महालक्ष्मी नगरपालिकालाई ‘ग्रिनक्लिन नगर’ बनाउछौ – रामेश्वर श्रेष्ठ
ललितपुर । २३ बैशाख
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाको मेयर पदका एमाले उम्मेदवार
रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरलाई ‘ग्रिनक्लिन’ नगरको रूपमा विकास
गर्ने बताउनुभएको छ । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा एमालेको
सूर्य चुनाव चिन्हमा मतदान गर्न मतदाताको घरदैलोमै पुगेर श्रेष्ठले आफ्नो
योजना सार्वजनिक गर्नुभएको छ ।
‘महालक्ष्मी नगरपालिकालाई सुन्दर, शान्त, हराभरा एवं पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाएर मुख्य सडकहरूलाई दुई वर्षभित्र कालोपत्रे गर्छौँ’, श्रेष्ठले भन्नुभयो, ‘महालक्ष्मी नगरपालिकाका सबै वडाका सडकलाई कालोपत्रे गरेर धूलोमुक्त, सफा, दायाबाँया ग्रिनक्लिन नगरको रूपमा विकास गर्छौँ ।’ निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न नगरपालिकाको बजेटबाटै उल्लेख्य लगानी गर्ने उहाँले बताउनुभयो ।
महालक्ष्मी नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने र भौतिक संरचना विकास र विस्तार गरी उच्च माविमा परिणत गर्ने श्रेष्ठले बताउनुभयो । यसैगरी, सबै विद्यालयमा सूचना तथा सञ्चार प्रविधिलाई अनिवार्य गर्ने, ई–लाइब्रेरी स्थापना गर्ने, सम्पूर्ण विद्यार्थीलाई पाठ्यपुस्तकका साथै क्रमशः ल्यापटपसमेतका अध्ययन सामग्रीका रूपमा उपलब्ध गराउनुका साथै विद्यार्थीलाई राष्ट्रिय अर्थतन्त्र र सेवासित परिचित गराउन सम्बन्धित क्षेत्रहरूको अध्ययन, अवलोकन भ्रमणलाई प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो । महालक्ष्मी नगरभित्र स्नातकोत्तर कक्षा सञ्चालन गर्ने सरकारी÷सामुदायिक बहुमुखी क्याम्पस स्थापना गर्ने, इञ्जिनियरिङ, सूचना प्रविधि, कृषि र चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रोत्साहन गर्ने व्यवस्था एमाले नेतृत्वको नगरपालिकाको नेतृत्वले गर्ने जानकारी पनि उहाँले दिनुभयो ।
प्रौढ महिला, दलित र अल्पसंख्यक जातजातिलाई निःशुल्क शिक्षाको प्रवन्ध मिलाउनुका साथै सीपमूलक, प्राविधिक एवं व्यावसायिक शिक्षाका लागि प्राविधिक शिक्षालय (पोलिटेक्निकल कजेल) स्थापना गरिने प्रतिबद्धता श्रेष्ठले व्यक्त गर्नुभएको छ ।
महालक्ष्मी नगरपालिकाको उपमेयर पदको उम्मेदवार रहनुभएकी एमाले नेतृ निर्मला थापाले एमालेको सरकार निर्माणसँगै आगामी तीन महिनाभित्र गुरुयोजना निर्माण गर्दै अगामी दुई वर्षभित्रमा अत्याधुनिक एवं सुविधासम्पन्न नगरपालिका भवन, सबै वडा कार्यालय भवन, अस्पताल, सामुदायिक सेवा भवन र आवश्यक सुरक्षा चौकीहरू निर्माण गर्ने बताउनुभयो । नगरमा विद्युत एवं टेलिफोनका तार, ग्याँस र खानेपानीका पाइपलगायत सबै भूमिगत राखिने र सबै वडामा ढलको समुचित व्यवस्था गरिने एमालेको योजना रहेको छ । सबै वडामा बालगृह, जेष्ठ नागरिक आश्रम, तालिम केन्द्र, खेलकुद मैदान तथा प्रत्येक वडामा कम्तीमा एउटा पुस्तकालयको व्यवस्था गरिने छ ।
इमाडोल, टीकाथली, सानोगाउँ, लुभू र लामाटारमा २५ शैयाको अस्पताल, दक्ष जनशक्तिको व्यवस्थापन, विपन्न वर्गका लागि निःशुल्क औषधी उपचार, वृद्धवृद्धालाई प्रत्येक तीन महिनामा नियमित र निःशुल्क स्वास्थ्य परीक्षण गर्ने एमालेका तर्फबाट मेयरका उम्मेदवार श्रेष्ठले बताउनुभयो ।
लामाटार लाकुरी भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर आन्तरिक र बाह्य पर्यटकका लागि पार्क एवं होमस्टे सञ्चालन गर्नुका साथै लाकुरी भञ्ज्याङमा भ्यूटावर निर्माण गर्ने उहाँले बताउनुभयो । यसैगरी, सुशासन, पारदर्शिता, सञ्चार, धार्मिक÷सम्पदा संरक्षण, युवा तथा खेलकुद, महिला, बालबालिका र जेष्ठ नागरिक, कृषिलगायतका क्षेत्रमा योजनाबद्ध तरिकाले विकासका कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ ।

Comments
Post a Comment