राजपाको सकस, नेताको जोड आन्दोलनतिर कार्यकर्ता निर्वाचनतर्फ
सुभाष साह
काठमाडौं, २७ जेठ
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताले आन्दोलनको रटान रटदै गर्दा पार्टीका स्थानीय नेताकार्यकर्ता निर्वाचनको पक्षमा देखिएका छन् । स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई निर्वाचनमा सहभागि हुने बाताबरण बनाउँन दबाब दिईरहेका छन् ।
२० बर्ष पछि भईरहेको स्थानीय तहको निर्वाचनमा सहभागि हुनुपर्ने माग गर्दै स्थानीय नेता कार्यकर्ताले आन्तरिक रुपमा दबाब दिईरहेका छन् । तर केन्द्रीय तहका नेताहरु संबिधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा निर्धारण, क्षतिपुर्ति, झुठा मुद्धा फिर्ता लगायतका माग पुरा नभएकाले निर्वाचनमा सहभागि नहुने अडानमा रहेका छन् ।
सरकारले पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरिसकेको छ । दोस्रो चरणको निर्वाचन १४ असारमा गर्ने तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । राजपा नेताकै आग्रहमा दोस्रो चरणको निर्वाचन मिति दुई पटक परिवर्तन भईसकेको छ ।
सरकारले १४ असारमा जसरी पनि निर्वाचन गर्ने पक्षमा रहेको छ । तर राजपा नेताहरु माग पुरा नभई हुने निर्वाचन बिथोल्ने रणनीतिमा जुटेका छन् । राजपाका स्थानीय नेता एवं कार्यकर्ता निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा दबाब दिईरहेका छन् ।
राजनीतिक बिश्लेषक डा. राजेश अहिराजले राजपा नेताको धार, धार्मा र धारातल प्रष्ट नभएका कारण मधेसी जनताले दुःख पाईरहेको बताएका छन् । दुबिधाको राजनीतिकलाई राजपाका नेताले सुबिधामा बदलिरहेको अहिराजले बताए ।
‘मधेसको गाउँ, शहर कसैको पेवा होईन्, मधेसी जनताले आफ्नो मताधिकार पाउँनुपर्छ’ अहिराजले राजधानीसंग भने, ‘राजपाका नेताले प्रधानमन्त्रीको निर्वाचनमा सहभागि भएर आफ्नो मताधिकार प्रयोग गर्न पाउँने तर ति मधेसी जनताको मताधिकार रोक्ने अधिकार कसैलाई छैन् ।’
राजपा नेपालका सांसदले प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवालाई मतदान गरे र देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले राजपा सत्तारुढ पार्टी भएको नाताले सरकारका हरेक निर्णय कार्यान्वयन गर्नुपर्ने अहिराजले बताए । तर सरकारको निर्णय कार्यान्वयन नगर्ने, उलंघन गर्ने अधिकार राजपा नेतासंग नभएको बताउँदै उनले दोहोरो चरित्र त्याग्नुपर्ने बताए ।
कलैया उपमहानगरपालिकाका बिनयकुमार यादवले मधेसी नेता जस्तै मधेसी जनताले पनि आफ्नो मताअधिकार प्रयोग गर्न पाउँनुपर्ने बताउँछन् । सरकारले पनि मधेसी जनताको माग सम्बोधन गर्नुमा ढिलाई नगरी राजपालाई पनि निर्वाचनमा सहभागि हुने बताबरण बनाउँनुपर्ने उनी बताउँछन् ।
मधेस आन्दोलनको केन्द्र बिन्दु मध्येको कलैया, वीरगंज, गौर, जलेश्वर, राजबिराज, मलंगवा, जनकपुर, परासी, भैरहवा, नेपालगंज लगायतका ठाउँमा राजपाका स्थानीय नेता कार्यकर्ताहरु निर्वाचनमा सहभागि हुने आन्तरिक तयारीमा जुटेका छन् । उम्मेदवार को हुने र निर्वाचनमा सहभागि हुने वाताबरण बनाउँनुपर्ने भन्दै उनीहरुले दबाब दिईरहेका छन् ।
तर राजपाका शिर्ष नेताहरु मधेस आन्दोलनको माग पुरा नभएकाले निर्वाचन कुनै पनि हालतमा हुन नदिने भन्दै निर्वाचन बिथोल्नलाई निर्देशन दिईरहेका छन् । राजपा नेपालले निर्वाचन बिथोल्ने गरी आईतबार (आज) आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसैबीच राजपा निर्वाचनमा सहभागि नभई आन्दोलनको रणनीति तय गरेपछि पार्टी सहमहामन्त्री समिम मियाँ अंसारीले पार्टी परित्याग गरे । अंसारी जस्तै सयौं नेता कार्यकर्ता राजपा परित्याग गर्दै एमाले, माओबादी, काँग्रेस र फोरम नेपालमा प्रबेश गरिसकेका छन् ।
राजपा नेपालकै सहमहामन्त्री राजकुमार गुप्ताले लहानमा आयोजित एक कार्यक्रमका बीचमा राजपा परित्याग गरी फोरम नेपालमा प्रबेश गरिसकेका छन् ।
रौतहटमा आयोजित कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य धिरेन्द्र यादवले पनि पार्टी परित्याग गरी फोरम नेपालमा प्रबेश गरिसकेका छन् ।
राजपा नेपालका महासचिव केशव झाले पार्टीले सिद्धान्त, बिचार छोडने नसक्ने बताउँदै केही नेता, कार्यकर्ताले पार्टी छोडदैमा सिद्धान्त परिवर्तन गर्न नमिल्ने बताएका छन् ।
Comments
Post a Comment