निर्वाचनमा सहभागि नहुने निर्णय गर्दै राजपा नेपाल सहितको गठबन्धनद्धारा आन्दोलनका कार्यक्रम घोषणा
सुभाष साह
काठमाडौं, १२ जेठ
राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
राजपा नेपालको बिजुलीबजार स्थित पार्टी कार्यालयमा गठबन्धनले शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रम घोषणा गर्दै राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले संघीय गठबन्धनको २६ बुँदे, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे माग र सरकारसंग भएको तीन बुँदे सहमती कार्यान्वयन नभएकाले निर्वाचनमा सहभागि हुन नसकिने बताए ।
संबिधान संशोधन, स्थानीय तहको संख्या मधेसमा जनसंख्याको आधारमा गर्नुपर्ने, मधेस, थरुहट आन्दोलनका क्रममा लगाईएका झुठा मुद्धा फिर्ता गर्ने निर्णय भए पनि कार्यान्वयन नभएको लगायतका माग पुरा नभएको गठबन्धनले जनाएको छ ।
राजपा नेपाल सहित आन्दोलनरत पार्टीलाई निर्वाचनमा सहभागि गराउँने उदेश्यले सरकारले हालै मधेसमा २२ वटा स्थानीय तह थप गर्दै वीरगञ्ज र बिराटनगरलाई उपमहानगरपालिकाबाट महानगरपालिका बनाएको र २२ गाउँपालिकालाई नगरपालिका बनाउँने निर्णय गरेको थियो ।
तर राजपा नेपालका महामन्त्री जितेन्द्र सिंहले मधेसमा एक सय १० वटा स्थानीय तहको संख्या थप्ने सुझाव दिएपनि सरकारले सोअनुसारको निर्णय नगरेकाले त्यसलाई मान्न नसकिने बताएका छन् ।
संघीय गठबन्धनका संयोजक समेत रहेका ठाकुरले महिनौ सम्मको आन्दोलनमा पाँच दर्जन भन्दा बढीले शाहादत दिएको, सयौं पटक बार्ता गरेको, सदनमा समेत लगातार अवरोध गर्दै आएको सरकारले सहमती गर्ने तर कार्यान्वयन नगर्ने कारणले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
यस्तै संसदमा रहेका बिभिन्न ६ राष्ट्रिय पार्टीहरु मिलेर बनेको राजपा नेपाल सहितका अन्य दललाई निर्वाचन आयोगमा दर्ता प्रक्रिया, निर्वाचन चिन्ह प्रदान गर्ने बिषयमा कानुनी अडचन देखाई निर्वाचनमा सहभागि हुनबाट निषेध गर्न खोजिएको आरोप लगाएको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफुहरुको माग पुरा नभई हुने कुनै पनि निर्वाचनमा सहभागि नहुनुका साथै निर्वाचन समेत हुन नदिने चेतावनी दिएका छन् । निर्वाचन गराउँनुभन्दा अघि राजपा नेपाल सहितको गठबन्धनले अघि सारेको माग पुरा गर्नुपर्ने उनी बताउँछन् ।
प्रदेश नं. १, २, ५ र ७ मा सरकारले दोस्रो चरणको निर्वाचन गर्नका लागि १९ जेठमा उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । गठबन्धनले उम्मेदवारी दर्तालाई बिथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
गठबन्धनले १३ जेठमा उपमहानगरपालिका, नगरपालिका र सदरमुकाममा मसाल जुलुश प्रदर्शन गर्ने, १४ गते जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा लाठी जुलुश प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
१५ गते बिभिन्न संघसंस्थाका प्रतिनिधि, उधोगी व्यापारी, बुद्धिजिवि, बिभिन्न पेशाकर्मी, पत्रकार, युवा, छात्र, मजदुर लगायतकासंग बृहत अन्तरक्रिया कार्यक्रम गर्ने र साँझमा गणतन्त्र दिवसको अवसरमा आन्दोलनका शहिदहरुको सम्झनामा सबै मुख्य चौक चौराहामा मैनबती बालि श्रद्धाञ्जली अर्पण गर्ने गठबन्धनले जनाएको छ ।
यसैगरी १६ गते प्रत्येक जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाको निर्वाचन कार्यालयहरुमा तालाबन्दी र घेराउँ गर्ने, १७ गते सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबाजारमा मसाल जुलुश प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । १८ र १९ गते मधेस, थरुहट, लिम्बुवानमा बन्द, आमहडताल, उम्मेदवारी प्रक्रियालाई सक्रियताका साथ अवरोध गर्ने गठबन्धनले जनाएको छ ।
आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु अघि राजपा नेपाल अध्यक्ष मण्डलको बैठक बसेको थियो । राजपा नेपालको बैठक सकिए लग्तै गठबन्धनको बैठक बसेर आन्दोलनका कार्यक्रम तय भएको हो ।
राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष ठाकुर, सदस्यहरु महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा सहित गठबन्धनका नेताहरुको सहभागितामा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।
पहिलो चरणको आन्दोलन सकिएपछि दोस्रो चरणको आन्दोलका कार्यक्रम घोषणा गरिने गठबन्धनले जनाएको छ ।
हामी निर्वाचनमा सहभागि हुन्छौं–फोरम
राजपा नेपाल सहितको संघीय गठबन्धनले निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपनि संघीय समाजबादी फोरम नेपालले दोस्रो चरणको निर्वाचनमा सहभागि हुने जनाएको छ ।
संबिधान संशोधन सहित बिभिन्न माग गर्दै संगै आन्दोलनमा रहेका प्रमुख एक शक्ती फोरम नेपाल हो । फोरम नेपालका महासचिव रामसहाय यादवले राजपा सहितको गठबन्धनको निर्वाचनमा सहभागि नहुने र आन्दोलन गर्ने निर्णय मधेस र मधेसी जनताको हकहित विपरित रहेको बताएका छन् ।
‘गठबन्धनले निर्वाचनमा सहभागि नहुने र आन्दोलन गर्ने गरेको निर्णय मधेस र मधेसी जनताको हितविपरित रहेको छ’ यादवले राजधानीसंग भने, ‘हामी निर्वाचनलाई पनि एउटा आन्दोलनको संघर्षको रुपमा लिएर निर्वाचनमा सहभागि हुन्छौ, हाम्रो माग पुरा हुन नदिनेको भण्डारफोर जनतामा गएर गर्छौ ।’
संबिधान संशोधन गर्न नदिने, मधेस र मधेसीको विरोध गर्नेहरुको भण्डाफोर गर्न फोरम नेपाल निर्वाचनमा सहभागि हुने उनले बताएका छन् । जनताका बीचमा गएर आफ्ना एजेण्डा राख्ने र सो एजेण्डा कसले पुरा गर्न दिएन् सो भन्नका लागि निर्वाचनमा सहभागि हुनुको बिकल्प नभएको यादवले बताएका छन् ।
राजपा नेपाल निर्वाचन आयोगमा दर्ता नभएको र निर्वाचन चिन्ह समेत नपाएकाले उसले आन्दोलनको बाटो रोजेको हुनसक्ने उनी बताउँछन् । तर मधेसबादी सम्पुर्ण पार्टी एउटै गठबन्धन बनाएर निर्वाचनमा सहभागि बनौं भनेर फोरमको आग्रह रहेको यादवले बताए ।
Comments
Post a Comment