सत्तारुढ दलकै योजनामा मतपत्र च्यातियो–ओली
काठमाडौं, १६ जेठ
एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरमा हार्ने सुनिश्चित भएपछि सत्तारुढ दलकै योजनामा मतपत्र च्यात्ने काम भएको आरोप लगाएका छन् ।
काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार बिद्यासुन्दर शाक्य निर्वाचित भएपछि मंगलबार आयोजित बिजयी सभालाई सम्बोधन गर्दै ओलीले बालुवाटारमै बसेर मतपत्र च्यात्ने योजना बनेको दावी गरेका छन् ।
‘निर्वाचनमा हार्ने भएपछि काँग्रेस र माओबादीले आफ्ना कार्यकर्तालाई मतपत्र च्यात्न लगाएका हुन्’ ओलीले भने, ‘बालुवाटारमै सेटिङ्ग मिलाएर योजनाबद्ध ढंगले दुई वटा वाईसिएललाई मतपत्र च्यात्न लगाईएको हो ।’
सम्पुर्ण शक्ति लगाएर पनि भरतपुरमा एमालेसंग निर्वाचन जित्न नसकेपछि पुन निर्वाचन गराउँने योजना स्वरुप मतपत्र च्यातिएको बताउँदै उनले एमालेलाई पुन मतदान स्वीकार नहुने स्पष्ट गरेका छन् ।
वाईसिएलले दुई चारवटा मतपत्र च्यात्दैमा पुन निर्वाचन नहुने उनले बताए । मतगणना स्थल कब्जा नभई मतपत्र च्यातिएकाले पुन निर्वाचन गराउँने कुरा एमालेलाई स्वीकार हुन नसक्ने उनले बताएका छन् ।
सरकारले यसवर्ष गणतन्त्र दिवशको दिन वितरण गरेको मान पदवीले राष्ट्रिय सम्मानको अपमान गरेको बताए । कांग्रेस, माओवादी बाहेक अरु समाजसेवी नै नभएको जस्तो राष्ट्रिय सम्मानको अपमान सरकारले गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललाई सुप्रवल जनसेवाश्री मानपदवी दिने सरकारको निर्णयलाई ओलीले कडारुपमा आलोचना गरेका छन् ।
‘काँग्रेस र माओबादी बाहेक यहाँ मानसम्मान पाउँने कोही छैन् ? कतिवटा बिहे गर्यो भने मानसम्मान पाईन्छ ?’ ओलीले भने, ‘तपाईका छोरा महान समाजसेवी नै हुन् ? देशका लागि काम गरेका यहाँ कोही छैन् ?, जसरी सम्मान बितरण गरियो सरम गर्नु अवस्था आएको छ ।’
यसैगरी ओलीले एक अर्को कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सार्कलाई संकटमा पार्ने काम गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा मंगलबार ईन्टरनेशनल कन्सर्नले आयोजना गरेको वान बेल्ट वान रोड बिषय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले सार्कलाई संकटमा पार्ने काम गरेको बताएका छन् ।
ओबिओआर बिचको हस्ताक्षरले दुई देशबीचको सम्बन्धलाई अझ सहज बनाउने बताएका बताउँदै उनले ओबिओआरले दुबै छिमेकी मुलुकहरुलाई सकारात्मक सम्बन्ध बनाएर अगाडि बढ्न सहज हुने उल्लेख बताए ।
नेपालका लागि ओबिओआर झन् महत्वपूर्ण रहेको समेत चर्चा ओलीले गरेका छन् । नेपाल दुई देशको बीचमा राष्ट्रियहित र स्वभिमानका साथै सकारात्मक सम्बन्धन कायम गर्न चाहेको बताएका छन् ।
Comments
Post a Comment