दोस्रो चरण निर्वाचन परिणाम, सानादलको खाता ‘सन्तोषजनक’

सुभाष साह
काठमाडौं २० असार 

स्थानीय तहको पहिलो चरण निर्वाचनमा शुन्यप्राय अवस्थामा रहेका साना दल दोस्रो चरणको स्थानीय निर्वाचनमा सम्मानजनक उपस्थिति देखाएका छन् । 
संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी बाहेकका संसदमा प्रतिनिधित्व गर्ने साना दलको अवस्था भने गाउँपालिका, नगरपालिकाको प्रमुख र उपप्रमुखमा शुन्य अवस्थामा रहेका छन् । 
दोस्रो चरण निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दा संसदमा रहेका साना दलहरुको उपस्थिति सम्मानजनक अवस्थामा देखिएको हो । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले भने स्वतन्त्र उम्मेदवारी दिएर बिजयी भएपछि उसको पनि उपस्थिति देखिएको छ । हालसम्मको परिणाममा तर अन्य साना दल शुन्य अवस्थामा देखिएका छन् । 
प्रदेश १, ५ र ७ मा जारी मतगणना अन्तिम चरणमा पुगेको छ । मंगलवार राती साढे दश सम्म ३ सय ३४ स्थानीय तह मध्ये २ सय ९५ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । 
मंगलवार रातीसम्ममा फोरम नेपाल र लोकतान्त्रिक फोरमका उमेदवार  ६÷६ वटा स्थानीय तहको प्रमुख निर्वाचित भएका छन् भने राप्रपा तीन, जनमोर्चाले दुई स्थानीय तह जित्न सफल भएका छन् । 
फोरम नेपालका तर्फबाट बाँकेको नरैनापुर गाउँपालिकामा ईश्तियाक अहमद शाह, कपिलबस्तुको मायादेवी गाउँपालिकामा बजरङी कुर्मी, रुपन्देहीको गैडहवा गाउँपालिकामा बचुलाल केवट, सुनसरीको भोक्राह गाउँपालिकामा महेन्दप्रसाद यादव, रुपन्देहीको रोहिणी गाउँपालिकामा सनोज कुमार यादव र रुपन्देहीको मर्चवारी गाउँपालिकामा केशव नन्द बानियाँ प्रमुखमा निर्वाचित भएका छन् । 
फोरम नेपालको प्रचार बिभागका अनुसार ४४ वटा वडामा उसका उमेदवार विजयी भएका छन् । विराटनगर महानगरपालिकाको १७ र १८ वडा, नेपालगञ्ज उपमहानगरपालिकाको  १५ र २३ बडामा फोरमका उम्मेदवार विजयी भएका छन् । 
यसैगरी खोटाङको रुपाकाट मजुवागढी नगरपालिकाको ५ र १० वडा मा फोरम नेपाल विजयी भएको छ । धनकुटा नगरपालिकाको ३ नम्वर वडा, सुनसरीको दुहवी, मोरङको रंगेली र सुनवर्षी नगरपालिकामा १÷१ वटा वडामा फोरम नेपाल विजयी भएको  छ । 
लोकतान्त्रिक फोरमका तर्फबाट नवलपरासीको सरावल गाउँपालिकामा राधेश्याम चौधरी, सुनसरीको दुहवी नगरपालिकामा वेदराज गच्छदार, सुनसरीको बर्जु गाउँपालिकामा रघुनन्दन चौधरी, कैलालीको जानकी गाउँपालिकामा प्रदीप चौधरी,  रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा जितेन्द्रनाथ शुक्ला र मोरङको बुढीगंगा गाउँपालिकामा बालचन्द्र माझी प्रमुखमा निर्वाचित भएका छन् ।

राप्रपाका तर्फबाट झापाको कचनकवल गाउँपालिकामा अन्जरा आलम, झापाको हल्दीवारी गाउँपालिकामा रवीन्द्रप्रसाद लिङदेन र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा धवलशमशेर राणा प्रमुखमा बिजयी भएका छन् । राणाको आधिकारिक घोषणा गर्न भने बाकी छ । 
जनमोर्चाका तर्फबाट प्यूठानको झिमरूक गाउँपालिकामा तिलक बहादुर जिसी र प्यूठानकै मल्लरानी गाउँपालिकामा अम्मरध्वज राना प्रमुखमा बिजयी भएका छन् । यता राजपा नेपालबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका निसार अहमद खाँ कपिलबस्तुको शुद्धोधन गाउँपािलकाको प्रमुखमा निर्वाचित भएका छन् । 


Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !