उम्मेदवार छनौट गर्दै फोरम लोकतान्त्रिक र फोरम नेपाल, आन्दोलनको रणनीति बनाउँदै राजपा नेपाल
सुभाष साह
काठमाडौं, ११ जेठ
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि हुने की आन्दोलन गर्ने भन्ने बिषयमा मधेसवादी दल बिभाजित भएका छन् ।
नेपाल फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरम नेपाल निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा रहेको छ भने राष्ट्रिय जनता पार्टी नेपाल आन्दोलनको पक्षमा रहेको छ ।
एक नेताका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरको सानोठिमी भक्तपुर स्थित निवासमा बिहिबार बसेको मधेसवादी तीन दलका शिर्ष नेताका बीचमा सहमती हुन सकेको छैन् ।
राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका बीचमा भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार र फोरम नेपालका अध्यक्ष यादवले दोस्रो चरणको निर्वाचनमा मधेसवादी तीनै दलले गठबन्धन निर्माण गरी निर्वाचनमा सहभागि हुनुपर्ने प्रस्ताव गरेका छन् । सम्भव भए एउटै चुनाव चिन्हमा मिलेर निर्वाचनमा सहभागि हुन यादवले ठाकुरलाई प्रस्ताव गरेका छन् ।
तर राजपा नेपालका नेता गच्छदार र यादवको प्रस्ताव अस्वीकार गर्दै संबिधान संशोधन बिना निर्वाचनमा सहभागि हुन नसक्ने भएकाले तीनै पार्टी मिलेर आन्दोलनलाई अघि बढाउँनुपर्ने पस्ताव गरेका छन् ।
संबिधान संशोधन नभएको, राजपा नेपाल निर्वाचन आयोगमा दर्ता नभएको, चुनाव चिन्ह नपाएको लगायतका कारण निर्वाचनमा सहभागि हुन नसक्ने धारणा ठाकुरले छलफलमा राखेका छन् ।
तीन शिर्ष नेताका बीचमा सहमती हुन नसकेपछि पुन बैठक बस्ने सहमती गर्दै बैठक सकेको एक नेताले राजधानीलाई बताए ।
उम्मेदवार छान्दै फोरम लोकतान्त्रिक र फोरम नेपाल
३१ जेठमा प्रदेश नं. १, २, ५ र ७ मा हुने दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका लागि फोरम लोकतान्त्रिक र फोरम नेपाल उम्मेदवार छनौट गरिरहेको छ । पहिलो चरणको निर्वाचनमा सहभागि यो दुबै दल दोस्रो चरणको निर्वाचनमा पनि सहभागि हुने तयारीमा रहेका छन् ।
निर्वाचनलाई पनि आन्दोलनकै रुपमा लिएर जनताका बीचमा जान लागेको नेताहरुले जनाएका छन् । फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले निर्वाचन पनि अर्को संघर्ष नै रहेको भन्दै निर्वाचनमा सहभागि हुन लागेको बताएका छन् ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य बेद गच्छदारले अनुसार चार वटै प्रदेशमा रहेका स्थानीय तहका लागि १८ जेठ सम्ममा उम्मेदवार छनौट गरिसक्ने बताएका छन् ।
सम्बन्धित गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको सिफारीमा जिल्ला कमिटीले प्रमुख र उपप्रमुखको टुंगो लगाउँने अधिकार फोरम लोकतान्त्रिकले दिएको छ । यस्तै वडा अध्यक्ष र सदस्यको उम्मेदवार सम्बन्धित वडा कमिटीको सिफारिसमा माथिल्लो कमिटीले अनुमोदन गरेपछि उम्मेदवारको टुंगो लाग्ने मापदण्डको व्यवस्था गरेको छ ।
उम्मेदवार छनौट गर्दा सर्वसहमत गर्ने, सर्वसहमत हुन नसके बढीमा तीन जना उम्मेदवारको नामावली सम्बन्धित कमिटीले सिफारिस गर्नुपर्ने फोरम लोकतान्त्रिकले जनाएको छ । बिबाद भएको ठाउँको हकमा केन्द्रीय कमिटीले उम्मेदवारको अन्तिम टुंगो लगाउँने केन्द्रीय सदस्य गच्छदारले बताए ।
उम्मेदवार छनौट सिफारिस गर्दा पार्टीमा गरेको योग्दान, जनताका बीचमा लोकप्रिय, बिजयी हुन सक्ने र नेतृत्व गर्न सक्ने क्षमता हुनुपर्नेमा ध्यान दिन फोरम लोकतान्त्रिकले निर्देशन जारी गरेको छ ।
यसैगरी फोरम लोकतान्त्रिकले आवश्यक्ता अनुसार सम्बन्धित तहका कमिटीले निर्वाचनमा तालमेल गर्न सक्ने र सोको जानकारी केन्द्रीय कमिटीलाई गराउँनुपर्ने हुन्छ । फोरम लोकतान्त्रिकले तराई मधेसका साथै पहाडमा पनि आफ्नो उम्मेदवार छनौट गरिरहेको छ ।
