राजपा मनाउने कसरत निर्वाचनमा आए , कानुन संशोधन गर्न सत्ता–प्रतिपक्ष तयार
सुभाष साह / राजधानी
काठमाडौं, १३ जेठ
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई सहभागी गराउन बसेको सत्तापक्षसहित प्रमुख प्रतिपक्ष र आन्दोलनरत पक्षको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकबाट टुंगोमा पुग्ने भनिए पनि सहमति नजुटेपछि छलफललाई निरन्तरता दिने भन्दै बैठक टुंगिएको छ । कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता राजपालाई मनाउन दिनभरजसो दुई पक्षीय र बहुपक्षीय छलफलमा जुटे पनि निष्कर्षमा भने पुग्न सकेनन् ।
बैठकमा सहमति जुट्न नसके पनि सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताले निर्वाचनमा आउने सुनिश्चित भए निर्वाचन र स्थानीय तहसम्बन्धी कानुन संशोधन गरेर भए पनि स्थानीय तह थप गर्न सकिने प्रतिबद्धता जनाएका थिए । तर, मोर्चाले मुख्य माग संविधान संशोधन भन्दै पूर्ववत् अडान दोहो¥याएको छ । सत्ता र विपक्षी दलको प्रस्तावपछि पुनः आन्तरिक छलफल गर्ने भन्दै बैठक टुंगिएको नेताहरूले बताएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न प्रमुख प्रतिपक्षी दल एमालेसमेत सकारात्मक भएकाले लचक बन्न राजपालाई आग्रह गरिएको छ ।
राजपा नेताहरूले भने मुख्य मागमा अडान कायम भए पनि दलहरूको प्रस्तावमा छलफल गरी अर्को बैठक बस्न सहमत भएका छन् । ‘प्रमुख प्रतिपक्षी एमालेसमेत सकारात्मक देखिएपछि निर्वाचनमा आउने ग्यारेन्टी भए आवश्यक पर्ने कानुन संशोधन गर्न सकिने प्रस्ताव हामीले राखेका छौं,’ पौडेलले राजधानीसँग भने ।
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले बैठकमा दोस्रो चरणको निर्वाचन र राजपाको मागबारे छलफल भए पनि कुनै निष्कर्षमा भने नपुगेको बताए । ‘दिनभर जसो विभिन्न दलबीच चरणबद्ध सामूहिक एवं छुट्टाछुट्टै बैठक भयो, छलफल सकारात्मक छ,’ नेम्वाङले राजधानीसँग भने, ‘बैठकमा मुख्यरूपमा राजपा नेपालको मागको विषयमा केन्द्रित रह्यो, आ–आफ्नो दलमा पुनः छलफल गर्दै पुनः बैठक बस्ने सहमति भएको छ ।’
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनमा आफूहरूलाई पनि सहभागी हुने गरी वातावरण मिलाउन आग्रह गरेको बताए । ‘निर्वाचनको वातावरण बनेको छैन, हामीले आफ्नो तर्फबाट बैठकमा त्यही कुरा राख्यौं, निर्वाचनको वातावरण बनाऔं, हामी सबै निर्वाचनमा सहभागी हुन्छौं,’ महतोले राजधानीसँग भने, ‘गोली चलाएर जबर्जस्ती निर्वाचन हुन सक्दैन, जबर्जस्ती गर्न खोजियो भने नराम्रो हुन सक्छ ।’
प्रमुख प्रतिपक्षी एमालेसमेत सकारात्मक देखिएपछि निर्वाचनमा आउने ग्यारेन्टी भए आवश्यक पर्ने कानुन संशोधन गर्न सकिने प्रस्ताव हामीले राखेका छौं– रामचन्द्र पौडेलवरिष्ठ नेता, कांग्रेस
उनले संविधान संशोधन, जनसंख्याको आधारमा तराई÷मधेसमा स्थानीय तहको संख्या, मुद्दा फिर्तालगायत माग पूरा गरे निर्वाचनको वातावरण बन्ने बताए । बैठकमा स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न सरकारले गरेको निर्णयको विषयमा राजपाले सेनाको दुरुपयोग नगर्नसमेत आग्रह गरेको छ ।
मुख्य दलहरू स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई पनि सहभागी गराउने गरी सहमति जुटाउने प्रयासमा सक्रिय भएका हुन् । संविधान जारी भएदेखि नै असहमत रहँदै आन्दोलनमा रहेका मधेस केन्द्रित दललाई मनाउन मुख्य दलले सहमतिको प्रयास जारी राखेका छन् । पछिल्लो चरणमा प्रमुख प्रतिपक्षी एमालेले संसद्मा जारी राखेको अवरोध शनिबारबाटै हटाएपछि दलहरू राजपाका मागका सन्दर्भमा पनि सकेसम्म सहमतिबाटै अघि बढ्ने रणनीतिमा पुगेका छन् ।
आफ्ना माग सम्बोधन नभए निर्वाचनमा पनि नजाने र निर्वाचन पनि हुन नदिने रणनीति बनाएर राजपाले अघि बढ्ने तयारी गरेपछि दलहरू सहमति जुटाउन सक्रिय भएका हुन् ।
राजपाले आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, दल दर्ताका लागि समय थप गर्नुपर्ने, निर्वाचन चिह्न पाउनुपर्ने, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या बढाउनुपर्ने र संविधान संशोधनलाई टुंगोमा पु¥याउनुपर्ने लगायत माग राखेका छन् । उनीहरूले आफ्ना मागमा सहमति भएनिर्वाचनमा जान तयार रहेको बताउँदै आएका छन् ।
Comments
Post a Comment