राजपा नेपालको प्रस्तावनामै बढयो बिबाद, झाको अडानले दल दर्ता हुन सकेन
सुभाष साह,
काठमाडौं, २१ असार
निर्वाचन आयोगमा दल दर्ता गराउँने तयारी गरेको राष्ट्रिय जनता पार्टी नेपालमा बिबाद भएपछि दल दर्ता हुन सकेको छैन् ।
राजपा नेपालको बिजुलीबजार स्थित कार्यालय सोमबार देखी जारी अध्यक्ष मण्डलको बैठकमा सहमती हुन नसक्दा आयोगमा दल दर्ता हुन नसकेको हो । बुधबार समेत अध्यक्ष मण्डलको बैठक बसेको थियो । तर सहमती हुन सकेको छैन् ।
अध्यक्ष मण्डलका सदस्य अनिल झाले राजपा नेपालको प्रस्तावनामै गजेन्द्रनारायण सिंह र रामजनम तिवारीको नाम लेख्नुपर्ने अडान लिएपछि बिबाद शुरु भएको छ । सिंह र तिवारी मधेस मुद्धा उठाउँने मध्येका सबैभन्दा पुराना र अग्रज नेताको रुपमा लिने गरिएको छ ।
अध्यक्ष मण्डलको बैठकमा नेता झाले पार्टीको प्रस्तावनामै सिंह र तिवारीको नाम उल्लेख गर्नुपर्ने अडान लिएपछि अध्यक्ष मण्डलका अन्य नेताहरु उनलाई मनाउँने प्रयास गरिरहेको स्रोतले जनाएको छ । झाले पार्टीको प्रस्तावनामा सिंह र तिवारीको नाम नलेखे बिधानमा सही नगर्ने चेतावनी दिदै आएका छन् ।
बिभिन्न ६ मधेसबादी पार्टी मिलेर ७ बैशाखमा घोषणा भएको राजपा नेपाल निर्वाचन आयोगमा अझै दलको रुपमा दर्ता भएको छैन् । अध्यक्ष मण्डलमा रहेका झा बाहेकका नेताहरु सिंह र तिवारीको नाम पार्टीको घोषणापत्रमा लेख्न सहमत छन् । तर झाले प्रस्तावनामै लेख्नुपर्ने अडान लिएपछि बुधबारको बैठक बिना निष्कर्ष सकिएको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, राजकिशोर यादवले झालाई मनाउँने प्रयास जारी राखेका छन् । अध्यक्ष मण्डलका अर्का सदस्य शरदसिंह भण्डारी बिधानमा सही गरेर भारत गईसकेको राजपा नेता केशव झाले बताए ।
सोमबार राती ११ बजे अध्यक्ष मण्डलको बैठक सहमती गरेर सम्पन्न भएपछि भण्डारीले बिधानमा सही गरेका थिए । भण्डारी भारत जानेभएकाले बिधानमा सही गरे पनि झाले लिएको अडानबाट टसमस नभएका कारण सहमती जुटन नसकेको हो ।
राजपा नेपालका नेता केशव झाले अध्यक्ष मण्डलको मंगलबारको बैठकमै सहमती भएर बुधबार दल दर्ता गराउँने निर्णय भएको बताए । तर अध्यक्ष मण्डलमा सहमती अझै नभएकाले दल दर्तामा ढिलाई भएको झाले बताएका छन् ।
अध्यक्ष मण्डलको बैठक जारी रहेकाले पार्टीको बिधान र घोषणापत्रका बिषयमा छलफल चलिरहेको झाले बताउँदै चाडै सहमती जुटने बताए ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महतोले पार्टीको बिधान र घोषणापत्रमा छलफल जारी रहेकाले दल दर्ता गराउँनमा ढिलाई भएको बताएका छन् । बैठकमा छलफल चलिरहेको बताउँदै उनले सहमती जुटाउँने प्रयास भईरहेको बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, तराई मधेस सदभावना पार्टी, मधेस समाजबादी पार्टी, मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिक र नेपाल सदभावना पार्टी मिलेर राजपा नेपाल बनेको हो ।
Comments
Post a Comment