उही माग, उही मुद्धा तर छुटाछुटै सहमतीपत्रमा हस्ताक्षर
सुभाष साह
काठमाडौं, २३ जेठ
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताले उही माग, उही मुद्धा तर छुटाछुटै सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।
व्यवस्थापिका संसद भवन, नयाँ बानेश्वरमा मंगलबार मधेसवादी दलका पुरानै माग सम्बोधन गर्ने पुन प्रतिबद्धता काँग्रेस र माओवादीका नेताले गरेका छन् ।
संबिधान संशोधन, मुद्धा फिर्ता, शहिद घोषणा, अपांगहरुको व्यवस्थापन लगायतका माग प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।
माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउँन २०७३ साल १९ साउनमा माओवादी, काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनसंग भएको तीन बुँदे सहमतीका केही माग पुरा भएको र वाँकी माग उच्च प्राथमिकताका साथ पुरा गर्ने पुन प्रतिबद्धता प्रमुख दुई दलले गरेका छन् ।
यसैगरी स्थानीय तहको संख्या राजनीतिक सहमतीको आधारमा बृद्धि गर्ने सैद्धान्तिक सहमती दलहरुले गरेका छन् । जनसंख्याका आधारमा स्थानीय तहको संख्या मधेसमा हुनुपर्ने माग मधेसवादी दलले गर्दै आएका छन् ।
काँग्रेस सभापति देउवा, माओवादी अध्यक्ष दाहाल र राजपा नेपालका नेता महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।
यस्तै उही माग र उही मुद्धा रहेको अर्को सहमतीपत्रमा काँग्रेस सभापति देउवा, माओवादी अध्यक्ष दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
राजपा नेपाल र फोरम नेपालका बीचमा सहमती हुन नसक्दा उही माग र उही मुद्धा भएको छुटाछुटै सहमतीपत्रमा हस्ताक्षर गर्नु परेको एक नेताले बताए ।
प्रमुख चार दलका बीचमा भएको तीन बुँदे सहमती पश्चात राजपा नेपाल र फोरम नेपालले प्रधानमन्त्रीका उम्मेदवार देउवाको पक्षमा मतदान गरेका थिए ।

Comments
Post a Comment