संघीय फोरमद्वारा उम्मेदवार छनोट गर्न पत्राचार, १४ गतेसम्म उम्मेदवार छनोट गरिसक्ने
सुभाष साह
काठमाडौं, ५ जेठ
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्न जिल्ला कमिटीलाई पत्राचार गरेको छ । प्रदेश–३, ४ र ६ मा भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सहभागी फोरम नेपालले दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने निर्णयबमोजिम जिल्लाजिल्लामा पत्राचार गरेको हो ।
३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रदेश–१, २, ५ र ७ का जिल्लामा फोरम नेपालले उम्मेदवार छनोट गर्न पत्राचार गरेको हो । १४ जेठभित्र उम्मेदवार छनोट गरिसक्नुपर्ने पत्रमा उल्लेख छ ।
तराई मधेसका एक जिल्ला अध्यक्षले १४ जेठभित्रमा उम्मेदवार छनोट गरिसक्नुपर्ने फोरम नेपालको केन्द्रीय कमिटीको निर्देशनात्मक पत्र प्राप्त भएको बताए ।
संघीय फोरमले उम्मेदवार छनोटको मापदण्डसमेत तोकेर जिल्ला कमिटीलाई पत्राचार गरेको छ । फोरम नेपालले उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी सम्बन्धित नगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको छ । जसअनुसार वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट गाउँपालिका र नगरपालिका कमिटीले गर्नेछ । त्यस्तै, गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले तय गर्नेछ । त्यसैगरी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले अन्तिम टुंगो लगाउने फोरम नेपालका एक पदाधिकारीले राजधानीलाई बताए ।
सम्बन्धित कमिटीले उम्मेदवारको सिफारिस गर्दा सर्वसम्मत नभएको अवस्थामा तीनजना आकांक्षीको नाम सिफारिस गर्नुपर्नेछ । गाउँपालिका र नगरपालिका कमिटीले कहिलेसम्ममा उम्मेदवार छनोट गर्ने भन्ने मापदण्ड बनाउने अधिकार जिल्ला कमिटीले पाएको छ । जिल्ला कमिटीको तोकेको समयसीमाभित्र सम्बन्धित कमिटीले उम्मेदवार छनोट गरिसक्नुपर्ने हुन्छ ।
फोरम नेपालको पदाधिकारी मात्रै रहने कार्यसम्पदान समितिको बसेको बैठकको निर्णयअनुसार उम्मेदवार छनोट गर्न जिल्ला जिल्लामा पत्राचार गरिएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनमा आबद्ध दलहरूले संविधान संशोधन नभई मधेसमा कुनै पनि निर्वाचन हुन नदिने, निर्वाचनमा सहभागी नहुने र जबर्जस्ती गर्न खोजिने निर्वाचन बिथोल्ने चेतावनी दिँदै आएको छ । तर केही दिनअघि मात्र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ‘बुलेटको जवाफ ब्यालेट’बाट दिने भन्दै निर्वाचनमा जाने संकेत गरेका थिए
यता फोरम नेपालले संविधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निधारण गर्नुपर्ने विषयमा प्रमुख राजनीतिक दलसँग छलफलसमेत गरिरहेको छ ।
उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको स्थानीय तहको संख्या बढाउन गठन गरिएको अध्ययन समितिसँग शुक्रबार सिंहदरबारमा छलफल भएको छ । छलफलमा सहभागी फोरम नेपालका अध्यक्ष यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलगायत नेताले जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने सुझाव दिएका छन् ।
छलफलमा समितिका सदस्य समेत रहेका कानुनमन्त्री अजयशंकर नायक, रक्षामन्त्री बालकृष्ण खाँ, फोरम नेपालका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत, राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लालगायत नेताहरू सहभागी रहेका थिए ।
Comments
Post a Comment