संशोधन र तहको संख्या नबढाए निर्वाचनमा सहभागि नहुने–राजपा नेपाल
सुभाष साह
काठमाडौं, १५ जेठ
राष्ट्रिय जनता पार्टी नेपालले संबिधान संशोधन र मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण नगरिए निर्वाचनमा सहभागि नहुने जनाएको छ ।
प्रमुख चार राजनीतिक दलको सहमतीमा सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन ९ असारमा गर्ने निर्णय गरेको छ । राजपा नेपाललाई निर्वाचनमा सहभागि गराउँने उदेश्यले निर्वाचन मिति सार्ने निर्णय सरकारले दलहरुको सहमतीमै गरेको हो ।
तर राजपा नेपालले संबिधान संशोधन, स्थानीय तहको संख्या मधेसमा जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने, दल दर्ता गरी निर्वाचन चिन्ह दिनुपर्ने, आन्दोलनका क्रममा लगाइएका झुठा मुद्धा फिर्ता, क्षतिपुर्ति, शहिद घोषणा लगायतका माग गर्दै निर्वाचनको बाताबरण बनाउँन माग अघि सारेको छ ।
राजपा नेपालका नेता राजेन्द्र महतोले राजपा सहितको गठबन्धनको माग पुरा गरेर निर्वाचनको वाताबरण बनाईए निर्वाचनमा सहभागि हुने बताए । आन्दोलनरत राजपा सहित संघीय गठबन्धनको माग सम्बोधन गरेर निर्वाचनको बाताबरण बनाउँने सहमती भएको बताए ।
‘हामीले सबैलाई निर्वाचनमा सहभागि हुने गरी निर्वाचनको बाताबरण बनाएर निर्वाचन गरौं भन्ने सहमती अनुसार नै निर्वाचनको मिति परिवर्तन भएको हो’ महतोले भने, ‘अब यसबीचमा सरकारले के–के गर्छ त्यो हेरेपछि निर्वाचन स्थगित गरेर हामी पनि निर्वाचनमा सहभागि हुन्छौं ।’
संबिधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गर्ने लगायतका माग पुरा गर्नुपर्ने आफुहरुको अडान कायमै रहेको उनले बताए । माग पुरा भए निर्वाचनमा सहभागि हुने बताउँदै महतोले यदी हाम्रो माग नै सम्बोधन नहुने हो भने निर्वाचनमा सहभागि नभई आन्दोलनलाई नै निरन्तरता दिने बताए ।
राजपा नेपालका नेता राजकिशोर यादवले कुनै लिखित सहमती नभएको बताए । यधपी राजपाले उठाउँदै आएको माग सम्बोधन गर्दै निर्वाचनको बाताबरण बनाउँने काम सरकारको भएकाले आन्दोलन स्थगित गर्ने, नगर्ने र निर्वाचनमा सहभागि हुने की नहुने त्यसको निर्णय पछि गर्ने बताए ।
‘अहिले जुन मागका लागि आन्दोलन गरिरहेका छौं त्यो मागहरु सम्बोधन गर्ने काम राज्यको हो’ यादवले भने, ‘यदी हाम्रो माग सम्बोधन हुन्छ भने हामी निर्वाचनमा जान तयार छौं ।’
यता प्रमुख प्रतिपक्षी दल एमालेले संबिधान संशोधन, स्थानीय तहको संख्या बढाउँने बिषयमा कुनै सहमती नभएको जनाएको छ । केही दिन निर्वाचन मिति सारेर आन्दोलनरत राजपालाई पनि निर्वाचनमा सहभागि गराउँन सकिन्छ भने एमालेको त्यसमा आपती नहुने एमालेले जनाएको छ ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले दल दर्ता, निर्वाचन चिन्ह दिन केही ऐन संशोधन गर्नुपर्ने भएकाले त्यसमा एमालेको सहमती रहेको बताए । निर्वाचनको बाताबरण नबनेको, दल दर्ता, चुनाव चिन्ह दिनु पर्ने भन्दै काँग्रेस, माओबादी र राजपाको कुरा आएपछि यसका लागि एमालेले सहमती जनाएको छ ।
‘संबिधान संशोधन, स्थानीय तहको संख्या बढाउँने बिषयमा अहिले पनि एमाले स्पष्ट छ, त्यसमा कुनै सहमती पनि भएको छैन्’ नेम्वाङले भने, ‘उहाँहरुको कुरा निर्वाचनको बाताबरण बनाउँन केही दिन चाहिएकाले त्यसबीचमा दल दर्ता, निर्वाचन चिन्ह लगायतका काम गरेर निर्वाचनमा सहभागि हुने हो ।’
तर निर्वाचन पछि संशोधन गर्ने कुरा निर्वाचन अघि नै भए सबैका लागि राम्रो हुने बताउँछन् । ‘संशोधन भएमा राजपाको माग पुुरा हुने र एमाले मधेस बिरोधी रहेको धारणाको अन्त्य हुने भएकाले यसले राजपा र एमाले दुबैलाई फाईदा हुन्छ’ राजपा नेता महतोले भने ।
Comments
Post a Comment