काँँग्रेस र एमालेको पहिलो हुने दावी
सुभाष साह,
काठमाडौं, १० असार
प्रदेश नं. १, ५ र ७ मा स्थानीय तहको निर्वाचन १४ असारमा हुदैछ । ठूला दलहरुले निर्वाचनमा आफू नै पहिलो हुने दावी गरेका छन् । एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र दुई सय १५ गाउँपालिकामा दोस्रो चरणको स्थानीय तह निर्वाचन हुदैछ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले एमालेको अग्रतालाई तोडने गरी स्थानीय तह जित्ने दावी गरेको छ । काँग्रेस नेता अर्जुननरसिंह केसीले पहिलो र दोस्रो चरणको निर्वाचन परिणाम जोडदा एमाले भन्दा काँग्रेस पहिलो शक्ति बन्ने दावी गरे ।
यधपी काँग्रेसले दोस्रो चरणको निर्वाचनमा कति ठाउँमा जित्ने भन्ने आंकलन गर्न सकेको छैन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका साथै शिर्ष नेताहरुले बिभिन्न जिल्लाको र्याली, आमसभा लगायतका प्रचार प्रसार काममा व्यस्त रहेका छन् ।
पहिलो चरणको निर्वाचनमा एक सय २५ स्थानीय तह जितेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो चरणको निर्वाचनमा पनि एक सय ८५ भन्दा बढी तहमा जित्ने दावी गरेको छ । एमाले सचिव प्रदिप ज्ञवालीले तीन प्रदेश गरी एक सय ८५ भन्दा बढी तह जितेर पहिलो शक्ति बन्ने दाबी गरे ।
एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल सहित शिर्ष नेताहरु स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन जिल्ला जिल्लामा खटिरहेका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा एक सय भन्दा बढी स्थानीय तह जित्ने दावी गरेको छ । माओवादी प्रवक्ता पम्पा भुषालले दोस्रो चरणको निर्वाचनमा पार्टीले एक सय भन्दा बढी स्थानीय तह जित्ने गरी चुनावी मैदानमा उत्रिसकेको दावी गरिन ।
पहिलो चरणको निर्वाचनमा ४६ स्थानीय तह जितेको माओवादीले दोस्रो चरणमा त्यो भन्दा राम्रो परिणाम ल्याउँने जिकिर गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथै शिर्ष नेताहरु पार्टीका उम्मेदवालाई जिताउँनका लागि गाउँ गाउँसम्मका बिभिन्न कार्यक्रममा व्यस्त रहेको भुषालले बताईन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा एक एक तह जितेको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको निर्वाचनमा संख्यात्मक रुपमा राम्रो नतिजा ल्याउँने दावी गरेका छन् ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले पहिलो चरणको निर्वाचनबाट पाठ सिकेर दोस्रो चरणको निर्वाचनमा पार्टी राम्रो स्थान ल्याउँने दावी गरे । यधपी राप्रपाले कति स्थानीय तह जित्ने भन्ने आकलन गरेको छैन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टी पहाडमा केही कमजोर देखिए पनि मधेसका जिल्लाका अधिकांश स्थानीय तह जित्ने दावी गरेका छन् । फोरमले यति नै संख्या जित्ने आकडा ननिकाले पनि मधेसका स्थानीय तह प्राय सबै जित्ने ठोकुवा यादवले गरे ।
फोरमले पार्टी केन्द्रीय सदस्य, सांसद एवं भातृसंगठनलाई सम्बन्धित जिल्लामा परिचालन गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षत्रय लालबाबु राउत, रकम चेम्जोङ्ग, हेमराज राई, कोषाध्यक्ष बिजय यादव लगायतका नेताहरु निर्वाचनमा खटिरहेको महासचिव यादवले बताए ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा सहभागि नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तहमा पनि प्रमुख नजितेको भए पनि दोस्रो चरणमा एक सय भन्दा बढी तह जित्ने दावी गरेको छ । लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजन्म चौधरीले दोस्रो चरणको निर्वाचनमा पार्टीको अवस्था बलियो रहेकाले सयभन्दा बढी तहमा जित्ने दावी गरेका छन् । फोरम नेपाल जस्तै लोकतान्त्रिक फोरम पनि मधेसका स्थानीय तहमा जित्ने आकलन गरेको छ ।
Comments
Post a Comment