मधेसवादी दल, कोही उम्मेदवार छान्दै निर्वाचन जित्ने रणनीतिमा, कोही आन्दोलन बिथोल्ने तयारीमा
सुभाष साह
काठमाडौं, २६ जेठ
मधेसवादी प्रमुख तीन दल अहिले कोही स्थानीय तहको उम्मेदवार छान्दै छ भने कोही निर्वाचन बिथोल्ने योजनामा रहेको छ ।
नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्नमा व्यस्त छ । तर अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले गाउँ–गाउँ एवं बुथहरुमा निर्वाचन बिथोल्न कमिटी गठन गर्दै शसक्त आन्दोलनको तयारीमा जुटेको छ ।
१४ असारमा प्रदेश नं. १, २, ५ र ७ मा हुने दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका लागि फोरम लोकतान्त्रिक र फोरम नेपालका नेताहरु उम्मेदवार छनौट गर्नमा व्यस्त रहेका छन् ।
पहिलो चरणको निर्वाचनमा सहभागि यि दुबै दल दोस्रो चरणको निर्वाचनमा पनि सहभागि हुने र निर्वाचनमा बिजयी हुनका लागि गठबन्धन नै निर्माण गरेर निर्वाचन लडने तयारी गरिरहेका छन् ।
लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दुकुमार मल्लिकले उम्मेदवार छान्न जिल्ला जिल्लामा पार्टीले केन्द्रीय प्रतिनिधि तोकेर पठाईसकेको बताएका छन् । वीरगंज, बिराटनगर, कलैया, जनकपुर लगायतका केही महत्वपुर्ण ठाउँ बाहेक सबै ठाउँमा उम्मेदवार छनौट भईसकेको बताउँदै उनले शनिबार सम्ममा सबै ठाउँमा उम्मेदवार छनौट गरिसक्ने बताए ।
‘हाम्रो उम्मेदवार छनौट गर्ने काम अन्तिम चरणमा पुगेको छ, जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाईसकेका छौं’ मल्लिकले राजधानीसंग भने’ ‘निर्वाचनमा अधिकत्म उपलब्धि र आवश्यक्ताका आधारमा गठबन्धन निर्माण गरेरै निर्वाचनमा सहभागि हुन्छौ ।’
चुनावी गठबन्धन निर्माणका लागि जिल्ला कमिटीहरुलाई नै अधिकार दिएको उनले बताए । फोरम नेपाल सहितका दलसंग गठबन्धन निर्माण हुन सक्ने उनको भनाई रहको छ ।
सम्बन्धित गाउँपालिका र नगरपालिकाको सिफारीमा जिल्ला कमिटीले प्रमुख र उपप्रमुखको टुंगो लगाउँने अधिकार फोरम लोकतान्त्रिकले दिएको छ । यस्तै वडा अध्यक्ष र सदस्यको उम्मेदवार सम्बन्धित वडा कमिटीको सिफारिसमा माथिल्लो कमिटीले अनुमोदन गरेपछि उम्मेदवारको टुंगो लाग्ने मापदण्डको व्यवस्था गरेको छ ।
उम्मेदवार छनौट गर्दा सर्वसहमत गर्ने, सर्वसहमत हुन नसके बढीमा तीन जना उम्मेदवारको नामावली सम्बन्धित कमिटीले सिफारिस गर्नुपर्ने फोरम लोकतान्त्रिकले जनाएको छ । बिबाद भएको ठाउँको हकमा केन्द्रीय कमिटीले उम्मेदवारको अन्तिम टुंगो लगाउँने लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य बेद गच्छदारले बताए ।
फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले छिटो उम्मेदवार छनौट गर्नपर्ने निर्देशन स्थानीय कमिटीलाई दिएको बताए । गाउँ, नगरमा उम्मेदवार छनौट गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको उनले बताएका छन् ।
फोरम नेपाल र नयाँ शक्ति एउटै चुनाव चिन्हमा निर्वाचन लडिरहेको बताउँदै उनले दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमसंग चुनावी गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागि हुनेमा छलफल चलिरहेको बताएका छन् ।
निर्वाचनलाई पनि आन्दोलनकै रुपमा लिएर जनताका बीचमा जान लागेको बताउँदै उनल निर्वाचन पनि अर्को संघर्ष नै रहेको बताए ।
फोरम नेपालले गाउँपालिका, नगरपालिकाको वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनौट गाउँपालिका र नगरपालिका कमिटीलाई दिएको छ । गाउँपालिका, नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले अन्तिम टुंगो लगाउँने मापदण्ड बनाएको छ । यसैगरी महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उप्रमुखका उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले अन्तिम टुंगो लगाउँनेछ ।
राजपा आन्दोलनको तयारीमा
संबिधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण लगायतका माग थाती राख्दै लोकतान्त्रिक फोरम र फोरम नेपालले निर्वाचन जित्ने रणनीतिका साथ अगाडी बढीरहदा राजपा नेपाल भने आन्दोलन बिथोल्ने रणनीतिमा लागेको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संबिधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण, झुठा मुद्धा फिर्ता, शहिद परिवारलाई क्षतिपुर्ति लगायतका माग पुरा नभएकाले आन्दोलनको बिकल्प नभएको बताएका ।
निर्वाचन बिथोल्ने गरी शसक्त आन्दोलनको तयारीका लागि राजपाले अहिले मधेसका गाउँ गाउँ एवं बुथहरुमा आन्दोलन परिचालन कमिटी गठन गर्दै प्रशिक्षण दिईरहेको छ ।
प्रमुख तीन दल जनताको माग पुरा नगरी जबरजस्ती निर्वाचन गरेर द्धन्द्धलाई निम्ता दिईरहेको आरोप महतोले लगाएका छन् । २० बर्ष सम्ममा नभएको निर्वाचन जनताको माग पुरा गरेर एक दुई महिना पछि गर्दा समस्याको समाधान हुने सुझाव दिदै उनले प्रमुख दलनै देशलाई बर्बाद गर्ने दिशामा लागेको बताए ।
‘जनताको माग पुरा नभएकाले मधेसमा निर्वाचन हुन सक्दैन्, मधेसी जनताले आफ्नो माग पुरा नगरी हुने निर्वाचन स्वीकार गर्ने पक्षमा छैनन्’ महतोले भने, ‘जनताको समस्या समाधान नगरी निर्वाचन यहाँ कसैले गराउँन सक्दैन, हामी हुन दिन्नौं ।’
संबिधान संशोधन, स्थानीय तहको संख्या लगायतका माग पुरा गरेर हुने निर्वाचनमा राजपा पनि सहभागि हुने उनले बताएका छन् । प्रधानमन्त्रीको निर्वाचन काँग्रेससंग तीन बुँदे सहमती गरेको बताउँदै त्यो सहमती सरकारले पुरा गर्नुपर्ने बताए । सहमती कार्यान्वयन नगरी सरकारले गराउँने निर्वाचन बिथोल्ने चेतावनी उनले दिएका छन् ।
Comments
Post a Comment