सर्वोच्चको निर्णयलाई एमालेद्धारा स्वागत


काठमाडौं, १२ जेठ

सरकारले हालै तराई मधेसमा स्थानीय तहको संख्या र सिमांकन हेरेफेर गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गरेको निर्देशनको प्रमुख प्रतिपक्षी दल एमालेले स्वागत गरेको छ । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले ३१ जेठमै स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले सर्वोच्च अदालतले सरकारको स्वेच्छाचारी कदममा रोक लगाएपछि निर्वाचन गराउँन सहज भएको बताए । 

‘निर्वाचनको मिति तय भइसकेपछि कुनै औचित्य र आधार बिना नै स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको स्वेच्छाचारी कदममा सर्वोच्च अदालतले रोक लगाएबाट पूर्वनिर्धारित तह र मितिमा निर्वाचन गर्न सहज भएको छ’ भट्टराईले भने, ‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न एमाले सरकार र निर्वाचन आयोगको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ ।’

यता बैठकले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नम्बर ५ अन्तर्गतका चारवटा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवारहरु तय गरेको छ । 

एमाले पार्टीका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्धिन सिद्धिकी र उपप्रमुखमा शान्ति ढकाल, घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने, तुल्सीपुर उपमहानगरपालिकाको प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्य र बुटवल उपमहानगरपालिकाको प्रमुखमा शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यलाई उम्मेदवार तोकिएको छ । 

वाँकी अन्य उम्मेदवार पनि छिटै टुंग्याउँने एमालेले जनाएको छ । 



Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’