निर्वाचन रणनीति बदल्दै दल, तालमेलको जिम्मा स्थानीय कमिटीलाई
सुभाष साह
काठमाडौं, ८ जेठ
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा राजनीतिक दलहरूले पूर्वरणनीति परिवर्तन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा तालमेल, उम्मेदवारी फिर्ता, प्रचारप्रसार, घोषणापत्र निर्माणलगायतमा कमजोरी देखिएको निष्कर्षसहित दलहरूले निर्वाचन रणनीति परिवर्तनको गृहकार्य गरिरहेका छन् ।
३१ जेठमा १, २, ५ र ७ प्रदेशका ४ सय ६१ वटा स्थानीय तहको निर्वाचन हँुदै छ । परिणाममा आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू उम्मेदवार छनोट, तालमेललगायतका रणनीति बनाउन व्यस्त छन् । पहिलो चरणको निर्वाचनबाट शिक्षा लिँदै चुनावी रणनीति परिवर्तन हुने उनीहरूको भनाइ छ ।
नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न जिल्लाका स्थानीय संयन्त्र सक्रिय बनाएको छ । उम्मेदवार चयन गर्दा जित्ने र स्थानीय स्तरमा बलियो देखिएका उम्मेदवार छान्ने कांग्रेसको नयाँ रणनीति छ ।
पहिलो चरणको निर्वाचनमा देखिएको परिणाम र त्यसैअनुसार उम्मेदवार चयन गर्न कांग्रेसले जिल्लाका समितिलाई निर्देशन दिएको छ । उम्मेदवारीका विषयमा कुरा नमिलेको स्थानमा मात्र केन्द्रले टुंगो लगाउने कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार उम्मेदवारी दर्ता गरिसकेपछि फिर्ता नलिने गरी अघि बढ्ने तयारी कांग्रेसकोे छ ।
तालमेलका विषयमा भने स्थानीय नेतृत्वलाई नै अनुकूल हुने अवस्था हेरेर निर्णय गर्ने अधिकार दिएको नेता लेखकले बताए । कांग्रेसले आउँदो १३ गतेसम्म सबै तहका उम्मेदवार तय गरिसक्ने बताइएको छ ।
पहिलो चरणको निर्वाचनमा पहिलो शक्ति बन्नेको नेकपा एमालेले अन्य दलसँगको तालमेलको सम्पूर्ण जिम्मा स्थानीय कमिटीलाई दिएको छ ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले केन्द्र स्तरबाट नभई स्थानीय स्तरको कमिटीले नै चुनावी तालमेल गर्न पाउने अधिकार पार्टीले दिएको बताए । पहिलो चरणको निर्वाचनमा केन्द्रबाटै केही ठाउँमा राप्रपासँग चुनावी तालमेल गरेको एमालेले अब चुनावी तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई दिएको छ ।
‘पहिलो चरणको निर्वाचनमा केही ठाउँमा केन्द्र स्तरबाटै तालमेल गरेर निर्वाचनमा सहभागी भयौं, अब दोस्रो चरणको निर्वाचनमा त्यसरी हुँदैन,’ भट्टराईले राजधानीसँग भने, ‘निर्वाचनमा जित सुनिश्चित गर्नका लागि स्थानीय कमिटीले चुनावी तालमेल गर्न सक्छ, त्यसको जानकारी केन्द्रलाई गराउनुपर्छ ।’
गत शनिबार सम्पन्न एमाले स्थायी कमिटी बैठकले पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा गुटबन्दीमा नलाग्न र निर्वाचन जित्नेलाई उम्मेदवार बनाउन निर्देशन दिइसकेको छ ।
एमालेले पहिलो चरणको निर्वाचनमा पार्टीविरुद्ध गठबन्धन, सत्तारूढ दलद्वारा सत्ताको दुरुपयोग, आफ्नै आन्तरिक समस्यालगायतका विषयमा समीक्षा गर्दै सोबाट शिक्षा लिएर दोस्रो चरणको निर्वाचनमा जुट्न निर्देशन दिइसकेको छ । उम्मेदवार छनोट गर्दा थप उत्साहका साथ र एकताबद्ध रूपमा चाँडो सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिइएको भट्टराईले बताए ।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाकृत नतिजा आएको निष्कर्ष निकाल्दै दोस्रो चरणको निर्वाचनमा चुनावी तालमेल गर्न स्थानीय कमिटीलाई नै अधिकार दिएको छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसालले कुन पार्टीसँग चुनावी तालमेल गर्दा निर्वाचनमा विजयी हुने हो त्यो पार्टीसँग आवश्यकताअनुसार गठबन्धन निर्माण गर्न पाउने अधिकार स्थानीय कमिटीलाई दिइएको बताइन् ।
‘पार्टी हेडक्वार्टरले पहिलो चरणको निर्वाचनमा केही ठाउँमा चुनावी गठबन्धन निर्माण गर्दै निर्वाचनमा सहभागी भयौं,’ भुसालले भनिन्, ‘दोस्रो चरणको निर्वाचनमा आवश्यकताअनुसार स्थानीय कमिटीले नै चुनावी तालमेल गर्न सक्ने अधिकार हेडक्वार्टरले दिएको छ ।’
सरकारमै सहभागी नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको माओवादी हेडक्वार्टरले दोस्रो चरणको निर्वाचनमा तालमेल गर्ने सम्पूर्ण अधिकार स्थानीय कमिटीलाई दिएको हो ।
केही ठाउँबाहेक सबै ठाउँमा माओवादी केन्द्रले उम्मेदवार छनोट गरिसकेको छ । बाँकी रहेका केही ठाउँका उम्मेदवार एकदुई दिनमै सक्ने भुसालले बताइन् । उम्मेदवार छनोट गर्दै कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा स्थानीय कमिटीले छलफल गरिरहेको उनले बताइन् ।
माओवादी हेडक्वार्टरका अनुसार स्थानीय कमिटीले चुनावी तालमेल गर्न पाउने अधिकारको प्रयोग गर्दै सोको जानकारी जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिनुपर्ने हुन्छ । विवाद भएको ठाउँमा प्रदेश कमिटीले अन्तिम निर्णय गर्ने माओवादीले जनाएको छ ।
संघीय समाजवादी फोरम नेपालले दोस्रो चरणको निर्वाचनमा मधेसवादी पार्टीसँग सहकार्य गर्दै साझा उम्मेदवार उठाउने बताएका छन् ।
पहिलो चरणको निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग गठबन्धन निर्माण गरी निर्वाचनमा होमिएको फोरम नेपालले दोस्रो चरणको निर्वाचनमा मधेसवादी पार्टीसँग गठबन्धन निर्माण गरी साझा उम्मेदवार उठाउने बताएको छ ।
मधेसवादी राष्ट्रिय जनता पार्टी नेपाल र नेपाल लोकतान्त्रिक फोरमसँग चुनावी तालमेलको विषयमा कुराकानी भइरहेको बताउँदै फोरम अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलको तर्फबाट साझा उम्मेदवार उठाउने तयारी भइरहेको बताए ।
राप्रपाले दोस्रो चरणको निर्वाचनको तयारीमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनको परिणामलाई स्विकार्दै विचलित नभई लाग्न निर्देशन दिएको हो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दोस्रो चरणका लागि तालमेलको आवश्यकता भए जिल्ला कार्यसमितिबाटै मिलाउन अधिकार दिएको छ । यस्तै, ३१ जेठको निर्वाचन नसकिँदासम्म जिल्लामा नै बस्न केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिएको छ ।
Comments
Post a Comment