एमालेले माग्यो अन्तरघातीहरुको बिवरण
सुभाष साह,
काठमाडौं, २६ असार
नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेहरुको बिवरण उपलब्ध गराउँन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले १५ दिन भित्रमा पार्टीका उम्मेदबारलाई हराउँन लागेकाको बिबरण उपलब्ध गराउँन जिल्ला कमिटीलाई निर्देशन दिएको हो ।
बैठकले जिल्ला कमिटी मार्फत स्थानीय तहको निर्वाचनमा जित्नु र हार्नुको कारण
सहितको प्रतिबेदन समेत मगाउँने निर्णय गरेको छ ।
‘निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँहरुमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन पार्टी केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशहरुका सम्बन्धित जिल्ला कमिटीहरुलाई निर्देशन गरिन्छ,’ एमाले केन्द्रीय सचिवालय सचिव प्रदिप ज्ञवालीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका साथै मोरंग, सुनसरी जिल्लामा पार्टीले अनपेक्षित हार व्यहोर्नुपरेको नेताहरुले बताएका छन् । यसका साथै पश्चिमतर्फका जिल्लामा समेत यस्तै अवस्था रहेको छ । २२ भन्दा बढी स्थानीय तहमा पार्टीले प्रमुख हार्नै नहुने अवस्था हुँदाहुदै समेत पार्टी अन्तरघातीकै कारण हार्नुपरेकोछ ।
बैठकले निर्वाचनमा सत्तारुढ दल काँग्रेस, माओबादी केन्द्रले राज्यशक्तिको चरम दुरुपयोग गरेको निष्कर्ष निकाल्दै आपती जनाएको छ । पार्टीविरुद्धको चौतर्फी घेराबन्दी र अनेकौं प्रतिकुलताका बाबजुद समेत एमाले पहिलो शक्ति बनेकोमा बैठकले सन्तोष व्यक्त गरेको छ ।
पार्टीलाई दोस्रो चरणको निर्वाचन पहिलो शक्ति बनाउँने मतदातालाई एमाले धन्याबाद दिएको छ । साथै निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, राष्ट्रसेवकहरु, सुरक्षा निकाय एवं सञ्चारमाध्यमहरुलाई समेत धन्यवाद ज्ञापन गरेको छ ।
निर्वाचन सम्पन्न भएको जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको नाम १५ दिन भित्रमा केन्द्रमा सिफारिस गर्न प्रदेश कमिटीहरुलाई एमाले बैठकले निर्देशन दिएको छ । तर जिल्ला समन्वय समितिका सदस्यहरुको हकमा सम्बन्धित जिल्ला कमिटीले नै निर्णय पाउँने व्यवस्था एमालेले गरेको छ ।
आगामी २ असोजमा प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै बैठकले तेस्रो चरणको निर्वाचनको तयारीमा व्यवस्थित ढंगले लाग्न प्रदेश संगठन कमिटी र मातहतका कमिटीहरुलाई निर्देशित दिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रयोजनका लागि १ साउँन देखि मतदाता नामावली संकलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएकोल सोही अनुसार योजनाबद्ध रुपमा लाग्न मातहत कमिटीहरुलाई बैठकले निर्देशित दिएको छ ।
सत्तारुढ दलले दलहरुको सहमती विपरित संबिधान संशोधनको तयारी गरिरहेकोमा आपती जनाएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्ने सहमती दलहरुको बीचमा भएको थियो ।
स्थानीय तहको सबै निर्वाचन सम्पन्न भएपछि मात्रै संशोधनको बिषयमा छलफल गर्ने सत्तारुढ दल नै सहमतिविपरित संशोधनको तयारीमा जुटेकोमा एमालेले आपती जनाएको हो । प्रस्तावित संविधान संशोधन प्रस्ताव राष्ट्रिय हीतविपरित र अनुचित रहेको पार्टीको अडानलाई बैठकले पुनः दोहो¥याउँदै सो प्रस्ताव पारित हुन नसक्ने स्पष्ट गरेको छ ।
एमालेले संसदमा दर्ता भएको संशोधन बिधेयक फिर्ता लिएर पुन छलफल एवं सहमती गरेर संशोधन पारित गर्ने पक्षमा उभिएको छ ।
Comments
Post a Comment