यता फोरम नेपालले एक हप्ता अघि नै जिल्ला कमिटीहरुलाई उम्मेदवार छनौट गर्न निर्देशन दिईसकेको छ । १४ जेठ भित्रमा उम्मेदवार छनौट गरिसक्नुपर्ने समयसिमा तोक्दै फोरम नेपालले जिल्ला कमिटीलाई निर्देशन दिएको छ । तर उम्मेदवार छनौट, मापदण्ड र प्रक्रियाको बिषयमा फोरम नेपालका नेताहरुले सार्वजनिक रुपमा कुरा गर्न चाहिरहेका छैनन् ।
फोरम नेपालले गाउँपालिका, नगरपालिकाको वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनौट गाउँपालिका र नगरपालिका कमिटीले गर्नेछ । गाउँपालिका, नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले अन्तिम टुंगो लगाउँने मापदण्ड बनाएको छ । यसैगरी उपमहानगरपालिकाको प्रमुख र उप्रमुखका उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले अन्तिम टुंगो लगाउँनेछ ।
सम्बन्धित कमिटीले उम्मेदवारको सिफारिस गर्दा सर्वसहमत नभएको अवस्थामा तीन जना आकांक्षीको नाम सिफारिस गर्नुपर्नेहुन्छ । गाउँपालिका र नगरपालिका कमिटीले कहिले सम्ममा उम्मेदवार छनौट गर्ने भन्ने मापदण्ड बनाउँने अधिकार जिल्ला कमिटीले पाएको छ । जिल्ला कमिटीहरुले आफ्नो मापदण्ड बनाउँदै उम्मेदवार छनौट गरिरहेका छन् ।
आन्दोलनको तयारीमा राजपा नेपाल
फोरम लोकतान्त्रिक र फोरम नेपालले निर्वाचनमा सहभागि हुन उम्मेदवार छनौटमा व्यस्त रहेको छ भने राजपा नेपाल अगामी आन्दोलनको रणनीति तयार गर्नमा लागेको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष ठाकुरले संबिधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निधारण, झुठा मुद्धा फिर्ता लगायतका कामहरु पुरा नभएकाले आन्दोलनको बिकल्प नभएको बताएका छन् ।
दिनहु राजपा नेपालको अध्यक्ष मण्डलको बैठक निरन्तर रुपमा चलिरहेको छ । यधपी आन्दोलनको घोषणा भने गरिएको छैन् । मधेसवादी तीनै दलसंगै मिलेर आन्दोलन गरौं भन्ने बिषयमा छलफल चलिरहेकाले आन्दोलनका कार्यक्रम घोषणमा ढिलाई भएको राजपा नेपालका नेताहरु बताउँछन् ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा मधेसको माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गर्नुपर्ने पक्षमा रहेका छन् । यसैगरी अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्रराय यादव, शरदसिंह भण्डारी प्राप्त उपलब्धि जोगाउँदै थप माग जनताका बीचमा राख्दै निर्वाचनलाई पनि संघर्षको रुपमा लिएर निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा रहेका छन् ।
यधपी आन्दोलन गर्ने की निर्वाचनमा सहभागि हुने भन्ने बिषयमा महत्वपुर्ण निर्णय ठाकुरको हुनेछ । राजपा नेपाल समेत सहभागि संघीय गठबन्धनले माग पुरा नभएको भन्दै आन्दोलनमै जानुपर्ने र राजपा नेपालका १२ भन्दा बढी जिल्ला कमिटीले आन्दोलनको बिकल्प नभएको निर्णय गर्दै दबाब दिन थालेपछि ठाकुर अगामी आन्दोलनको रणनीति बनाउँन बाध्य भएका छन् ।
आन्दोलनका कार्यक्रमका बिषयमा छलफल गर्दै निर्णय गर्न शुक्रबार (आज) राजपा नेपाल अध्यक्ष मण्डलको बैठक डाकिएको छ । राजपा नेपालको बैठक पश्चात संघीय गठबन्धनको समेत बैठक गरेर आन्दोलनको कार्यक्रम शुक्रबार नै घोषणा गरिने एक नेताले बताए ।
राजपा नेपालका महामन्त्री जितेन्द्र सिंहले राजपा नेपाल निर्वाचन बिरोधी नभएको बताउँदै माग पुरा भए निर्वाचनमा जान तयार रहेको बताए । मधेसमा स्थानीय तहको संख्या एक सय १० थप्ने प्रस्ताव अनुसार सरकारले थप नगरेर २२ वटा मात्रै गरेको, संबिधान संशोधन नगरेको, झुठा मुद्धा फिर्ता नगरेका लगायतका कारण आन्दोलनको बिकल्प नभएको सिंहले बताए ।
Comments
Post a Comment