहभागि हुन्थ्यौं ।’

तर सरकारले पछिल्लो निर्णयले सकारात्मक रहेकाले जारी आन्दोलन स्थगित गरेर निर्वाचनमा सहभागि हुने बिषयमा निर्णय गरिने झाले बताए । 

आन्दोलन जारी राख्ने वा स्थगित गरेर निर्वाचनमा सहभागि हुने भन्ने बिषयमा निर्णय गर्नका लागि राजपा नेपाल अध्यक्ष मण्डलको बैठक शुक्रबार काठमाडौंमा बस्दैछ । अध्यक्ष मण्डलका सदस्यहरु आन्दोलनका क्रममा मधेसमा रहेकाले उनीहरुलाई शुक्रबार दिउँसो सम्ममा काठमाडौं आईपुग्न ठाकुरले निर्देशन दिएका छन् । 

यता यादव, भण्डारी, झा समुहले महतो, यादव समुहलाई पेलेरै जाने र जारी आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागि हुने आन्तरिक तयारीलाई तिब्र बनाएका छन् । अर्का तर्फ महतो, यादव समुहले यादव, भण्डारी, झा समुहलाई पेलेरै जाने र माग पुरा नभएकाले जारी आन्दोलनलाई शसक्त बनाउँने आन्तरिक तयारीमा जुटेका छन् । 



Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’