एमाले प्रदेश ३ को नेतामा पौडेल
राजधानी समाचारदाता
काठमाडौं , 26
एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । पौडेलले ३४ मत ल्याई बिजयी भएका हुन् । पौडेलका प्रतिस्पधी एवं एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले २४ मत मात्रै पाएकी छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको संसदीय दलको नेताका लागि निर्वाचनमा पौडेल र शाक्य उम्मेदवार बनेका थिए । एमाले र माओवादी केन्द्रको वामगठबन्धनको सहमती अनुसार प्रदेश ३ को मुख्यमन्त्री पौडेल हुने निश्चित भएको छ ।
प्रदेश ३ मा एमालेको ५८ जना सांसद रहेका छन् । शुरुमा सर्वसहमतीको प्रयास गरिए पनि सहमती जुटन नसक्दा संसदीय दलको नेताका लागि गोप्य मतदान भएको हो । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा निर्वाचित पौडेल हेटौँडा नगरपालिकाका पूर्व प्रमुख समेत हुन् ।
संसदीय दलको निर्वाचन अघि विहिबार साँझ काठमाडौंमा एमाले प्रदेश ३ का सांसदहरुको गोप्य बैठक बसेको थियो । सो गोप्य बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली समुहका सांसदहरुको मात्रै सहभागिता रहेको थियो ।
भेलामा सहभागि ३४ सांसदहरुले एक स्वरमा संसदीय दलको नेता शाक्यलाई स्वीकार गर्न नसकिने निष्कर्ष सहित पौडेलको पक्षमा उभिएका थिए । सोही बैठकमा केही समयका लागि पुगेका अध्यक्ष ओलीले दायाँ बायाँ नगरी पौडेलको पक्षमा मतदान गर्न निर्देशन समेत दिएको एक सांसदले बताए ।
संसदीय दलको नेतामा निर्वाचित पौडेल राष्ट्रपति बिद्यादेवी भण्डारी नजिकका नेता हुन्् । संसदीय दलको नेतामा निर्वाचित पौडेलले मुख्यमन्त्री भएपछि प्रदेश ३ लाई समृद्ध प्रदेशको रुपमा बिकास गर्ने बताए ।
एमाले स्रोतका अनुसार शुरुमा शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्री बनाउँने आश्वासन पार्टी अध्यक्ष ओलीले दिएका थिए । तर ओलीले अन्तिम समयमा आएर पौडेललाई उम्मेदवार बनाउँने निष्कर्षमा पुगेका हुन् ।
सर्वसम्मत रुपमा संसदीय दलको नेता बन्ने बिश्वास व्यक्त गर्दै शाक्यले आफ्नो प्रस्ताव पार्टी अध्यक्षले अस्वीकार गरेको बताईन् । मुख्यमन्त्री बन्ने आश्वासनमै आफु प्रदेश सांसदमा चुनाव लडेको उनले बताईन् ।
‘आजको निर्वाचनले मेरो राजनीतिक योगदानलाई सक्ने काम मात्र नभई महिलाले नेपालको कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको अपमान भएको छ’ शाक्यले भनिन्, ‘यसले अब ओलीलाई राम्रो गदैन्, आजसम्म म कसैका विरुद्ध बोलिनँ्, आजबाट मलाई पनि बाटो खुलेको छ, यीनका सबै हर्कतका विरुद्ध बोल्ने छु ।’
पार्टीले आफ्नो मूल्याङ्कन गर्न नसकेको बताउँदै उनले ओलीको गुटबन्दीको शिकार भएको बताईन् । विभाजन नगर्न नेतृत्वलाई पटक–पटक आग्रह गर्दा पनि आफु सफल नभएको बताउँदै उनल गुटबन्दीकै कारण पराजित हुनुपरेको बताईन् । शाक्य एमाले भित्र माधवकुमार नेपाल गुटका नेता हुन् ।
संसदीय दलको नेताका आकांक्षी रहेका एमाले नेता राजेन्द्र पाण्डेले आउँने दिनमा सामान्य सांसदको रुपमा बस्ने बताए । एमालेको राजनीतिमा आफु कुनै पनि ओली वा नेपाल कुनै पनि गुटमा नरहेको उनले स्पष्ट पारेका छन् ।
निर्वाचन स्थलमा संचारकर्मीसंग कुरा गर्दै पाण्डेले आफु कुनै पनि गुटमा नरहेकाले संसदीय दलको उम्मेदवार नबनेको बताए । एमालेमा दुई गुट रहेको सबैलाई थाहा भएकै कुरा रहेको बताउँदै उनले दुबै गुटबाट एक एक जना उम्मेदवार भएपछि आफु उम्मेदवार नबनेको बताए ।

Comments
Post a Comment