परिमार्जन सहित संशोधन पारित गर्न फोरमको माग
काठमाडौं, २५ असार
संघीय समाजबादी फोरम नेपालले संबिधान संशोधन बिधेयक परिमार्जन सहित पारित गर्नुपर्ने माग गरेको छ ।
फोरमको तीनकुने स्थित कार्यालय आईतबार सम्पन्न पदाधिकार बैठकले संबिधानमा रहेको त्रुटी सच्याउँदै संशोधन गर्नुपर्ने माग गरेको छ ।
फोरम नेपालका महासचिव रामसहाय यादवले संबिधानमा रहेको त्रुटीहरुलाई सच्याउँ संघीय गठबन्धन एवं तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग भएको सहमती अनुसार संबिधान संशोधन हुनुपर्ने बताए ।
‘अहिले संसदमा दर्ता गरिएको संशोधन बिधेयकले सबै समस्याको समाधान हुदैन्’ यादवले राजधानीसंग भने, ‘सबै समस्याको समाधान गर्नका लागि हामीले बुझाएको २६ बुँदे माग अनुसार संशोधन हुनुपर्छ ।’
संसदमा दर्ता भएको संशोधन प्रस्ताव नै सरकारले निर्णयार्थ पेश गर्ने तयारी गरिरहेकै बेला फोरम नेपालको पदाधिकारी बैठकले संबिधान पुर्नलेख्न नै गर्नुपर्ने सर्त अघि सार्दै परिमार्जन सहित पारित गर्नुपर्ने माग गरेको छ ।
‘तत्कालीन परिस्थितिमा स्थानीय तहको निर्वाचनमा सहभागिताको प्रयोजनका लागि स्थानीय तहको निर्वाचन अगावै संसदमा पेश गरिएको अधूरो र अस्पष्ट संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याहरुको समाधान हुदैन’ फोरम बैठकको निष्कर्ष सुनाउँदै यादवले भने, ‘विधेयकलाई समस्याहरुको समाधान हुनेगरी परिमार्जन गरी संविधान संशोधन एवं पुनर्लेखन गरिनु पर्दछ ।’
संशोधनको बिकल्प नभएको निष्कर्ष सहित फोरमले संघीय गठबन्धन तथा मोर्चाको २६ बुँदे प्रस्तावका आधारमा संबिधान संशोधन गरेर सबै समस्याको समाधान गर्नुपर्ने तर्क गरेको छ ।
Comments
Post a Comment